Kathmandu Press

सम्झौताको दुई वर्षमा जडान भएनन् स्मार्ट सडक बत्ती

सम्झौताको दुई वर्षमा जडान भएनन् स्मार्ट सडक बत्ती

काठमाडाैं, माघ १ : काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुन सकेको छैन ।  विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागसँगको सहकार्यमा  काम गर्ने गरी सम्झौता भएको थियो ।  

सम्झौता भएको ४५ दिनबाट काम सुरु गर्ने भने पनि सुरुको एक वर्ष कोरोना महामारीको  कारण काम अघि बढाउन नसकेको कामपाको भनाइ छ ।  कोरोनाको त्रास कम भएपछि भने कामपाले सडक बत्तीको विद्युत् महसुल र प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्ने जस्ता विषयमा विवाद हुदाँ थप काम अघि बढ्न नसकेको हो ।  

Hardik ivf

सहमतिपत्रअनुसार कामपा क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्ती कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात कामपाको ६० र प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ । कामपाको अधिकार क्षेत्रभित्र पर्ने सडकको जम्मा ६० किलोमिटर क्षेत्रमा यस किसिमको बत्ती जडान गर्न सम्झौता भएको थियो ।  

सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, महाराजगञ्ज चोकसम्म, पुतलीसडक, शीतलनिवास लगायतका क्षेत्रमा पहिलो चरणमा करिब रु १२ करोड लगानीमा एक हजार सात सय सय थान आधुनिक सडक बत्ती जडानको कार्य अघि बढाउने भनिएको थियो ।  

कामपाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार स्मार्ट सडक बत्ती बाले मुख्य सहमति भए पनि कुन कम्पनीको, कती थान, कुन क्षमताको बत्ती बाल्ने, मर्मतसम्भार कस्ले गर्ने, बत्तीको महसुल कस्ले तिर्ने जस्ता विषयमा स्पष्ट नभएकाले काम अघि बढ्न नसकेको हो । ती विषयमा सम्झौता गर्न छलफल भइरहेकाले तत्काल काम सुरु हुने प्रमुख थापाले जानकारी दिए।    

प्रमुख थापाले भने, 'यसअघि सम्झौता हुन नसकेको विषयमा सहमति भई एक हप्ताभित्र काम अघि बढ्ने तयारी छ ।' बाँकी स–साना विषयमा सहमति भएसँगै पैसा निकासा भएर काम अघि बढाउने तयारी रहेको उनले जानकारी दिए। त्यसैगरी बत्ती जडानपछि  र जडान भएको स्थानको  फुटपाथलगायतको मर्मत कार्य विभागले गर्ने सम्झौता भएको थियो । बत्ती जडानसँगै रातिको समयमा सडकमा हुने दुर्घटना र यात्रुलाई आवतजावतमा यसले सहयोग पुग्ने विश्वास कामपाको छ ।  उक्त बत्तीले सडकमा सोलार वा अन्य बत्तीलेभन्दा बढी उज्यालो दिन्छ । यो साँझको समयमा बढी चम्किलो बल्ने भनाइ छ ।

प्रकाशित मिति: १८:४२ बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्