चितवनका एसपीलाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन
चितवन, पुस १७ : प्रदेश ३ प्रहरी कार्यालयले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन दिएको छ।
एसपी मल्लल....

चितवन, पुस १७ : प्रदेश ३ प्रहरी कार्यालयले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन दिएको छ।
एसपी मल्लले सरुवा भएको १३ दिनसम्म पनि जिल्ला नछाडेपछि प्रदेश प्रहरीले निर्देशन दिएको हो।
प्रदेश प्रहरी कार्यालयले दिएको निर्देशनमा भनिएको छ, ‘दानबहादुर मल्ल हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले तहाँ कार्यरत प्रहरी नायब उपरीक्षकलाई सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र ठेकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन निर्देशन गरिन्छ।’
प्रहरी प्रधान कार्यालयले पुस ४ गते २४ जना एसपीको सरुवा गरेको थियो। एसपी मल्ललाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी कार्यालयमा सरुवा गरिएको थियो।
त्यस्तै, उनको ठाउँमा एसपी गंगा पन्तलाई सरुवा गरिएको थियो। तर, उनले चितवन नछोड्दा एसपी पन्तले जिम्मेवारी सम्हाल्न सकेका थिएनन्।











