Kathmandu Press

चर्केका माटाका भाँडा फुटाएर भक्तपुरमा मनाइयो छ्याला पुन्ही

चर्केका माटाका भाँडा फुटाएर भक्तपुरमा मनाइयो छ्याला पुन्ही

भक्तपुर, पुस २२ : एक वर्षदेखि घरमा चर्केर रहेका माटोका भाँडाकुँडा चोक–चोकमा लगेर फुटाएर आज भक्तपुरमा छ्याला पुन्ही अर्थात मिला पुन्ही मनाइएको छ ।

चर्केको माटोका भाँडा अशुभ हुने विश्वासका साथ घरघरमा रहेका माटाका चर्केका भाँडाकुँडा नजिकको चोकहरूमा लगेर फुटाई आज यहाँ छ्याला पुन्ही मनाइएको हो ।
    
परम्पराअनुसार भक्तपुरभरिका नेवार समुदायले अरु दिनमा घरमा रहेका पुराना माटाका भाँडाकुँडा चर्के फुटे पनि बाहिर फाल्न नलगी आजकै दिनमा मात्रै घरभित्र चर्के फुटेका माटाका भाँडाकुँडा आ–आफ्नो नजिकको चौबाटो, दोबाटोमा फाल्न लाने परम्परा रहेको छ ।
 
भक्तपुरका संस्कृतिकर्मी अमृत श्रेष्ठले नेवार समुदायमा माटाका भाँडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्र्याउने परम्परा रहेको उल्लेख गर्दै आज छ्याला पुन्हीको दिन फाल्ने र दशैँमा भित्र्याउने परम्परा रहेको बताउछन।

घरमा काम नलाग्ने, चिरा परेका भाँडा घरमा राखिराख्दा अशुभ हुने जनविश्वास रहेकाले त्यस्ता भाँडा वर्षको एकपटक छ्याला पुन्हीकै दिन चोकमा फालिने गरेको उहाँको भनाइ छ । परम्पराअनुसार घरघरबाट बिहान सबैले चोकचोक, दोबाटो, चौबाटोमा माटोका भाँडा फाल्ने गरिन्छ ।

मिला महिना अर्थात आगो ताप्ने महिना भएकाले मिला पुन्ही भन्ने गरिएको छ । माघ महिनामा धेरै जाडो हुने भएकाले यो महिनामा आगो बालेर ताप्ने चलन छ । अरू सबै पुन्ही, जात्रा पर्वमा भोज खाने गरिए पनि यो दिन भने कुनै भोज हुँदैन ।ञ

प्रकाशित मिति: २०:०० बजे, शुक्रबार, पुस २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्