पुस २५ देखि हुने चितवन महोत्सवको तयारी अन्तिम चरणमा

चितवन, पुस २१ : आगामी पुष २५ गतेदेखि सुरु हुने चितवन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सव आयोजक समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी पुस २५ गतेबाट माघ ४ गतेसम्म नारायणी नदी किनाराको प्रदर्शनी मैदानमा हुने मेलाको तयारी अन्तिम चरणमा पुगको जानकारी दिएको हो ।
उद्योग वाणिज्य सङ्घ चितवनको आयोजना भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको प्रवद्र्धनमा महोत्सव गर्न लागिएको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष एवं आयोजक मूल समितिका संयोजक चुन नारायण श्रेष्ठले जानकारी दिए।
महोत्सवमा यस पटक पनि कृषिलाई पहिलो प्राथमिकतामा राखिने र चितवनको तोरी र मौरी पालन व्यवसायलाई प्रतिबिम्बित गरिने श्रेष्ठल बताए। कोरोनाका कारण समस्यामा परेको आर्थिक क्षेत्र, उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको आयामको रुपमा महोत्सवलाई लिन सकिने उनले बताए।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले चितवनको उत्पादनलाई बजारीकरण गर्नका लागि र आर्थिक क्षेत्रलाई पुनरुत्थान गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए।
त्यस्तै गोरखा उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा ११ औं गोरखा महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला गोरखाको खेलकुद मैदानमा आगामी पौष २७ देखि माघ ७ गते सम्म आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।












