‘पाँचै जना विपन्न दलितकाे घरघर पुगेँ, समयमा उपचार नपाएकै कारण मृत्यु भएको पाएँ’
मृत्यु भएकाहरूको अवस्था निकै दयनीय थियो। गुजारा चलाउन नसक्ने अवस्थामा उनीहरू रहेको कार्यपालिका सदस्य शोभा पासवानको भनाइ छ।काठमाडौं पुस ८ : केही दिनअघि राष्ट्रिय दलित आयोग र सप्तरीको कञ्चन–रूप नगरपालिका एकअर्काविरुद्ध आरोपप्रत्यारोपमा उत्रिए। कारण थियो, सामान्य औषधोपचार अभावमा विपन्न दलित बस्तीका पाँचजनाको मृत्यु।
सप्तरीको कञ्चनरूप नगरपालिकामा दुई साताको अन्तरालमा औषधोपचारको अभावमा पाँचजनाले ज्यान गुमाउनुपरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भएको भन्दै यही पुस ४ गते राष्ट्रिय दलित आयोगले प्रेस विज्ञप्ति सार्वजनिक गरेको थियो।
उक्त घटना औषधोपचार नपाएका कारण नभएर उपचारकै क्रममा मृत्यु भएको स्पष्टीकरण दिँदै कञ्चनरूप नगरपालिकाले पनि प्रेस विज्ञप्ति सार्वजनिक ग¥यो। प्रेस विज्ञप्तिमा मिति भने उल्लेख छैन।
पुस २ गते ‘नयाँ पत्रिका’ र ३ गते ‘कान्तिपुर’ दैनिकमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको र उक्त सम्बन्धमा स्थलगत निरीक्षण गरिएको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ। दैनिक पत्रिकामा उक्त घटनाबारे समाचार छापिएपछि आयोगले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको थियो।
आयोगको विज्ञप्तिमा उल्लेख गरिएअनुसार कञ्चनरूप नगरपालिकामा–८ का ३७ वर्षीय सुरज सदा, चन्दु सदा, बबिता पासवान र कञ्चनपरूपकै ९ नम्बर वडा रघुनाथपुरका ३९ वर्षीय भिखोे खंगले उपचार नपाएकै कारण ज्यान गुमाउनुपरेको छ। सोही नगरपालिका वडा ५ रामपुर पथरीका मलर सदाले भने कोरोनाको लहरमा भोकले ज्यान गुमाउनुपरेको तथ्य विज्ञप्तिमा उल्लेख छ।
त्यतिबेला मलर सदाको घटनाले राष्ट्रव्यापी चर्चासमेत पाएको थियो। यस्ता घटना बर्सेनि हुने गरेका छन् तर त्यसको न्यूनीकरणका लागि राज्यले पर्याप्त पहल गरेको देखिन्न। त्यसकारण पनि सरकारलाई ध्यानकर्षण गराउन प्रेस विज्ञप्ति सार्वजनिक गरेको दलित आयोगको स्पष्टोक्ति छ।
‘सरकारले ध्यानाकर्षण गराउन पटकपटक विज्ञप्ति र पत्र बुझाउँदै आएको छौं,’ आयोगका प्रवक्ता सुन्दर पुर्कुटी भन्छन्, ‘निःशुल्क पाउने उपचारसमेत नपाएकाले मृत्यु भोग्नुपरेको अवस्थाप्रति सरकारको कुनै चासो छैन।’
यता कञ्चनरूप नगरपालिकाले भने उपचार नपाएका कारण मृत्यु भएको भनी आएका समाचार भ्रामक भएको दाबी गरेको छ। नगर प्रमुख ललनप्रसाद गुप्ता केही पुराना घटना समेटेर तथ्यहीन समाचार आएको जिकिर गर्छन्। उनका अनुसार मृत्युको कारण उपचार अभाव नभई रक्सी सेवन हो। ‘ती पाँच घटना दुई साताको नभई दुईतीन महिनाका हुन्,’ नगरप्रमुख गुप्ता भन्छन्, ‘समयमा स्वास्थ्य उपचार नपाएको होइन, मदिरा सेवन गरेकाले मृत्यु भएको हो।’
