पर्यटकीय केन्द्र बन्दै पाँचपोखरी नागीथाम डाँडा
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पेमाछल उद्यान केन्द्रको रुपमा विकास गर्दै लगेको छ। अहिले गाउँपालिकाले प्रारम्भिक चरणमा ध्यान केन्द्र, तारा महल र अष्टमणिको चैत्य निर्माणकार्य सम्पन्न गरेको छ। गत महिना त्यहाँ निर्माण गरिएको तारा महल र अष्टमणि चैत्यको उद्घाटन गरिएको छ।सिन्धुपाल्चोक, पुस ६ : जिल्लाको पाचँपोखरी थाङपाल गाउँपालिका–४ मा अवस्थित सुन्दर नागीथाम डाडाँ अहिले पर्यटकीय गन्तव्यका बनेको छ। बाह्रैमास फरफराइ रहेको लुङदार र पञ्चरङ्गी तोरणले नागीथाम डाडाँको शोभा बढाएको हो।
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पेमाछल उद्यान केन्द्रको रुपमा विकास गर्दै लगेको छ। अहिले गाउँपालिकाले प्रारम्भिक चरणमा ध्यान केन्द्र, तारा महल र अष्टमणिको चैत्य निर्माणकार्य सम्पन्न गरेको छ। गत महिना त्यहाँ निर्माण गरिएको तारा महल र अष्टमणि चैत्यको उद्घाटन गरिएको छ।
यस क्षेत्रको विकास गर्न योजना सहित काम भइरहेको गाउँपालिका अध्यक्ष टासी लामाले बताए। उक्त स्थानमा बौद्ध शिक्षासम्बन्धी अध्यापनको अवधारणा पनि रहेको अध्यक्ष लामाले बताए। यस अवधारणालाई मूर्तरुप दिन देश तथा विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय संस्थासँग सहयोग र समन्वयका लागि लामाले अपिल गरेका छन्।
साहसिक खेल प्याराग्लाइडिङको पनि सफल परीक्षण भइसकेको नागीडाँडामा अन्य थुप्रै सम्भावना छन्। यो स्थान समुद्री सतहदेखि दुई हजार चार सय ८० मिटर उचाइमा रहेको छ। यहाँबाट पश्चिममा जुगल हिमशृङ्खलाको मनमोहक दृश्यको अवलोकन गर्न र थाङ्पाल उपत्यका सुन्दर गाउँ रहेको छ। मुख्यतः यहाँ जाडोयाममा पर्ने हिउँसँग रमाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। पर्यटकलाई मनोरञ्जन र खर्च गर्नका लागि अन्य संरचनाको साथै पर्याप्त होटल र होमस्टेको सुविधा आवश्यक रहेको स्थानीय बताउँछन्।
मणि ब्राह्मणको परिचय जीवनगाथासँगै यस ठाउँको परिचय धारणी सूत्र (मन्त्र) मा उल्लेख गरिएको पाइन्छ। यस मन्त्रमा उल्लेख गरेअनुसार दायाँपट्टि सिंह गर्जेको जस्तो बायाँपट्टि हात्ती सुतेको जस्तो र बीचमा शिखर कैलाश रहेको र त्यस स्थानमा पवित्र भूमि समय ताराको बासस्थान हुनेछ भनी उल्लेख गरेको नागीथाम डाँडा संरक्षण समितिका अध्यक्ष फुर्पा सिङ्गी लामाले बताए।
तिब्बतको तान्त्रिक यान तोप्तेन शाक्य श्रीको भतिजा स्वयम्बु दर्शन गर्ने क्रममा यही स्थल हुँदै जानुभएको आलेखहरू भेटिएको लामाले बताउनुभयो। शाक्य श्री यात्रामा खोलाको तीरैतीर जाने क्रममा धुपी पिन्ने घट्ट रहेको र त्यसैमाथि एउटा पवित्रस्थल देखिएकाले त्यस स्थानमा मणि ब्राह्मणको सम्झनामा एउटा चैत्य निर्माण गरेको पनि देख्न सकिने किंवदन्ती छ।
यस स्थानमा पाँचवटा डाकिनी (समय तारा) को बासस्थान रहेको भोट भाषामा लेखिएको पाइन्छ। यस कारण अहिले निर्माण भएको तारा महलमा समय तारा (२१ तारा) राखेको लामाले बताए। यस तारा महलमा दर्शन गर्ने र पूजास्थल हुनेछ भने बाँकी भवनमा बौद्धमार्गीहरू ध्यान गर्ने केन्द्रका रूपमा प्रयोग हुनेछ।