सभामुखको उम्मेदवार आजै टुंग्याउला नेकपाले ?
काठमाडौं, पुस १७ : प्रतिनिधिसभा सभामुखको उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बोलाइएको छ।
प्रधानमन्त्री निवास बाल....

काठमाडौं, पुस १७ : प्रतिनिधिसभा सभामुखको उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बोलाइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बस्ने सचिवालय बैठकमा सभामुखको उम्मेदवार चयनका विषयमा छलफल हुनेछ। नेकपा स्रोतका अनुसार, सहमति बन्न सके, आजै सभामुखको उम्मेदवारबारे टुङ्गो लगाइनेछ।
बलात्कारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएका थिए। त्यसयता सभामुख पद रिक्त रहेको छ।
नयाँ सभामुख चयनका लागि संसद्को हिउँदे अधिवेशन पुस ४ गते बोलाइएको थियो। तर, नेकपाले सभामुखको उम्मेदवार टुङ्गो लगाउन नसक्दा संसद् बैठक बस्न सकेको छैन। पुस ११ र १७ गते बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। अर्को बैठक पुस २७ गते बोलाइएको छ।
नेकपामा सभामुखको उम्मेदवारका लागि तीन जनाको नाम चर्चामा छ। उपभाखुम डा.शिवमाया तुम्बाहाङफे, पूर्वसभामुख सुभाष नेम्वाङ र नेकपा स्थायी समिति सदस्य अग्नी सापकोटा। डा.तुम्बाहाङफेलाई राष्ट्रपति विद्यादेवी भण्डारी, नेम्वाङलाई प्रधानमन्त्री केपी शर्मा ओली र सापकोटालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख बनाउन खोजेका छन्।
तीनै जनाको रुचिका कारण नेकपाले सभामुख उम्मेदवार टुङ्गयाउन सकेको छैन। आजको बैठकमा सभामुख चयनलगायका विषयमा छलफल हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
त्यस्तै, आजको सचिवालय बैठकले प्रदेश १ र ५ को नाम र राजधानीका विषयमा पनि छलफल गर्ने जनाएको छ। बैठकले नाम र राजधानीको टुङ्गो लगाएर सम्बन्धित प्रदेश कमिटी र संसदीय दललाई तोक्न निर्देशन दिनसक्ने जनाएको छ।
यसअघि पुस १३ गतेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम र राजधानीबारे निर्णय गरेको थियो। प्रदेश ३ को नाम वागमती र राजधानी हेटौडौं राख्ने निर्णय गरेको थियो।











