Kathmandu Press

गोदावरी धाममा बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ

गोदावरी धाममा बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ

ललितपुर, पुस ३० : धार्मिकरूपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाममा आज बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ गरिएको छ ।

 धाममा आज एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उक्त मकरमेलाको शुभारम्भ गरे। हरेक वर्ष झैँ यस वर्ष पनि एक कार्यक्रमका बीच मकरमेलाको शुभारम्भ गरिएको हो । मेलाका अवसरमा बाह्रराशि नवग्रह, २७ नक्षत्रको स्थापना तथा लक्ष्यहवन, विभिन्न पुराण पारायण, ग्रहपूजा, ग्रहशान्ति, भजनकीर्तन, प्रवचन आदि हुने आयोजक गोदावरीधाम विकास समितिले जनाएको छ । 

Hardik ivf

धाममा विभिन्न धार्मिक गतिविधि भइराख्ने भएकाले नेपालका मात्रै नभई छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट भक्तालु तथा दर्शनार्थीहरू आउने गर्छन् । माघ महिनामा विभिन्न धार्मिक कार्यक्रम जस्तै विवाह, व्रतबन्धलगायत शुभ कार्य गरिने भएकाले पनि यस समयमा झनै मानिसको घुइँचो लाग्ने गर्दछ ।

मकर मेलाको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिका संयोजक पदमराज जोशीले बताए। मकर मेलाको लागि कुम्भबाटिका, स्नान कुण्ड, बाटोघाटो निर्माणलगायत संरचना बनेका छन् । मकर मेलाका लागि नै गोदावरीमा स्थानीय बजार लाग्न सुरु भएको छ । मकर मेलाको समयमा १२ दिनसम्म आआफ्नो राशिको ग्रह पूजा, ग्रह शान्ति र अन्य पूजा गर्न सकिने छ । आजदेखि शुभारम्भ भएको मकर मेला माघ १२ गतेसम्म लाग्ने गोदावरीधाम विकास समितिले जनाएको छ । 

मेलाकै अवसर पारेर सो क्षेत्रसम्म पुग्नका लागि कैलालीको गोदावरी नगरपालिकाले निःशुल्क बसको व्यवस्था गरेको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले जानकारी दिए। मेलामा जाने श्रद्धालु भक्तजनको सहजताका लागि निःशुल्क बसको व्यवस्था गरिएको नगरप्रमुख भट्टको भनाइ छ ।

प्रकाशित मिति: १८:२९ बजे, शनिबार, पुस ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्