बाटोमा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता
विराटनगर महानगरपालिका–३ स्थित गोधुली मार्ग बस्ने अनिस्कार भट्टले गत असोजमा बाटोमा भेटाएको रु एक लाख ३५ हजार आइतबार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन्।
टंकीसिनवारी, पुस १८ : विराटनगरका एक व्यक्तिले इमानदारी प्रदर्शन गरेका कारण चर्चा कमाएका छन्।
विराटनगर महानगरपालिका–३ स्थित गोधुली मार्ग बस्ने अनिस्कार भट्टले गत असोजमा बाटोमा भेटाएको रु एक लाख ३५ हजार आइतबार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन्।
सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीको रोहबरमा भट्टले रकम हराउने व्यक्ति अमोदकुमार यादवलाई सो रकम फिर्ता गरेका हुन्। विराटनगरको एक ट्रान्सपोर्ट कम्पनीमा कार्यरत यादवको गोजीबाट रकम हराएको थियो।
भट्टले सो रकम बैंकबाट कसैले झिकेको र बाटोमा खसेको हुनसक्ने आँकलन गरेर बैंकका कर्मचारीलाई जिम्मा लगाए। भट्ट र बैंकको अथक प्रयासपछि रकम हराउने यादव लामो समयपछि भेटिनुभएको हो। आफूले बाटोमा असोज २५ गते उक्त रकम भेटाएको भट्टले बताए।
ग्लोबल आइएमई बैंक तीनपैनी शाखाका व्यवस्थापक राजेश विष्टले बैंकबाट निस्किएको व्यक्तिको रकम खसेको हुन सक्ने भन्दै बैंकलाई रकम जिम्मा लगाइएपछि रकम हराउने व्यक्तिको पहिचान गर्न चुनौती भएको बताए।
यादवको पहिचानपछि उनले असोज २५ गते जम्मा गरेको रकमको भौचरमा भएको फोन नम्बरमा फोन गर्दा स्वीच अफ हुँदा भेट हुन र रकम फिर्ता दिन समस्या भएको विष्टले बताए।
सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनी विराटनगरका अध्यक्ष मीना जोशीले रकम भेटाएर पनि घर नलगेर बैंकमा बुझाएर भट्टले उदाहरणीय काम गरेको बताए।












