Kathmandu Press

बेथानचोकमा १० शैयाको आधारभूत अस्पतालको भवन निर्माण शिलान्यास

बेथानचोकमा १० शैयाको आधारभूत अस्पतालको भवन निर्माण शिलान्यास

बेथानचाेक, पुस २० : बेथानचोक गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको  शिलान्यास गरिएकाे छ। एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भवन निर्माणकाे शिलान्यास गरेका हुन।

बेथानचोक गाउँपालिकाको वडा नं. ४ स्थित गुम्बुडाँडामा अस्पतालको शिलान्यास गर्दै अधिकारीले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले नागरिकको स्वास्थ्य प्रति गाउँपालिका गम्भीर भएर लागि पर्ने बताए। गुम्बुडाँडा सबै वडाहरुलाई पायक पर्ने स्थान भएको बताउँदै उनले अस्पतालसम्म पुग्ने पक्की बाटो र खानेपानीका लागि गाउँपालिकाले पहल गर्ने बताए।

अस्पताल समयमै निर्माण गर्न निर्माण पक्षसँग आग्रह गर्दै उनले अस्पताल निर्माण पश्चात यसको पूर्वाधारका लागि पनि आफूहरुले पहल गर्ने बाचा गरे। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले अस्पतालको समयमै निर्माण सम्पन्न गराउन सरोकारवाला निकायलाई आग्रह गरे। ग्रामिण भेगमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिका प्रतिवद्ध रहेको भन्दै उनले अस्पताललार्य सुविधासम्पन्न गराउन हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संघीय अनुदानबाटे देशभर ५, १० र १५ शैया सम्मको अस्पताल नभएका स्थानीय पालिकाहरुमा अस्पतालको भवन बनाउने योजना अनुसार अस्पताल भवनको शिलान्यास भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए।

322386802_471424034980508_5501547754503844231_n1672839672.jpg

राष्ट्रिय स्तरको इ–बिडिङ बोलपत्र माग गरिएको अस्पताल निर्माणका लागि कूल ८ करोड ९ लाख ५३ हजार ५ सय ४२ रुपैया ६९ पैसा (भ्याट सहित) मा ब्राइट मल्टी कन्ष्ट्रक्शनले निर्माण जिम्मा पाएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए।

एपी इन्जिनियरिङ डिजाइन सोलुशन प्रालिले भवनको डिजाइन गरेको बताउँदै प्रशासकीय अधिकृत भण्डारीले अस्पताल २ वर्ष भित्र निर्माण सम्पन्न भइसक्ने पनि बताए। उनले अस्पताल ल्याउन उल्लेखनीय भूमिका निर्वाह गर्ने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, निवर्तमान अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्ष सबैमा आभार व्यक्त गरे।

ब्राइट मल्टी कन्ष्ट्रक्शन प्रा.लि.का तर्फबाट दिलिप गौतमले गुणस्तरीय निर्माणमार्फत तोकिएकै समयमा निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे। वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर लामाले अस्पताललाई समुदायको नमूना अस्पतालको रुपमा लैजाने बताए।

भरत अधिकारी, कृष्ण अधिकारी र चन्द्रमणि अधिकारीको स्वस्तिबाचनसँगै शुरु भएको शिलान्यास कार्यक्रममा वडा नं. १ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता मधुसुधन तिमल्सिना, वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, वडा नं. ३ का पूर्व अध्यक्ष दिलबहादुर श्रेष्ठ, वडा नं. ४ का पूर्वअध्यक्ष लालबहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: १८:३९ बजे, बुधबार, पुस २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्