के हो सिजनल फ्लु? यसबाट बच्न कुन खोप लाउने?
जाडोयाममा फ्लु भाइरसका कारण प्रायः सबै उमेर समूहका मानिसमा स्वास्थ्य समस्या आउने गरेको पाइन्छ। सर्वसाधारणले सामान्य रूपमा लिने गरेको सिजनल फ्लुले कतिपय व्यक्तिमा भने जटिलता ल्याउन सक्छ।काठमाडौं, पुस ६ : जाडो बढेसँगै घरघरमा बिरामीको संख्या वृद्धि हुँदै गएको छ। हिउँदयाममा चिसो अत्यधिक हुने भएका कारण विशेष गरेर रुघाखोकी, ज्वारो, निमोनिया संक्रमणको सम्भावना उच्च रहन्छ।
यसरी जाडोयाममा देखिने यस्ता स्वास्थ्य समस्या मौसमी रुघाखोकी (सिजनल फ्लु) का कारण हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान विभागका संयोजक डा. शेरबहादुर पुन बताउँछन्।
केही दिनयता रुघाखोकीका लक्षण भएका बिरामीको संख्या तीव्र रूपमा बढेको पाइए पनि अस्पताल आई उपचार गर्ने क्रम भने वृद्धि नभएको उनले जानकारी दिए। जाडो मौसममा रुघाखोकी लाग्ने, टाउको दुख्ने, जिउ दुख्ने, ज्वरो आउनेजस्ता समस्या आउने भनेर प्रायः सबैलाई थाहा हुने भएकाले अस्पतालमा नआई घरमै बसेर घरेलु उपचार गर्ने अवस्था देखिएको डा. पुनको भनाइ छ।
जाडोयाममा फ्लु भाइरसका कारण प्रायः सबै उमेर समूहका मानिसमा स्वास्थ्य समस्या आउने गरेको पाइन्छ। सर्वसाधारणले सामान्य रूपमा लिने गरेको सिजनल फ्लुले कतिपय व्यक्तिमा भने जटिलता ल्याउन सक्छ। सिजनल फ्लु कसरी लाग्छ ? उपचार पद्धति के हो ? जाडोमा फ्लुबाट बच्ने उपायहरू केके छन्? यी र यस्ता विषयमा सबैले जानिराख्नु अत्यावश्यक छ।
के हो सिजनल फ्लु?
सिजनल फ्लु अथवा मौसमी रुघाखोकी भनेको इन्फ्लुएन्जा भाइरसबाट लाग्ने संक्रामक रोग हो। इन्फ्लुन्जा भाइरस ए, बी, सी र डी गरेर चार प्रकारको हुने गर्छ। इन्फ्लुन्जा भाइरसका चार प्रकार मध्य ए र बी भाइरसले मानिसलाई बढी दुःख दिने गरेको पाइन्छ।
नेपालमा पनि इन्फ्लुएन्जा भाइरसका चार प्रकारमध्य सबैभन्दा बढी ए र बी भाइरसले दुःख दिने गरेको देखिएको छ। प्रायः सबै उमेर समूहका मानिस यी फ्लुबाट संक्रमित हुने गर्छन्। सिजनले फ्लुका कारण नै मानिसहरूमा अचानक ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, नाक बन्द हुने, घाँटी दुख्ने, निमोनिया हुने, बच्चाहरूको दिसा पातलो हुने र कसैकसैमा हल्का बान्ता पनि हुने गरेको पाइन्छ।
फ्लु कडा भए यसले निमोनियाको रूप लिन्छ। धेरै मानिसमा फ्लुका कारण ज्वरो आउने, रुघाखोकी लाग्ने र टाउको दुख्नेजस्ता समस्या देखा परे पनि अस्पताल आई उपचार नगराउने भएकाले नेपालमा बर्सेनि के–कति मानिस फ्लुबाट संक्रमित हुने गर्छन् र कति जनाको मृत्यु हुन्छ भनेर यकिन तथ्यांक भने छैन। तर अमेरिकामा वार्षिक ४० देखि ५० हजार मानिसको मृत्यु फ्लुुसँग सम्बन्धित जटिलताका कारण हुने गरेको छ।
