Kathmandu Press

नदीजन्य पदार्थ उत्खननविरुद्ध स्थानीय आन्दोलित

नदीजन्य पदार्थ उत्खनन हुने प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन्। 
नदीजन्य पदार्थ उत्खननविरुद्ध स्थानीय आन्दोलित

कञ्चनपुर, पुस १७ : शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता गरेपछि स्थानीय बासिन्दा सङ्गठित भई आन्दोलित भएका छन्। नदीजन्य पदार्थ उत्खनन हुने प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन्। 

नगरपालिकाले आव २०७८/७९ मा नदीजन्य पदार्थबाट रोयल्टी सङ्कलनका लागि सुनबरा नदी, वनहरा नदी र अनौखी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि गणपति कन्ट्रक्सन प्रालिसँग रु ६८ लाख १३ हजारमा ठेक्का सम्झौता गरेको छ। तटीय क्षेत्रका स्थानीयले नदी कटानी नियन्त्रण सुनिश्चितता नहुँदासम्म उत्खनन गर्न नदिन रुकुमसिंह ठगुन्नाको संयोकत्वमा सङ्घर्ष समिति गठन गरेका छन्।
 
समितिमा शङ्करबहादुर साउद र पप्पु विश्वकर्मा सदस्य रहेका छन्। समितिले नदीजन्य पदार्थ उत्खनन हुने क्षेत्रमा तटबन्ध निर्माण, सडक निर्माण कार्य, सडकमा दैनिक पानी छर्कने व्यवस्था र रोयल्टीबापतको रकम प्रभावित क्षेत्रको विकास निर्माणमा खर्च गर्न माग अघि सारेका छन्। 

Hardik ivf

माग सम्बोधन नभएसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नदिने सङ्घर्ष समितिका संयोजक ठगुन्नाले बताए। 'नदीजन्य पदार्थ दोहन हुँदा जग्गा कटान गरी उठिबास गराउने कार्य हुन दिदैनौं', उनले भने, 'माग सम्बोधन गरी नदी नियन्त्रण गर्ने प्रतिबद्धता गरी कार्य अगाडि बढाए मात्रै नदीजन्य पदार्थ उठाउन दिन्छौं।' 
 
सङ्घर्ष समितिले आज दिउँसो वडा नं ८ को कार्यालय शान्तिपूर्ण घेराउ गर्ने र पुस १९ गते नगरपालिका घेराउ गर्ने कार्यक्रम तय गरेको छ। नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले विकास निर्माणका लागि कसैले पनि अवरोध गर्न नहुने बताए। 

'नगरको विकास गर्न खोज्दा केही विकास विरोधीले अवरोध गर्न खोजेका छन्', उनले भने, 'अनौखी खोला र वनहरा खोलाका लागि मात्रै ठेक्का सम्झौता भएको छ, स्याली, धारापानी खोलाको ठेक्का दिएको भनेर भम्र सिर्जना गर्ने कार्य गरिएको छ।' 

नदीजन्य पदार्थ उत्खनन हुने क्षेत्रका बासिन्दालाई असर नपर्ने गरी कार्य अगाडि बढाइने उल्लेख गर्दै उनले सङ्कलन हुने रोयल्टीको रकमबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि तटबन्ध निर्माण, सडक सुधारलगायतमा खर्च गरिने बताए। 

वर्षौंपछि नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लागेकाले यसबाट आउने रकमले नगरको विकासमा खर्च हुने उनको भनाइ छ। 'नदी साविकको सतहभन्दा माथि भएर बग्दा स्थानीय बासिन्दा डुबानमा पर्दै आएका छन्', उनले भने, 'बढी भएको नदीजन्य पदार्थ उत्खनन गर्दा बस्ती डुबान हुनबाट जोगिन्छ, कटान हुने क्षेत्रमा तटबन्ध गरी नियन्त्रण गर्छौं।'

प्रकाशित मिति: १५:५८ बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्