‘जनयुद्ध’ दिवसले माओवादीपीडित एमालेलाई थप पीडा
काठमाडौं, फागुन १ : आफ्नै पार्टी नेकपाले ‘जनआन्दोलन र जनयुद्धका शहीदको श्रद्धाञ्जलि’ मा देशभरि कार्यक्रम गरेको छ । पार्टीकै एकखाले नेताहरू....
काठमाडौं, फागुन १ : आफ्नै पार्टी नेकपाले ‘जनआन्दोलन र जनयुद्धका शहीदको श्रद्धाञ्जलि’ मा देशभरि कार्यक्रम गरेको छ । पार्टीकै एकखाले नेताहरू त्यसमा लागि परे तर प्रतिनिधिसभाकी सांसद् शान्तिमाया तामाङ पाख्रिनको भने मन भत्भती पोलेको छ । उनी सम्झँदै छिन्– बिनाकारण माओवादीद्वारा मारिएका आफ्ना पति बुद्धिमान पाख्रिनलाई ।
शान्तिका पति बुद्धिमान तत्कालीन एमाले दोलखाका नेता थिए । ०५४ सालको स्थानीय चुनावमा ठूलोपाताल गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए । २०५९ मंसिर ९ गते अपहरण गरी लगेको बुद्धिमानको शब छ दिनपछि भेटिएको थियो ।
शान्ति दोलखा नै छिन् । उनका पति बुद्धिमान अध्यक्ष चुनिएको ठूलापाताल गाउँपालिका जिरी नगरपालिकामा गाभिएको छ । उनको हत्या गर्ने माओवादी पार्टी चाहिँ उनकै पार्टी एमालेमा मिसिएर अहिले नेकपा भएको छ । शान्ति नेकपाकै सांसद् छिन् । उनका पतिले ज्यान दिएको पार्टी र उनको प्राण हर्ने अपराधी दुबैको पार्टी एउटै भएको छ– नेकपा ।
नेकपाले ‘जनयुद्ध दिवश’ मनाइरहँदा शान्तिमाया दोलखामै छिन् तर जाँगर छैन– कार्यक्रममा जाने । उनी यो निर्णयसँग पनि असहमत छिन् । ‘संविधानमा त जनयुद्ध नलेखेर सशस्त्र द्वन्द्व लेखिएको छ भने म कसरी ‘जनयुद्ध’ भनेर मान्छु’, उनले भनिन्, ‘महान जनयुद्ध भनेर एमालेका नेताहरू पनि बर्बराएको देख्दा अनौठो लागेको छ ।’
शान्ति समानता र न्यायका लागि कम्युनिष्ट पार्टीमा लागेकी हुन् । उनका पति बुद्धिमानले पनि यसै भन्ने गर्थे । उनी भन्छिन्, ‘कम्युनिष्ट पार्टीले त झूूठलाई झूठ भनेर सावित गर्नुपर्छ । १७ हजार पाँच सयभन्दा बढी मान्छे मारिए । त्यसमा माओवादी पनि छन् । त्यसको उपलब्धि के भयो ? माओवादी सशस्त्र द्वन्द्व सरासर गलत हो भन्न सक्नुपर्छ । त्यत्रो हिंसा कुर्सीमा पुग्न र प्रधानमन्त्री/मन्त्री बन्नका लागि मात्र रहेछ भन्ने प्रचण्डले पनि स्वीकार्नुपर्छ– आजको दिन ।’
पति मारिँदा शान्तिमायाका तीन जना स–साना छोरी थिए । प्रीति, शीला र प्रकृतिलाई दुःखले हुर्काइन् । माओवादीको दबदबामा मुस्किलले टिकिन् उनी । ‘व्यक्ति हत्या कसले कसरी बिर्सन सक्ला र !’ शान्तिमायाले भनिन्, ‘त्यसपछिको मानसिक यातामा पनि कसरी बिर्सन सक्छु र ?’
नेकपाले पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा आयोजना गरेको ‘श्रद्धाञ्जलि कार्यक्रम’ मा पुगेकी थिइन्, सांसद् तीर्था गौतम । त्यहाँबाट फर्कंदाफर्कंदै उनको टाउको बेस्सरी दुख्यो । उनी घर पुगेर सुतिन् । उनलाई थाहा छैन, यतिसारो टाउको किन दुख्यो ?
प्रतिनिधिसभा सदस्य रहेकी तीर्थाका पति यदु गौतमको हत्या माओवादीले गरेका थिए, २० वर्षअघि । उनी ०५६ सालको संसदीय निर्वाचनमा रुकुमबाट एमाले उम्मेद्वार थिए । माओवादीले उनको हत्या गरे । यदुको हत्या गर्नु गल्ती भएको भनेर त्यसपछिको माओवादी केन्द्रीय समिति बैठकले नै स्वीकार गरेको थियो । तर, के माओवादीले गल्ती भयो भन्दैमा यदु फर्किन सके त ?
