कालिका नगरपालिकाद्वारा चितवनका पत्रकारको १० लाखको दुर्घटना बिमा
नगरपालिकाले पत्रकार सामूहिक दुर्घटना बिमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेपछि आज नगरप्रमुख विनोद रेग्मी र महासङ्घका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे।
चितवन, पुस १८ : कालिका नगरपालिकाले नेपाल पत्रकार महासङ्घ चितवन शाखा सदस्यको रु १० लाखको दुर्घटना बीमा गर्ने भएको छ। नगरपालिका र महासङ्घबीच दुर्घटना बिमासम्बन्धी आज सम्झौता गरिएको हो।
नगरपालिकाले पत्रकार सामूहिक दुर्घटना बिमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेपछि आज नगरप्रमुख विनोद रेग्मी र महासङ्घका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे। आगामी दिनमा बीमा कार्यक्रमलाई निरन्तरता दिनेगरी कार्यबिधि बनाएर व्यवस्थित गरिएको महानगरप्रमुख रेग्मीले जानकारी दिए।
कार्यविधिमा बीमाका लागि नगरप्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ। समितिमा महासङ्घका अध्यक्षसमेत रहने कार्यविधिमा उल्लेख छ। आज सम्झौता भएसँगै प्रक्रिया अघि बढ्ने र केही दिनभित्रै महासङ्घका सदस्यको बीमा हुने बताइयो।
महानगरप्रमुख रेग्मीले भने, 'यसबाट पत्रकार र तीनका परिवार लाभान्वित हुनेछन्।' कसैको पनि दुर्घटना नहोस् र लाभान्वित हुन नपरोस् भन्ने आफ्नो चाहना रहे पनि भैपरी आउने दुर्घटनापछि राहतका लागि बीमा गर्न लागिएको हो
उक्त नगरपालिकाले यसअघि गत आर्थिक वर्ष पत्रकारका लागि रु सात लाखको र अघिल्लो वर्ष रु तीन लाखको दुर्घटना बीमा गराएको थियो। अबका वर्षमा कार्यविधि नै बनाएर रु १० लाखसम्मको दुर्घटना बीमा गर्न लागिएको हो। यो बीमाअन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको परिवारलाई रु १० लाख र घाइतेले उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बिमा गरिने भएको छ।
नगरपालिकाकी उपप्रमुख विमला तामाङले नगरपालिका र महासङ्घबीच संस्थागतरुपमा यो कार्यक्रमसँगै सहकार्य भएको बताए। महासङ्घका अध्यक्ष अधिकारीले हाल महासङ्घमा दुई सय ७६ पत्रकार रहेकामा अन्यत्र दुर्घटना बीमा भएकालाई घटाएर अन्य सबैको बीमा गरिने बताए। संस्थागत रुपमा नगरपालिकासँग सम्झौता गर्न पाएकामा खुसी प्रकट गर्दै उहाँले यसबाट पत्रकार र परिवार लाभान्वित हुने उल्लेख गरे।












