Kathmandu Press

जाडोबाट मृत्यु भएका परिवारलाई राहत प्रदान

जाडोबाट मृत्यु भएका परिवारलाई राहत प्रदान

सप्तरी, पुस २४ : शीतलहरबाट मृत्यु भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ मुसहर टोलका देवु सदाको परिवारलाई आज गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ । गाउँपालिकाको कार्यालयबाट ५० किलो चामल, पाँचकिलो मुरही, पाँचकिलो दाल, पाँचकिलो नुन, साढे दुई किलो खानेतेल, दुई थान कम्बल र एक थान त्रिपाल प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकाअध्यक्ष अरुणकुमार मण्डल, वडा नं ४ का वडाध्यक्ष मुनिलाल मुखिया, वडा नं ५ का वडाध्यक्ष ललनप्रसाद राउतले सो सामग्रीहरू हस्तान्तरण गरेको विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए। सो अवसरमा जनस्वास्थ्य निरीक्षक दीपक मण्डल, राजनीतिक दलका नेताहरुको सहभागिता थियो ।

Hardik ivf

अशिक्षा, चेतनाको कमी, बेरोजगारी, मादक पदार्थ सेवनको कुलत र गरिबीका कारण जाडोको कहर खेप्दै आएको मुसहर बस्तीमा न्यानो कपडाको आवश्यकता रहेको गाउँलेहरू बताएका छन् । गत बिहीबार राति खाना खाएर सुतेका ४५ वर्षीय राजु भनिने देवु सदाको चिसोका कारण मृत्यु भएको विपद् व्यवस्थापन अधिकृत झाले बताए।

यसैबीच निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सप्तरीले आज आफ्नो ३२ औँ स्थापना दिवस फलफूल वितरण गरी मनाएको छ । प्याब्सनले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका बिरामी एवं पोषण गृहका बालबालिकालाई फलफूल वितरण गरेको हो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष अनिलकुमार झाले देशको शिक्षाको विकासमा निजी क्षेत्रको उल्लेखनीय योगदान रहेको बताए। झाले प्याब्सनप्रति समाजको अपेक्षा र समाजप्रति प्याब्सनको उत्तरदायीलाई पनि स्मरण गरेर काम गर्नुपर्ने बताए। प्याब्सन सप्तरीका अध्यक्ष अरुणकुमार देवले हरेक विद्यार्थीमा केही न केही क्षमता हुने हुँदा त्यसको पहिचान गरी सृजनशीलतामा ध्यान दिनुपर्ने खाँचो औँल्याए।

प्रकाशित मिति: २०:५० बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्