उनका अनुसार वडा ८ का ३७ वर्षीय सुरज सदाको पुरै शरीर रक्सी धेरै खाएकाले सुन्निएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको हो। अत्यधिक रक्सी सेवन गरेका कारण उनी विदेशबाट नेपाल फर्किएका थिए। ‘नेपाल फर्किएपछि सुरज ससुराली घर (उदयपुर) मा बस्ने गर्थे, अन्तिम अवस्थामा स्थायी निवासमा फर्किएका हुन्,’ उनले भने, ‘कलेजो खराब भएर शरीर सुन्निएको थियो। त्यस्तो हुँदा पनि रक्सी सेवन गरिरहँदा उपचारका क्रममा उनको मृत्यु भएको हो।’
उनी अस्पतालले समेत रोगसँग लड्दै गर्दा रक्सी सेवन गरेकाले मृत्यु भएको प्रस्ट खुलाएको दाबी गर्छन्। सुरजको स्वास्थ्य उपचारका लागि नगरपालिकामा खबर नआएको र सहयोग पनि नमागिएको उनी बताउँछन्। ‘नगरले खबर पाएको भए सहयोग गथ्र्यो, मृत्युपछि मात्र नगरपालिकामा जानकारी भयो,’ उनले भने, ‘यसमा स्थानीय बासिन्दा र नगर दुवै पक्षको कमजोरी देखिन्छ।’
वडा ८ कै चन्दु सदा २०७९ जेठमा अत्यधिक रक्सी सेवनकै कारण आन्द्रामा घाउ भएर मृत्यु भएको नगर प्रमुख गुप्ताको दाबी छ। ‘चन्दुले दुई–तीन वर्षअघिदेखि इनर्वा, धरान, विराटनगरमा उपचार गराउँदै आएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको हो,’ उनले भने, ‘उपचार नपाएकै कारण चन्दुको मृत्यु भएको होइन।’
सोही वडाकी बबिता पासवान मानसिक रोगी थिइन्। दुई वर्षअघि बुबाको मृत्यु भएपछि उनको अझ मानसिक अवस्था झनै खराब हुँदै गएको थियो। जसले गर्दा लामो समयदेखि उनको उपचार हुँदै आएको नगरप्रमुख गुप्ता बताउँछन्। ‘बबिताको पनि उपचारकै क्रममा मृत्यु भएको हो,’ उनले भने, ‘उपचार नपाएर मृत्यु भएको भन्न मिल्दैन।’
नगर प्रमुख गुप्ताका अनुसार वडा ९ का भिखो खंगलाई अत्यधिक रक्सी सेवन गरेका कारण लिभर क्यान्सर भएको थियो। सोही कारणले उनी मृत्युको मुखमा परेका हुन्। खंगले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार गराएका थिए। उपचारका क्रममा क्यान्सरको अन्तिम अवस्था भएका कारण घर फिर्ता पठाइएको र घरमै मृत्यु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
डिसेम्बर ८ (मंसिर २२) मा भिखोका परिवारलाई सानो सहयोग गरिदिएको भन्दै केही खाद्यान्नसहितको तस्बिर नगरप्रमुख गुप्ताले फेसबुकमा सार्वजनिक गरेका थिए। उक्त कुरा उनले विज्ञप्तिमा समेत उल्लेख गरेका छन्। उनले भनेअनुसार भिखोका परिवारलाई थप सहयोगको तयारी नगरपालिकाले गरिरहेको छ।
त्यस्तै वडा ५ रामपुर पथरीका मलर सदाको कोरोना प्रभावकै समयमा मृत्यु भएको बताउँछन् । ‘२०७९ मा चुनिएर आएका जनप्रतिनिधि भएकाले पुरानो घटनाबारे प्रस्ट थाहा छैन,’ उनले भने, ‘भर्खर भएका घटनालाई नगरपालिकाले सक्दो सहयोग गरिरहेको छ।’
