Kathmandu Press

माघीको तयारीमा कैलालीकाे थारु समुदाय

माघीको तयारीमा कैलालीकाे थारु समुदाय

कैलाली, पुस २६ :  थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै सो समुदाय तयारीमा जुटेको छ । खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, दाउरा सङ्कलन गर्ने, तेल पेल्ने, घर लिपपोत, आँगन सरसफाइलगायत काममा थारु समुदाय व्यस्त छ । 

धनगढी उपमहानगरपालिका–३ का शेरबहादुर चौधरी माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गंगटोलगायत खाने चलन रहीआएकाले त्यसको तयारीमा जुटेको बताउनुभयो । यस पर्वमा परिवारका सदस्यका लागि नयाँनयाँ लुगा किनमेल गर्न थालेको उहाँको भनाइ छ । रोजगारीका लागि बाहिरिएका परिवारका सदस्य यतिबेला पर्व मनाउन घर फर्कन थालेका छन् ।

'माघीमा पाहुना धेरै जम्मा हुने गर्छन्, पाहुँनाका लागि  थरीथरीका खानाका परिकार अहिलेदेखि नै बनाउने तयारीमा जुटेका छौँ,' चौधरीले भने । पुसलाई बिदाइ गर्दै माघ १ गतेलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा बताउँछन् ।

माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात पुस महिनाको अन्तिम दिन जिता मार्ने (बङ्गुर काट्ने) चलन छ । थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको थारु कल्याणकारी सभाका कार्यवाहक सभापति माधव चौधरीले बताए। 'माघे सङ्क्रान्तिका दिन विशेष गरी थारु समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गरी घरमा अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल र बेसारलगायत खाद्यान्न छुने गरिन्छ,' उनले भने, 'त्यसपछि आफूभन्दा ठूलाबाट आशिर्वाद लिने र सानालाई आर्शिवाद दिने गरिन्छ ।'

कोरोना सङ्क्रमणका कारण केही वर्ष माघीको चहलपहल घटे पनि यस वर्ष भने हर्सोल्लासका साथ माघी पर्व मनाउने तयारीमा थारु समुदाय जुटेको छ । माघी पर्व मनाउन गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गरिएको छ । 

प्रकाशित मिति: १९:४२ बजे, मंगलबार, पुस २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्