Kathmandu Press

श्रीमती हत्या आरोपितलाई सर्वस्वसहित जन्मकैद

श्रीमती हत्या आरोपितलाई सर्वस्वसहित जन्मकैद

सप्तरी, पुस ८ : यहाँको राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले आज सर्वस्वसहित जन्म कैद सजाय गरेको छ ।

जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलाशले हत्या आरोपी रजकलाई सर्वस्वसहित जन्म कैद सजाय गरेको अदालतले जनाएको छ ।

Hardik ivf

राजबिराज नगरपालिका–१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दीपेन्द्र यादवको घरमा डेरा गरीबस्ने दम्पतिबीच आपसी विवाद हुँदा ४० वर्षीया पत्नी गीतालाई हिरालालले हत्या गरेका थिए ।

राजविराज नगरपालिका–१ स्थित प्राङ्गरिक मल बनाउने निर्माणाधिन खुल्ला भवनको प्यासेजभित्र गीताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा गत मङ्सिर १० गते शव फेला परेको थियो । आरोपित मङ्सिर १० गते नै पक्राउ परेका थिए ।

मृतकका बाबु गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा मङ्सिर १० गते किटानी उजुरी दिएका थिए। आरोपितले जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयका साथै जिल्ला अदालतसमेतमा हत्या गरेको स्विकार्दै साविती बयान गरेपछि अदालतमा अभियोगपत्र दायर भएलगत्तै फैसला गरिएको अदालतले जानकारी दिएको छ।

प्रकाशित मिति: १९:४४ बजे, शुक्रबार, पुस ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्