उनले यी घटनामा मेडिकल रिपोर्टले पनि उपचारकै क्रममा मृत्यु भएको बताउने दाबी गर्छन्। ‘उपचार नपाएकै कारण मृत्यु भएको होइन, वास्तविक नबुझी आरोप लगाउन पाइँदैन,’ उनले भने, ‘मेडिकल रिपोर्ट नगरपालिकामा आइपुगेको छ।’
वडा ८ मा तीनवटा घटना भएका छन्। तर वडाध्यक्ष कृष्णप्रसाद सहलाई पूर्ण जानकारी नभएको पाइयो । उनले एकदुई महिनाअघिको घटना भएकाले आफूलाई पूर्ण विवरण थाहा नभएको जवाफ दिए । बबिता पासवान बुबाको मृत्युपछि मानसिक रोगी भएको र बुबाको मृत्युपछि दुई वर्षमा उनी पनि बितेको वडाध्यक्ष साहको भनाइ छ।
‘उपचारका लागि वडामा आए कागजपत्र बनाएर नगरपालिकामा पठाइदिन्छौं, सहयोग दिनेनदिने काम नगरपालिकाको हो,’ उनले भने, ‘रकम सहयोग गर्न वडासँग बजेट हुँदैन।’ नगरप्रमुख गुप्ता र वडाध्यक्ष साहको तर्क उस्तैउस्तै रहेको देखिएको छ।
‘समयमै उपचार नपाएका कारण मृत्यु’
कञ्चनरूप नगरपालिकाको कार्यपालिका सदस्य शोभा पासवान भने दुईतीन साताभित्र मृत्यु भएका दलित समुदायका व्यक्ति उपचार अभावमै मृत्यु भएको बताउँछन्। ‘समयमा उपचार नपाएकै कारण मृत्यु भएको हो,’ उनले भने, ‘ती व्यक्तिहरूको आर्थिक अवस्था निकै कमजोर थियो।’
उनी वडा ८ कै स्थानीय हुन्। उनकै वडाको घटना भएकाले घरघरमा पुगेर अवलोकन गरेको उनी बताउँछन्। मृत्यु भएकाहरूको अवस्था निकै दयनीय थियो। गुजारा चलाउन नसक्ने अवस्थामा उनीहरू रहेको कार्यपालिका सदस्य शोभा पासवानको भनाइ छ। ‘बासस्थानका लागि सानो झुप्रो थियो, पर्याप्त खाद्यान्नसमेत थिएन,’ कार्यपालिका सदस्य पासवान भन्छन्, ‘घरमा खानको अन्नसमेत थिएन, ती गरिबले कसरी उपचार गरून्?’
कार्यपालिका सदस्य भएकाले पाँचवटै घटनामा प्रत्यक्ष रूपमा अवलोकन गरेको उनले बताए। उक्त घटनामा उपचारका क्रममा मृत्यु भएको भनिए पनि समयमा आर्थिक जोहो हुन नसकेकै कारणले मृत्यु भएको सत्य भएको उनको दाबी छ। यसलाई अस्वीकार गर्न नहुने उनको दाबी छ।
‘नगरपालिकाले किन त्यस्तो भन्यो थाहा छैन तर मृत्यु भएका व्यक्तिहरूको आर्थिक अवस्था एकदमै न्यून छ,’ उनले काठमाडौं प्रेससँगको टेलिफोन कुराकानीमा भने, ‘नगरभित्र दलित समुदाय झन्डै ३० प्रतिशत छन्। त्यसमा पनि धेरैजसो अति विपन्न वर्गमा पर्छन्।’
दुई छाक टार्न मुस्किल भएका विपन्न वर्गमा दीर्घकालीन रोग अथवा जटिल रोग लाग्नु मृत्यु हुनुसरह हो। उपचार खर्च अभावको पिरले मदिरा सेवनको सहारामा विपन्नहरू सुत्ने गरेको उनी बताउँछन्। ‘उपचार खर्च जुटाउन नसक्दा नगरभित्र बर्सेनि धेरै दलित तथा विपन्नको मृत्यु हुन्छ,’ उनले भने, ‘त्यसका लागि नगर तथा राज्यले केही भूमिका खेल्दैन।’
