प्रदेश १ मा छ प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने

विराटनगर, पुस १० : प्रदेश नम्बर १ मा छ जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने भएका छन। प्रदेशसभा सदस्यमा पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहितका पाँच जनाले मातृभाषामा शपथ लिने भएका हुन।
प्रदेशसभा सचिवालयका अनुसार इलाम प्रदेशसभा क्षेत्र १ बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले समेत मातृभाषामा शपथ लिने भएका छन। आङ्बो नेकपा (माओवादी केन्द्र) र लङ्वा नेकपा (एकीकृत समाजवादी) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन।
यस्तै ताप्लेजुङ प्रदेशसभा क्षेत्र २ बाट निर्वाचित नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम, जनता समाजवादी पार्टीबाट निर्वाचित निर्मला लिम्बू, पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित एकीकृत समाजवादीका कमलप्रसाद जबेगुले समेत मातृभाषामा शपथ लिने भएका छन।
यता सुनसरी ३ बाट निर्वाचित कांग्रेसकी सुनिता चौधरीले समेत मातृभाषामा शपथ लिने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार चौधरीबाहेकका सदस्यले लिम्बू भाषामा शपथ लिनेछन भने चौधरीले थारु भाषामा शपथ लिनेछन।
मातृभाषामा शपथ लिन चाहने सदस्यलाई मातृ भाषामै शपथको व्यहोरा अनुवाद गरी बुझाउन प्रदेशसभा सचिवालयले पुस ५ गते सूचना जारी गरेको थियो। प्रदेश १ का सदस्यले भोलि दिउँसो १ः३० बजे शपथ लिने तय भएको छ।












