Kathmandu Press

जनशक्ति अभावमा अस्पतालको सेवा प्रवाहमा समस्या

पाँच शय्याको स्वीकृति पाएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि ६४ शय्या सञ्चालनमा ल्याइएको भए पनि पूर्वाधार र जनशक्तिको अभावको कारण सेवा प्रवाहामा समस्या आएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए। 
जनशक्ति अभावमा अस्पतालको सेवा प्रवाहमा समस्या

कावासोती, पुस ७ : पूर्वी नवलपरासीको कावासोती १६ शहीदनगर डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ। 

पाँच शय्याको स्वीकृति पाएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि ६४ शय्या सञ्चालनमा ल्याइएको भए पनि पूर्वाधार र जनशक्तिको अभावको कारण सेवा प्रवाहामा समस्या आएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए। 

कुल ३१ जनाको दरबन्दी रहेको अस्पतालमा अहिले १३ जना मात्रै दरबन्दीमा कार्यरत रहेका बाँकी करार, छात्रवृत्ति चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिले राखेका कर्मचारीको भरमा सेवा दिँदै आएको सुवेदीले बताए। 

Hardik ivf

सुवेदीका अनुसार हाल अस्पतालमा दरबन्दी, करार, छात्रवृत्ति चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिले राखेका कर्मचारी गरेर एक सय १८ जना कार्यरत रहेका छन्।

जसमध्ये ५४ जना दरबन्दी, छात्रवृत्तिमा आएका चिकित्सक र नर्स र विभिन्न कार्यक्रमका प्राविधिक र अप्राविधिक कर्मचारीबाहेक ६४ जनाको खर्च अस्पताल व्यवस्थापन समितिले व्यहोर्नुपर्ने भएकाले पनि अस्पताललाई थप आर्थिक भार परेको हो।

अस्पतालमा जनशक्ति मात्रै होइन पूर्वाधारको समेत उस्तै समस्या रहेको सूचना अधिकारी सुवेदीको भनाइ छ। अस्पतालसाविकको मध्यबिन्दु सामुदायिक स्मृति अस्पताल जुन धनधाञ्यान्चल ज्ञान महायज्ञ गरेर स्थापना गरिएको थियो त्यसैको पुरानै भवनमै सञ्चालित छ। 

भवन अभावका कारण अस्पतालमा रहेको आइसियु र भेन्टिलेटर सेवासमेत बन्द भएको उहाँले बताए। कोरोना सङ्क्रमणकालमा समेत सञ्चालनमा आएको आइसियु र भेन्टिलेटरका जनशक्ति र भवनको अभावमा बन्द गर्नुपरेको छ। 

अस्पतालमा गत मङ्सिर १३ गतेदेखि मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा सुरु गरिए पनि जनशक्तिको अभावमा एक सिफ्टमा मात्रै सञ्चालनमा आएको छ। डायलाइसिस गर्नुपर्ने ७० जना बिरामी सम्पर्कमा आएको भए पनि जनशक्तिको अभावमा एक सिफ्टमा नौ जनालाई मात्र सेवा दिन सकिएको सुवेदीले बताए। अस्पतालले डायलाइसिस गर्ने चार वटा मेसिनमध्ये तीन वटाबाट एक सिफ्ट मात्रै सेवा दिन सुरु गरेको हो। 

यो अस्पताल क्षयरोग बिरामीको रिफरल सेन्टरसमेत हो। यहाँ क्षयरोग लागेका विरामीलाई आवासीय उपचार पनि हुँदै आएको छ। दामिनी फाउन्डेसनको सहयोगमा निर्मित रिफरल सेन्टरमा अहिले क्षयरोगका १६ जना बिरामीले आवासीय रुपमा उपचार गराउँदै आएका छन्।

जिल्ला अस्पतालमा बिरामीको चाप बढेकाले जनशक्ति र पूर्वाधार थप गर्न प्रदेश र सङ्घीय सरकारसँग आवश्यक पहल भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले बताए। 

'जनशक्ति थप्नका प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौं,' अध्यक्ष घिमिरेले भने। जर्मन संस्था र नेपाल सरकारको संयुक्त लगानीमा अहिले भवन बनिरहेको र त्यसलाई पूरा गर्न करिब रु चार करोड बजेट आवश्यक रहेको र त्यसका लागि पनि प्रदेश सरकारसँग माग गरेको अध्यक्ष घिमिरेले बताए।

प्रकाशित मिति: १२:२२ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्