Kathmandu Press

चिसो बढेपछि कालिकाेटका विद्यालय बन्द

चिसो बढेपछि कालिकाेटका विद्यालय बन्द

मान्मा, पुस २१ : कालीकोटमा अत्यधिक मात्रामा चिसो बढेपछि तिलागुफा नगरपालिका सबै विद्यालय बन्द गरिएका छन् । चिसो बढेका कारणले नगरपालिकाभित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका हुन् ।

कालीकोटमा तापक्रम माइनस पाँच डिग्री झरेको छ । चिसोले तिलागुफा नगरपालिकाले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको जनाएको छ । चिसोका कारणले पानी जम्न थालेसँगै अत्यधिक मात्रामा चिसो बढेकाले विद्यालय बन्द गर्नुको विकल्प नभएको नगरपालिका शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक नवीन हमालले बताए। 'चिसोले गर्दा विद्यालयमा विद्यार्थी आउन पनि छाडे,' उनले भने, 'विद्यालय बन्द गर्नुको विकल्प रहेन ।'

चिसो बढ्दै गएका कारण विद्यार्थीले विद्यालय जान नमानेको तिलागुफा नगरपालिका–२ फोइमहादेवका राजबहादुर बुढाले बताए । 'चिसो अत्यधिक भएकाले कक्षा ९ र १० का विद्यार्थी ट्युसन पढ्नका लागि सुर्खेत र नेपालगञ्ज झरेका छन्,' उनले भने, 'आठ कक्षासम्मका विद्यार्थी चिसोका कारणले विद्यालय जान नै सकेका छैनन् ।'

चिसोका कारणले पानीको धारा जम्ने र बग्ने पानी पनि जम्न थालेको तिलागुफा नगरपालिका–४ राँचुलीका स्थानीय नरबहादुर शाहीले जानकारी दिए। 'खानेपानीका धारामा पनि पानी जम्न थालेका छन्,' उनले भने, 'खोला तथा नदीमा पनि चिसोका कारणले पानी जम्ने गरेको छ।'

कालीकोटमा हुस्सु र हावा अत्यधिक चल्ने गरेकाले चिसो बढेको खाँडाचक्र नगरपालिका–२ का अनिपाल विकले जानकारी दिए। 'पानी परेको छैन, हावा र हुस्सु लाग्ने हुँदा चिसो निकै बढेको छ,' उनले भने, 'चिसोले यहाँको जनजीवन निकै असहज बनेको छ ।'

अत्यधिक चिसो बढेकाले जिल्ला प्रशासन कार्यालय कालीकोटले नागरिकलाई सचेत रहन सार्वजनिक सूचना जारी गरेको छ ।

प्रकाशित मिति: २०:२३ बजे, बिहीबार, पुस २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्