उपचार गर्ने खर्च जुटाउन नसकेकै कारण महिनामै दुई–तीन जनाको मृत्यु भइरहेको हुन्छ। यसपालि भने उक्त संख्या बढेको उनको अनुमान छ। ‘चिसो बढ्दै जाँदा अझ धेरैको मृत्यु हुन्छ,’ सदस्य पासवान भन्छन्, ‘पराल तथा खरको झुपडीमा बस्ने हुँदा चिसोका कारण बिरामी हुने र मर्ने गर्छन्।’
अर्की कार्यपालिका सदस्य रन्जुकुमारी सरदार पनि आर्थिक अवस्था कमजोर र समयमा स्वास्थ्य सेवा नपाएकै कारणले विपन्न दलितको मृत्यु भएको बताउँछिन्। ‘उपचार गर्न खर्च हुँदैन, अरूले सहयोग गदैनन्। त्यसैले गरिब दलितलाई अलि ठुलो रोग लागेपछि उपचार गर्न नसकेरै मर्छन्,’ उनी भन्छिन्, ‘मृत्यु हुनुमा गरिबी नै प्रमुख कारण हो।’
धेरैजसो बिरामी दुखाइ कम हुने औषधि खाएर बाँचिरहेका हुन्छन्। त्यसलाई उपचार गरिरहेको अवस्थामा मृत्यु भएको भन्न नमिल्ने उनको धारणा छ। तसर्थ नगरपालिकाले आफ्नो गल्ती ढाकछोप गर्न मेडिकलको रिपोर्टको आड लिएको उनको भनाइ छ। ‘समयमा उपचार नपाएर मृत्यु भएको कुरा नै सत्य हो,’ उनले भनिन्, ‘नगरले आफ्नो गल्ती ढाकछोप गर्न जे पनि भन्न सक्छ।’
कानुनमा निःशुल्क स्वास्थ्य अधिकार
संविधानको धारा ४३ मा सामाजिक सुरक्षाको हकमा आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुने उल्लेख छ।
यसैगरी संविधानको धारा ३५ मा भनिएको छ, ‘कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन।’ आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गरेको छ तर पनि दलित तथा विपन्नले निःशुल्क उपचार सेवा पाउन सकेका छैनन्। ‘निःशुल्क त होइन, ५० प्रतिशत रकम तिरेर पनि समयमा उपचार पाइँदैन,’ कार्यपालिका सदस्य पासवानले भने, ‘निजी अस्पतालमा जान सकिँदैन, सरकारी अस्पतालमा पालो आउँदैन।’
त्यस्तै जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ मा सेवाग्राहीको अधिकार, कर्तव्य तथा स्वास्थ्यसंस्थाको दायित्वका विषयमा उल्लेख छ। ऐनको दफा ३ मा भनिएको छ, ‘कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन।’ सोही ऐनले नसर्ने रोग तथा शारीरिक विकलांगता, मानसिक रोगलगायत सामान्य आकस्मिक अवस्थाका सेवालाई निःशुल्क उपचारको व्यवस्था गरेको छ। तोकिएबमोजिजमका आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नु प्रत्येक स्वास्थ्य संस्थाहरूको कर्तव्य भएको पनि उल्लेख छ।
तर संविधान र ऐनले गरेका सामान्य व्यवस्थासमेत कार्यान्वयन नहुँदा कञ्चनरूपमा अति विपन्न मधेसी दलित उपचारकै अभावमा मृत्यु भएको घटनामा राज्य दोषी भएको कार्यपालिका सदस्य पासवानको भनाइ छ। ‘दलित समुदाय मात्र नभई आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाएकै कारण मुत्यु हुने गरेको छ तर यसमा सरकारले चासो दिँदैन,’ उनले भने, ‘जनता स्वदेशमा उपचार नपाएर मृत्यु हुँदा नेता सामान्य उपचारका लागि विदेशमा पुग्छन्।’