Kathmandu Press

पूर्वराजदूत आचार्यको ‘कूटनीतिक डायरी’ लोकार्पण

पूर्वराजदूत आचार्यको ‘कूटनीतिक डायरी’ लोकार्पण

काठमाडाैं, पुस १६ : चीनका लागि नेपाली पूर्वराजदूत राजेश्वर आचार्यको नेपाल–चीन सम्बन्धसहितका कूटनीतिक क्षेत्रका विविध विषयवस्तु समेटिएको ‘कूटनीतिक डायरी’ पुस्तक सार्वजनिक भएको छ ।

पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले आज यहाँ आयोजित समारोहमा उक्त पुस्तक लोकार्पण गरेका हुन। चीनमा रहँदा नेपाल–चीन सम्बन्ध विकसित गर्ने सम्बन्धमा भएका द्विपक्षीय भेटघाट, छलफल, सहयोग र सम्झौतासम्बन्धी देखेको, भोगको र अनुभव गरेका विषय स्पष्टरूपमा कृतिमा समावेश गरेका छन।

पुस्तकमा कूटनीतिक यात्रा, चीनबारे अनुभव र बुझाइ, माओको उदय र प्रभाव, एक चीन नीति, कालापानीबारे चासो, पारवहन सन्धिको चासो, राजा वीरेन्द्रको चीन भ्रमण, चिनियाँ प्रधानन्त्री झु रुङ जीको नेपाल भ्रमण तथा आर्थिक कूटनीति र मगन्ते प्रवृत्तिलगायत शीर्षकमा विविध विषय समेटिएको छ ।

Hardik ivf

उनी विसं २०५५ कात्तिक १ देखि २०५९ माघ १५ गतेसम्म चीनका लागि राजदूत थिए। पूर्वराजदूत आचार्यले आफ्नो पुस्तक स्व राजा वीरेन्द्र तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व विपी कोइरालाप्रति समर्पित गरेकाे उल्लेख छ ।

बेइजिङमा चार वर्ष रहँदा उनलाई दुई राजा र पाँचवटा सरकारको प्रतिनिधि भई काम गर्ने अवसर जुटेको थियो । नेपाल चीनसँग सीमा जोडिएका १४ मध्ये एक छिमेकी राष्ट्र हो । शान्त कूटनीतिमा विश्वास गर्ने चीन र नेपालबीचको सम्बन्ध सदियौँदेखि मित्रवत् रहँदै आएको छ ।

नेपालजस्ता मुलुकले चीनको अवधारण बुझेर नीतिगत सामञ्जस्य मिलाएर राष्ट्रिय हित संरक्षण गर्न सक्नुपर्छ भन्ने परराष्ट्र मामिलाका जानकार बताउछन। कृतिमा प्राध्यापक केदारभक्त माथेमा, कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ, पत्रकार ध्रुवहरि अधिकारी र कमला आचार्यले कृतिका सम्बन्धमा समीक्षा र प्रतिक्रिया समेटिएको छ ।

पुस्तकमा मङ्गोलिया र उत्तर कोरिया सम्बन्धित  कतिपय विषयवस्तु र तथ्य तथ्याङ्क समावेश गरिएको छ । राष्ट्रहितलाई सर्वाेपरी राखेर छिमेकीसित सन्तुलन कायम गर्न तथा विश्व शान्ति र अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने विषयमा समेटिएको लेखले कृतिलाई ओजपूर्ण तुल्याएको छ ।

चीनबारे अनुभव र बुझाइ शीर्षकमा लेखक आचार्यले चिनियाँ नेतृत्वसहित सबैले कडाइका साथ समयको पालना गरेको, सबै काम र भेटघाट निर्धारित समयमै हुने गरेको तथा सार्वजनिक यातायात हवाई, रेल र बस निकै व्यवस्थित रहेको उल्लेख छ । चीनले अनुसन्धान र विकासमा धेरै ठूलो लगानी गरेको तथा उनीहरूको जोड विशेषत विद्यार्थीमा ज्ञान, सीप र व्यक्तित्व विकासमा रहेको उल्लेख छ ।

पुस्तक विमोचन समारोहमा पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले छिमेकीसँग सन्तुलन कायम गरी आफ्नो राष्ट्रियहितमा काम गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, 'चीनका नेताहरूबाट माथिल्लो तहको शिष्टाचार र मानवीय पक्षमामा सबैले ज्ञान लिन र सिक्न जरुरी छ।'

कूटनीतिक क्षेत्रका जानकार पूर्वसचिव चिरनशम्शेर थापाले राजनीतिक हिसाबले उथलपुथल भए पनि चीनले नेपालाई सधैँभर श्रद्धाभावले हेर्दै आएको बताउनुभयो ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले मुलुकको प्रतिनिधित्व गरेर जाने व्यक्तिले दल विशेषको नभई राष्ट्रहितलाई सर्वाेपरी राखेर काम गर्न सक्नुपर्छ भन्ने सन्देश पुस्तक अध्ययनबाट थाहा पाइने बताए।

वरिष्ठ पत्रकार अधिकारीले नेपाल–चीन सम्बन्ध र समग्र कूटनीतिबारे जानकारी लिन चाहने पाठकका लागि कूटनीति डायरी ओजपूर्ण र मूल्यवान रहेको बताए। लेखक शौरभले मुलुक कृषिमा आत्मनिर्भर नरहेसम्म  परिपक्क ढङ्गबाट कूटनीतिमा सन्तुलन कायम गर्न सकिन्न भन्ने सन्देशलाई नेतृत्वले अझै आत्मसाथ गर्न नसकेको भनी टिप्पणी गरे।

पुस्तका स्रष्टा आचार्यले नेपाल र चीनबीच समस्यारहित रहेको धारणा राखे। पूर्वराजदूत आचार्यले कूटनीतिक डायरी विसं २०३३ मा विपी कोइराला मेलमिलापको नीति लिई ज्यानकै बाजी राखेर स्वदेश फर्केको दिनका अवसर पारेर विमोचन कार्यक्रम राखेका हुन।

प्रकाशित मिति: १८:२९ बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्