Kathmandu Press

एकाउन्न दशमलव २९ प्रतिशतले ‘रिकभर’ भयो पर्यटन आगमन

एकाउन्न दशमलव २९ प्रतिशतले ‘रिकभर’ भयो पर्यटन आगमन

पाेखरा, पुस १७ : कोरोना महामारी सुरु हुनुभन्दा अघिको तुलनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५१ दशमलव २९ प्रतिशतले ‘रिकभर’ भएको छ ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार एक वर्षमा छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटक भित्रिएका छन् । जुन सन् २०२१ को तुलनामा तीन सय नौ दशमलव ७५ प्रतिशतले बढी हो भने सन् २०२० को तुलनामा एक सय ६६ दशमलव ९२ प्रतिशतले बढी हो ।

Hardik ivf

सन् २०२० को सुरुवातमै विश्वव्यापी कोरोना महामारीको सङ्क्रमणका कारण दुई वर्ष उल्लेख्य रुपमा घटेको पर्यटनको सङ्ख्या सन् २०२२ मा भने बढेको हो । सरकारले सन् २०१९ को तुलनामा ७५ प्रतिशतले पर्यटकको सङ्ख्या ‘रिकभर’ गर्ने लक्ष्य लिए पनि ५१ दशमलव २९ प्रतिशत ‘रिकभर’ भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने र सन् २०३३ सम्ममा वार्षिक ३५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको बताए । 'भारत र चीन दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भएको नेपालमा हाम्रो लक्ष्य ठूलो होइन,' उनले भने, 'पर्यटक बढाउनका लागि आवश्यक पूर्वाधारको निर्माण तथा प्रचारप्रसारमा विशेष ध्यान दिन जरुरी छ।' सरकारले सन् २०२३/३३ को अवधिलाई नेपाल भ्रमण दशकका रुपमा मनाउने गरी कार्यक्रम अघि बढाएको छ ।

प्रकाशित मिति: १९:११ बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्