Kathmandu Press

अंग्रेजी नयाँ वर्ष २०२३ लाई स्वागत गर्न शनिबार साँझ ठमेलमा सडक महोत्सव हुने

भोलि (शनिबार) ठमेलको केशरमहलस्थित सञ्चयकोष भवनअगाडि साँझ ५ः३० देखि भव्य कार्यक्रम हुने आयोजक ठमेल पर्यटन विकास परिषद्ले आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।
अंग्रेजी नयाँ वर्ष २०२३ लाई स्वागत गर्न शनिबार साँझ ठमेलमा सडक महोत्सव हुने

काठमाडौं, पुस १५ : अंग्रेजी नयाँ वर्ष २०२३ लाई स्वागत गर्न ‘न्यु इयर इभ’ तथा ‘ठमेल सडक महोत्सव’को आयोजना हुने भएको छ। भोलि (शनिबार) ठमेलको केशरमहलस्थित सञ्चयकोष भवनअगाडि साँझ ५ः३० देखि भव्य कार्यक्रम हुने आयोजक ठमेल पर्यटन विकास परिषद्ले आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

महोत्सवमा प्रमुख अथितिका रूपमा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थिति रहने परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए। उक्त कार्यक्रममा विभिन्न पार्टीसँग आबद्ध राजनीतिक व्यक्तित्व, विभागीय उच्च पदस्थ कर्मचारी र विशिष्ट राष्ट्रसेवक अतिथिका रूपमा उपस्थित हुनेछन्। शर्माका अनुसार कार्यक्रममा नेपाली मौलिक कला प्रदर्शन, विशिष्ट व्यक्तित्वबाट शुभकामना सन्देश प्रवाहका साथै सांगीतिक कार्यक्रम गरी सन् २०२२ लाई बिदाइ गरी २०२३ लाई स्वागत गरेर राति १२ः३० बजे कार्यक्रम समापन हुनेछ। 

Hardik ivf

सोही कार्यक्रमको अवसर पारी ठमेलका सबैखाले व्यवसायीहरूले आफ्ना वस्तु तथा सेवाको प्रवर्धन गर्ने उनको भनाइ छ। नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यका रूपमा परिचित गराउने योजनाले महोत्सव गर्न लागिएको उनले बताए। ‘प्रत्येक वर्ष सडक महोत्सव गरेर नयाँ वर्षलाई स्वागत गर्ने गरिएको छ,’ उनले भने, ‘महोत्सवले ठमेलका व्यवसायीको व्यापारमा टेवा पुर्‍याउँछ।’

ठमेल क्षेत्रबाट हुने सबैखाले व्यवसायलाई टेवा पुर्‍याउने योजनाले केही वषएयता सडक महोत्सव हुँदै आएको उनको भनाइ छ। ‘कोभिड १९ का कारण थला परेको पर्यटन क्षेत्र पुनःस्थापना गर्न हामी लागिपरेका छौं,’ उनले भने। 

उक्त कार्यक्रममा उनले ठमेल क्षेत्रलाई आकर्षित बनाउन बिजुली, टेलिफोन, इन्टनेटलगायतका तारलाई व्यवस्थापन गरिएको उनले बताए। ‘तार व्यवस्थापनको काम ९५ प्रतिशत सकिसक्यौं,’ उनले भने, ‘अहिले वरपरका बोर्ड प्रस्ट देखिन्छन्।’ महोत्सवका लागि काठमाडौं महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, वरुण बेभरेजलगायत निकायसँग आर्थिक तथा प्राविधिक सहकार्य गरिएको उनले बताए। ‘उक्त सडक महोत्सवका लागि २०÷२५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छौं,’ अध्यक्ष शर्माले भने। महोत्सवमा आन्तरिक तथा बाह्य गरेर एक लाख हाराहारीमा पर्यटक भेला हुने अपेक्षा आयोजकको छ। 

परिषद्ले ‘ठमेल जाऔं, नयाँ वर्ष मनाऔं’ भन्दै सबैलाई आह्वान महोत्सवमा सहभागी हुन आह्वान गरेको छ। महोत्सवमा आउने पर्यटकको सुरक्षा, सवारीसाधान पार्किङको व्यवस्था मिलाइएको उनले जानकारी दिए। ठमेलका व्यवसायी पनि आफ्नो स्टल सडकमै राखेर सुलभ मूल्यमा गुणस्तरीय सामग्री बिक्री गर्न तयार रहेको उनले बताए।  
 

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्