यसरी नेपालमा सिजनल फ्लु जटिलताका कारण कतिको मृत्यु हुन्छ भन्ने तथ्यांक नभए पनि एकजनालाई भए स्कुलका सबै, अफिसका सबै र घरका सबैमा फ्लुको संक्रमण हुने गर्छ।
सबैभन्दा बढी संंक्रमण युवामा
फ्लुको संक्रमण जुनसुकै उमेर समूहका व्यक्तिमा हुने गरे पनि सबैभन्दा प्रभावित हुनेमा युवाहरू पर्छन्। विभिन्न ठाउँमा जाने, भेटघाट गर्ने क्रममा एकअर्काबाट फ्लु सर्ने हँुदा युवाहरूमा यसको संक्रमण बढी रहेको पाइन्छ। संक्रमित युवाले नै परिवारका अन्य सदस्यमा पनि सार्ने गर्छन्।
फ्लुबाट सबैभन्दा बढी संक्रमित युवाहरू हुने गरे पनि यसको जटिलताबाट दीर्घरोगी (दम, एचआइभी एड्स, मुटुरोग, सुगर आदिका बिरामी) हरू प्रभावित हुन्छन्। लामो समयदेखि रोगसँग लडिरहने भएकाले उनीहरूमा यसको जोखिम उच्च रहन्छ। यसका साथै ज्येष्ठ नागरिक, बालबालिकामा र गर्भवती महिलामा पनि फ्लुको जोखिम उच्च रहन्छ। जोखिम समूहमा रुघाखोकी बिग्रेर निमोनिया भई मृत्यु हुने सम्भावना पनि धेरै हुन्छ।
रोकथामका उपाय
फ्लु भाइरस रोकथामका उपाय सबै कोभिड १९ सँग मिल्दाजुल्दा छन्। यसको रोकथामका लागी निरन्तर मास्क लगाउने, साबुनपानीले हात धुने गर्नुपर्छ। यसका साथै फ्लु भाइरसका कारण रुघाखोकी लाग्ने गर्छ। त्यसैले खोक्दा वा हाच्छिउँ गर्दा हातको कुइनाले वा रुमालले नाकमुख छोप्नुपर्छ।
रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न पौष्टिक आहार हरियो सागपात, झोलिलो खानेकुरा खाने र सरसफाइमा ध्यान दिने गर्नुपर्छ। फ्लु भाइरस नियन्त्रणका लागि फ्लुविरुद्धको खोप पनि लगाउने गरिन्छ। तर यो सम्बन्धमा धेरै मानिसलाई थाहा नभएकाले यसबारे धेरै चर्चा भएको पाइँदैन। फ्लुविरुद्धको खोप ६ महिनाभन्दा माथिका बालबालिकादेखि सबै उमेरका मानिसमा लगाउने गरिन्छ। फ्लुविरुद्ध हरेक वर्ष एक खोप लगाउनु अनिवार्य हुन्छ।
जोखिम वर्गमा पर्ने बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिक र गर्भवतीमा सिजनल फ्लुले निकै जटिलता ल्याउने भएकाले उनीहरूलाई फ्लुविरुद्धको खोप दिनु सबैभन्दा बढी सान्दर्भिक मानिन्छ ।
फ्लुविरुद्धको खोपको मूल्य कम्पनीअनुसार फरक
टेकु अस्पतालमा पनि फ्लुविरुद्ध भ्याक्सिन लगाइदिने सुविधा छ तर निःशुल्क भने छैन। फ्लुविरुद्धका लागि वार्षिक एउटा भ्याक्सिन दिनु जरुरी हुन्छ। कोभिड कालअघि फ्लुविरुद्धको एक भ्याक्सिनलाई १३ सयदेखि १४ सय रुपैयाँसम्म पथ्र्याे। तर अहिले कम्पनीअनुसार १८ सयदेखि २ हजार रुपैयाँसम्म पर्न आउँछ।