Kathmandu Press

फाप्लु विमानस्थलको प्रवेशद्वार उपयोगविहीन

फाप्लु विमानस्थलको प्रवेशद्वार उपयोगविहीन

सोलुखुम्बु, पुस १२ : सोलुखुम्बुको फाप्लु विमानस्थलमा करोडौँ रकम खर्चेर बनाइएको मुख्य प्रवेशद्वार उपयोगविहीन बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु आठ करोड ७८ लाख लागत निर्माण गरिएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौँदेखि प्रयोगमा आउन सकेको छैन । उक्त प्रवेशद्वार विसं २०७७ मा निर्माण गरिएको हो ।

प्रवेशमार्ग प्रयोगमा आउन नसक्दा यात्रु समस्या मोलेर साँघुरो मार्ग प्रयोग गर्न बाध्य छन् । विमानस्थल भित्रिने र बाहिरिने गरी बनाइएको फरक–फरक मार्ग सञ्चालन नहुँदा टावरका कर्मचारी तथा सुरक्षाकर्मी कार्यालय प्रवेश गर्ने साँघुरो मार्ग प्रयोग गर्न यात्रु बाध्य बनेका हुन् ।

वैकल्पिकमार्ग अत्यन्त साँघुरो हुँदा अत्यावश्यक बिरामी धावनमार्गसम्म लैजानुपर्ने भएमा स्टेचर प्रवेश गराउनसमेत कठिन रहेको जनाइएको छ । साथै विमानस्थलमा ठूला सामग्रीहरू प्रवेश गराउनुपर्ने वा निकाल्नुपर्ने भएमा समेत कठिन हुने गरेको छ ।
 
नेपाल नागरिक उड्डययन प्राधिकरण फाप्लुका प्रमुख भानुभक्त आचार्यले उक्त गेटको प्रवेशद्वार भन्दाभित्र भागको वालको करिब पाँच मिटर भागमा ग्याभिङ जाली नभएकाले सञ्चालन नगरिएको बताए । धावनमार्ग माथिल्लो भागको स्टेपमा समेत प्राविधिक समस्या रहेकाले मर्मतपश्चात मात्रै सञ्चालन गर्न सकिने उनको भनाइ छ । यसका लागि आफूले प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्राचार गरिसकेको उनले बताए। 

प्राधिकरणका आयोजना प्रमुख इञ्जीनियर रत्नबहादुर श्रेष्ठले भने उक्त गेट सञ्चालन गर्नमा समस्या नरहेको दाबी गरे। नयाँ गेट वर्षौँदेखि उपयोगविहीन हुँदा यात्रुलाई समस्या हुनुका साथै सुरक्षामा समेत चुनौती आउन सक्ने जनाउँदै उनले सञ्चालनका लागि पहल गर्ने प्रतिक्रिया दिए। 

प्रकाशित मिति: १०:२४ बजे, मंगलबार, पुस १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्