Kathmandu Press

राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्री कार्यालयको चासो

राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्री कार्यालयको चासो

काठमाडाैं, पुस २० : ‘सिस्टम’मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ । सेवाग्राहीले राहदानी लिन निकै ठूलो सास्ती खेप्नु परेको गुनासो बढिरहेका अवस्थामा विभागले राहदानी वितरण रोक्दा झनै आलोचना भएको छ ।

विभागले अर्को सूचना नभएसम्म राहदानी दिन नसक्ने जनाएपछि त्यसतर्फ सरकारले चासो व्यक्त गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिपुरेश्वरस्थित विभागको प्राविधिक शाखाको निरीक्षण गरेको छ । टोलीले विभागका महानिर्देशक, प्रशासन र सफ्टवेयरको प्राविधिक सपोर्ट गर्ने टोलीसँग अहिले देखिएको समस्याका बारेमा विस्तृत छलफल गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए।

Hardik ivf

प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीले सम्झौताअनुसार सम्बन्धित कम्पनीले समस्या हल नगरेको र कम्पनीका कारण जनताले सास्ती भोग्नुपरेको निष्कर्ष निकाल्दै तत्काल समस्या हल गर्न निर्देशन दिएको उनले बताए।

'यसका लागि कम्पनीको केन्द्रीय कार्यालयबाट नै प्राविधिक झिकाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिइएको छ,' उनले भने। प्रधानमन्त्री कार्यालयले सेवाग्राहीले लामो समय लाइनमा नबसी राहदानी पाउने व्यवस्थाका लागि आवश्यक संरचनात्मक तथा नीतिगत सुधार वा परिमार्जनका लागि तत्काल कार्ययोजना बनाउनसमेत निर्देशन दिएको छ ।

विभागले मङ्गलबार एक सूचना जारी गर्दै सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको जनाएको थियो । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा प्रवाह रोकिएको छ ।
    
विभागले अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन सर्वसाधारणलाई भनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार सेवाग्राहीको चाप भएका कार्यालयमा एक महिनाभित्र सहजरुपमा सेवा लिने अवस्था बनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका थिए।

प्रकाशित मिति: १९:०२ बजे, बुधबार, पुस २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्