Kathmandu Press

सुनसरीको बराहक्षेत्रमा हात्तीकाे प्रवेशले स्थानीय त्रासमा

दैनिक २० वटाभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित छन्। हात्ती नडाहाको जङ्गलमा दिनभरी बस्ने र साँझ परेपछि बस्ती प्रवेश गरी बालीमा नोक्सान पुर्‍याउने गरेको स्थानीय महेन्द्र कार्कीले बताए।
सुनसरीको बराहक्षेत्रमा हात्तीकाे प्रवेशले स्थानीय त्रासमा

सुनसरी, पुस २१ : सुनसरीको बराहक्षेत्र नगरपालिका भरौल र नडाहामा रातको समयमा हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरी जाग्राम बस्न बाध्य भएका छन्। 

दैनिक २० वटाभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित छन्। हात्ती नडाहाको जङ्गलमा दिनभरी बस्ने र साँझ परेपछि बस्ती प्रवेश गरी बालीमा नोक्सान पुर्‍याउने गरेको स्थानीय महेन्द्र कार्कीले बताए।
    
'साँझ परेपछि हात्तीको बथान गाउँ प्रवेश गर्ने गरेका छन्। स्थानीयले लगाएका फलफूल, केरालगायतका अन्यबाली नोक्सान पुर्‍याउँदै आएका छन्', भरौलबासी नीरकुमार कार्कीले भने, 'साँझ परेपछि हात्ती धपाउन मानिसहरु तयार हुनुपर्छ। जङ्गल नजिक घर हुने रातभर निदाउन पाउदैनन्।' 

Hardik ivf

पन्ध्र दिन अघिदेखि हरेक राति हात्तीको बथान नजिकैको चारकोसे जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेका छन्। हात्तीले मानिसमाथि नै आक्रमण गर्ने भयले स्थानीय भेला भएर बस्दै आएका छन्। 

एक दिन अठ्ठाइस वटा हात्ती आफूले देखेको स्थानीय महेन्द्र कार्कीले बताए। बराहक्षेत्र नगरपालिका–३ का वडाध्यक्ष राजदिप लामाका अनुसार बराहक्षेत्रका १, २, ३ र ५ मा पर्ने चतरा, नडाहा, खोरियाबीच पानी, विसाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिँदै आएका छन्।

हात्तीले वडा नं ३ मा दुई वटा घर क्षति पुर्‍याएको वडाध्यक्ष लामाले बताए। बाक्लो बस्ती भएको यो क्षेत्र जङ्गलसँग जोडिएको छ। वडा नं १, २, ३ र ५ जङ्गलसँग जोडिएका घना बस्ती पर्छ। 

कार्कीले नडाहा क्षेत्रको कालिन्द्र सामुदायिक वन उपभोक्ता समूहले हात्ती आएपछि साइरन बजाएर खेदाउने गर्दै आएका छन्। स्थानीय, जनपथ प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिले निगरानी गरिरहेको वडाध्यक्ष लामाले बताए।

हात्तीले क्षति पुर्‍याएका घरधनीलाई नगरपालिकाले राहत उपलब्ध गराउने नगर प्रमुख रमेश कार्कीले जानकारी दिए।

प्रकाशित मिति: १३:२८ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्