११औं गोरखा महोत्सवका लागि प्रधानमन्त्रीलाई निम्ता
गोरखा उद्योग वाणिज्य संघको टोलीले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर महोत्सवको प्रमुख अतिथिका लागि निम्तो हस्तान्तरण गरेको हो ।
काठमाडौं, पुस १८ : गोरखा उद्योग वाणिज्य संघले ११औं गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध गरेको छ।
गोरखा उद्योग वाणिज्य संघको टोलीले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर महोत्सवको प्रमुख अतिथिका लागि निम्तो हस्तान्तरण गरेको हो ।
प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने पूर्वकार्यतालिका रहेको उल्लेख गर्दै सकेसम्म आफू कार्यक्रममा उपस्थित हुने वचन दिएको बताइएको छ।
संघले ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुस २७ गतेदेखि माघ ७ गतेसम्म ११औं गोरखा महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला, २०७९ आयोजना गर्दैछ।
प्रधानमन्त्री दाहाललाई संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष जीवनज्योति श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के तथा महासचिव प्रकाशचन्द्र श्रेष्ठले महोत्सवमा प्रमुख अतिथिका लागि निम्तो दिएका थिए।
संघको टोलीका साथ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि बालुवाटार भगएका थिए। दाहाल गत प्रतिनिधिसभा निर्वाचन, २०७९ मा गोरखा क्षेत्र नं २ बाट प्रतिनिभिसभा सदस्यमा निर्वाचित भएका थिए।