टाउको दुखेर सुतिरहेकी तीर्थाले भनिन्, ‘पार्टी एकता त भयो । देशले निकास पाउँछ भने त्यो राम्रै कुरा हो तर पीडितको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ । हामी पनि हिजोकै कुरा कोट्याएर बसिरहने भन्ने पक्षमा त छैनौं तर अहिले पनि पीडितका परिवारलाई सम्मानपूर्वक व्यवहारसम्म गरिँदैन । यो गम्भीर विषय हो ।’
शान्तिले जस्तै तीर्थाले पनि दुःखसँग एक्लै छोरीहरू हुर्काइन् । आफू पनि राजनीतिमा होमिइन् तर निर्दोष पतिको हत्या गर्नेले अहिलेसम्म उनीसँग आएर गल्ती स्वीकारेका छैनन् न त नेतृत्वले नै भनेको छ । ‘पीडित परिवारसँग नेतृत्वले गल्ती भयो सम्म त भन्नुपर्छ ? त्यो पनि छैन’, उनले भनिन्, ‘केन्द्रीय नेताले भेट्नेसँग उनीहरूले माफी माग्नु पर्छ । गाउँ तहकाले मात्र भेट्ने मान्छेसँग त्यहाँका नेताले माफी माग्नुपर्छ । हामीले लिएको शान्तिपूर्ण प्रतिस्पर्धाको लाइनले जित्यो भने त यो पनि स्वीकार्नुपर्छ । जानाजानी व्यक्ति हत्या गरेको छ । क्षमादान दिए पनि द्वन्द्वपीडितले यो कसरी बिर्सन सक्ला र ?’
एमाले र माओवादी मिलेर गत जेठ ३ गते नेकपाको घोषणा भएपछि शान्तिमाया पनि त्यही पार्टीमा छिन्, जुन पार्टीमा उनको पतिका हत्या गर्नेहरू छन् । ‘मलाई थाहा छ– उहाँलाई कसले अपहरण गरेर लग्यो र हत्या गर्यो भन्ने’, उनले भनिन्, ‘अपहरणकारी मेरोअगाडि ठाँटसँग हिँड्छ । म निरीह भएर टुलुटुलु हेर्छु ।’
शान्तिमाया निकै भावुक हुँदै भनिन्, ‘प्रचण्डका छोरा प्रकाशको कालगतिले मृत्यु भयोे तर पनि त्यहाँ मान्छे भेला भएर रुवाबासी गरे । पीडा कस्तो हुन्छ भन्ने त उनले पनि थाहा पाए होलान् नि ! अर्काको अधिकार खोसेर सौतामाथि आएकी बुहारीलाई मन्त्री बनाएका छन् । हामीजस्ता परिवारका निर्दोष मूलीको हत्या गर्दा हाम्रो हालत कस्तो भयो होला ? किन फरक व्यवहार गरे, यी महान नेताले ? यो पनि बहसको विषय हुनुपर्छ ।’
सशस्त्र द्वन्द्व अन्त्यको घोषणा भएको १२ वर्षपछि एमालेले पनि जनयुद्ध भन्ने शब्दको स्वामित्व लिएकोप्रति द्वन्द्वपीडित मात्र हैन, साविकको एमाले पंक्ति सिंगै असन्तुष्ट छ । पूर्व एमालेहरू ‘जनयुद्ध’ को स्वामित्व लिन तयार छैनन् तथापि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलको बैठक बसेर फागुन १ लाई ‘विगतको जनआन्दोलन र जनयुद्धको क्रममा शहादत प्राप्त गर्नेको सम्झना र सम्मानस्वरुप श्रद्धाञ्जलिसभा गर्ने’ निर्णय गरे । त्यसै अनुसार पार्टीले सातै प्रदेशमा कार्यक्रम गर्ने सर्कुलर गर्यो ।
विभिन्न ‘व्यस्तता’ का कारण भए पनि तत्कालीन एमालेका तत्कालीन पार्टी प्रमुखहरू चाहिँ कार्यक्रममा गएर भाषण चाहिँ गरेनन् । शान्तिमायाले भनिन्, ‘आजको दिन प्रचण्डले संकल्प गर्नुपथ्र्यो– सशस्त्र द्वन्द्वको बेला अपहरण गर्ने र मान्छे मार्ने अपराधीलाई तुरुन्त कारवाही गर्छु भनेर । त्यो देखिएन ।’