‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुसियाली
चितवन, पुस ११ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।
गृहजिल्ला चितवन भएका दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेका थिए । अघिल्लो कार्यकालमा चितवनबाट निर्वाचन जित्नु भएका उहाँले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गर्नुभएको थियो । ती योजनाले अब पूर्णता पाउने र नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री नहुँदा पनि ‘प्रचण्ड’को क्षेत्र र महानगर पूरै भागमा गएको पाँच वर्षमा रु ४० अर्बभन्दा बढीका योजना परेका थिए । ती सबै योजनामा मुख्य भूमिका प्रधामन्त्री दाहालकै थियो । चितवन क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाको आधाभन्दा बढी भाग र माडी नगरपालिका पूरै पर्दछ ।
आफूले निर्वाचन जितेको क्षेत्रमा अरु धेरै विकासका काम गर्ने उनका कतिपय योजना अधुरै छन् । गोरखाबाट निर्वाचन जितेपनि प्रधामन्त्री दाहाल चितवनको अभिभावक भएकाले विगतमा झै जिल्लाको विकास निर्माणमा महत्वपूण भूमिका रहने नगरप्रमुख दाहालले बताइन्।
आफू गोरखाबाट निर्वाचित भइसकेपछि यहाँ आएको बेला प्रधानमन्त्री दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा र गृह जिल्ला चितवन पनि भएको भन्दै यहाँको विकासमा चासो दिँदै आउनु भएको थियो । नगरप्रमुख दाहालले भनिन्, “‘प्रचण्ड’ चितवनको अभिभावक हो, जनप्रतिनिधि हुँदा पनि नहुँदा पनि उत्तिकै दायित्व उहाँसँग छ । समग्र महानगरसँगै चितवनको विकासमा उहाँको भूमिका रहन्छ।’
चितवन उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहेका कांग्रेस नेता राजन गौतमले उहाँ प्रधानमन्त्री हुँदा चितवनले विकासको अवसर पाउने बताए। जिल्लाकै जनप्रतिनिधि बनाउनु पर्नेमा चितवन चुकेको भन्दै उनले गोरखाबाट जितेपनि गृहजिल्ला चितवन भएकाले यहाँको विकासमा प्रधानमन्त्री दाहालको भूमिका रहने उल्लेख गरे ।
जिल्लास्थित उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेलले प्रधानमन्त्री दाहाल यसअघि यहाँको जनप्रतिनिधि भएका बखत पनि २० वर्षमा हुने विकास पाँचैं वर्षमा भएकाले र आउँदो समयमा पनि जिल्लामा विकासको लहर आउने बताउनुभयो । चितवनको विकासलाई देशैभर नयाँ नमूनाका रुपमा प्रस्तुत गर्न सकिने उनको भनाइ थियो ।
नेकपा (एमाले) का नेता विजय सुवेदीले चितवनवासीका लागि यो समय महत्वपूर्ण अवसर भएको बताउनुभयो । यसअघि पनि प्रधानमन्त्री दाहालले ठूला योजना ल्याउनुभएको स्मरण गर्दै उनले त्यतिबेला गर्न नभ्याएका आयोजनाले अब पूर्णता पाउने विश्वास व्यक्त गरे। नारायणी तटबन्धजस्ता ठूला आयोजना उनले नल्याएको भए आउने थिएन भन्दै नेता सुवेदीले जिल्लावासीले यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताए।
विकासका लागि पूँजी र साधनस्रोत आवश्यक पर्ने भएकाले त्यसलाई जोड्न उनी प्रधानमन्त्री भएपछि अझै सहज भएकोबताए। प्रधानमन्त्री दाहालको शिवनगरमा स्थायी घर छ । (रासस)