Kathmandu Press

नौ जना फरार प्रतिवादी पक्राउ

जिल्ला अदालत तथा उच्च अदालत लगायतका निकायबाट ठगी, भ्रष्टाचार, बोक्सीको आरोप, बैंकिङ कसुर, लागुऔषध, गाली बेइज्जती मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहेका नौ प्रतिवादीको खोजतलास गरी फैसला कार्यान्वयन गर्न अदालत पेस गरिएको प्रहरीले जनाएको हो ।
नौ जना फरार प्रतिवादी पक्राउ

काठमाडौं, पुस २६ : जिल्ला प्रहरी कार्यालय धुलिखेलले विभिन्न मुद्दाका नौ  फरार प्रतिवादी पक्राउ गरी काभ्रे जिल्ला अदालतमा पेस गरेको छ ।

जिल्ला अदालत तथा उच्च अदालत लगायतका निकायबाट ठगी, भ्रष्टाचार, बोक्सीको आरोप, बैंकिङ कसुर, लागुऔषध, गाली बेइज्जती मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहेका नौ प्रतिवादीको खोजतलास गरी फैसला कार्यान्वयन गर्न अदालत पेस गरिएको प्रहरीले जनाएको हो ।

चौँरीदेउराली गाउँपालिका–१ का ३० वर्षीया हीरा लामालाई बोक्सीको आरोप मुद्दामा उच्च अदालत पाटनले २०७६ भदौ २९ गते तीन वर्ष तीन महिना कैद तथा रु १० हजार जरिवाना फैसला गरेको थियो । लामालाई सोमबार घरबाटै पक्राउ गरी अदालत पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सोमबारै बोक्सीको आरोप मुद्दामा उच्च अदालत पाटनले २०७६ भदौ २९ गते तीन वर्ष कैद तथा रु १२ हजार पाँच सय जरिवाना फैसला गरेको सोही वडाकी ६० वर्षीया काइली लामालाई पनि घरबाट पक्राउ गरी अदालत पेस गरिएको छ ।

यसैगरी सवारी ज्यान मुद्दामा काभ्रेपलाञ्चोक अदालतले गत असार १३ गते तीन महिना कैद र रु दुई हजार जरिवाना फैसला गरेको दोलखाको शैलुङ गाउँपालिका–३ का २४ वर्षीय सुजन लामालाई आइतबार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणले रु पाँच हजार जरिवाना फैसला भई फरार रहेका मण्डदेउपुर नपा–६ का ३६ वर्षीय कृष्णप्रसाद न्यौपानेलाई पनि आइतबार घरबाटै पक्रिएर सोही दिन अदालत पेस गरिएको हो । 

यस्तै जालसाजी मुद्दामा काभ्रेपलाञ्चोक अदालतले गत फागुन ११ गते रु पाँच हजार पाँच सय जरिवाना ठहर गरिएका पनौती नपा–५ का ४६ वर्षका राजकुमार बुढाथोकीलाई आइतबार पक्राउ गरी सोही दिन अदालत पेस गरिएको हो । तेमाल गाउँपालिका–७ का ४० वर्षीया ज्ञानीमाया तामाङलाई पनि आइतबार गाली बेइज्जती मुद्दमा १० वर्षदेखि फरार रहेको अवस्थामा आइतबारै घरबाट पक्राउ गरी रु दुई सय जरिवाना तिराउन सोही दिन अदालत पेस गरिएको प्रहरीले जनायो ।     

यसैगरी बनेपा नपा–५ को ५५ वर्षीया मीनाकुमारी श्रेष्ठलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७६ भदौ ३१ गते रु चार लाख जरिवाना फैसला गरेको थियो । श्रेष्ठलाई शुक्रबार घरबाटै पक्राउ गरी अदालत पेस गरिएको जनाइएको छ । लागुऔषध मुद्दामा पर्सा जिल्ला अदालतले २०७५ पुस २४ गते दुई महिना कैद र रु दुई हजार जरिवाना फैसला भएका भुम्लु गाउँपालिका–८ का २२ वर्षीय आकाश तामाङलाई पनि शुक्रबारै घरबाटै पक्राउ गरी सोही दिन अदालत बुझाइएको प्रनाउ न्यौपानेले बताए ।  

यस्तै भ्रष्टाचार मुद्दामा तीन वर्षअघि जिल्ला अदालतले रु पाँच हजार जरिवाना तोकेको पनौती नपा–११ का ६५ वर्षीय चेतनाथ भारतीलाई शुक्रबार पक्राउ गरी जरिवाना तिराउन सोही दिन काभ्रेपलाञ्चोक अदालत पेस गरिएको जनाइएको छ ।  

प्रकाशित मिति: ०८:२० बजे, मंगलबार, पुस २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्