यस्तो बन्यो प्रचण्डको प्रारम्भिक टिम
प्रचण्डको नेतृत्वमा रहेर प्रारम्भिक चरणमा विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने, ज्वालाकुमारी शाह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले काम गर्ने जिम्मेवारी पाएका छन् ।काठमाडौं, पुस ११ : निर्वाचन सकिएको एक महिना नाघेपछि मुलुकले नयाँ प्रधानमन्त्री पाएको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा सहमति जुट्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको समर्थनमा मुलुकको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन्।
प्रचण्डले सोमबार नै प्रधानमन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । उनले आफ्नो नेतृत्वमा ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । एमाले नेतृत्वको गठबन्धनको सोमबार दिउँसो बसेको बैठकमा भएको सहमति अनुसार प्रचण्डले तीन उपप्रधानसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।
प्रचण्डको नेतृत्वमा रहेर प्रारम्भिक चरणमा विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने, ज्वालाकुमारी शाह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले काम गर्ने जिम्मेवारी पाएका छन् ।
विष्णु पौडेल पहिलो वरियताको उपप्रधानमन्त्री सहित अर्थमन्त्री बनेका छन् भने दोस्रो र तेस्रो वरियताको उपप्रधानमन्त्री बनेका नारायणकाजी श्रेष्ठ र रवि लामिछाने क्रमशः भौतिक पूर्वाधार र गृहमन्त्री बनेका छन् । अन्य ४ मन्त्रीको भने मन्त्रालय टुंगिएको छैन।
२५ सदस्यीय मन्त्रीपरिषदमा बाँकी रहेका १७ मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री आफैंले राखेका छन् । सत्ता गठबन्धनमा छलफलपश्चात उक्त मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरिनेछ।
प्रचण्डले अबको एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेछ।