Kathmandu Press

पशुपतिनाथ मन्दिर किन भयाे दिनभर बन्द ?

पशुपतिनाथ मन्दिर किन भयाे दिनभर बन्द ?
Hardik ivf

काठमाडाैं, पुस ५ : प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजापछि आज दिनभर  मन्दिर बन्द गरिएको छ ।
 
धनुर्मास पूजापछि दिनभर मन्दिर बन्द गर्ने प्राचीनकालदेखिको नियम छ । यो पूजापछि भगवान् शिव पनि घाम ताप्न शिवपुरी डाँडामा जानुहुने भएकाले मन्दिर बन्द गरिने गरेको विश्वास छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि  सहभागी हुने विधि छ । पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धूप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रुपमा भने खिचडी अर्पण गर्ने परम्परा छ । धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट खिचडी भोग दिइएको द्वारे पूर्ण डङ्गोलले जानकारी दिए।

पशुपतिनाथमा महाभोगका लागि ब्राह्मणले दुईवटा खँडकुलामा खिचडी बनाउँछन् । एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको खिचडी बनाउने गरिन्छ । अरु बेलामा पशुपतिनाथमा लगाइने भोगमा नुनिलो सामग्री हुन्छ । आज गुलियो र चिल्लो सामग्री चढाउने विधि रहेको पशुपति क्षेत्रका मूर्त अमूर्त संस्कृतिका बारेमा विशेष खोज गरिरहनुभएका कर्मचारी बरुण खतिवडाले जानकारी दिए। पुस महिनाभर सूर्यनारायण धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा बढी भीडभाड नहुने दिनको साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।
 
चान्द्रमास र सौरमास दुवैअनुसार पुस महिना पारेर धनुर्मास पूजाको साइत निकालिन्छ । पहिले पुस महिनामा नौपटकसम्म धनुर्मास पूजा गर्ने गरिएकामा त्यो परम्परा अहिले लोप भइसकेको छ । त्यसबेला भक्तजनले पनि आफ्नो खर्चमा पनि धनुर्मास पूजा गर्न पाउँथे । यो परम्परा पनि अहिले लोप भइसकेको छ । धनुर्मास पूजा गर्नुअघि सोमबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो ।
 
बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

सोमबार रातभर धनुर्मास पूजा गरेपछि आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । आज बिहानैदेखि  बेलुकीसम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिन्छ । बिहान १२ बजेसम्म एउटा ढोका भने खोलिन्छ । उपवासका दिन बिहानै महादेव कैलाश एवं शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत परम्परादेखि रहेको छ । यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाउने परम्परा सुरु भएको हो ।
 
महादेव शिवपुरीडाँडामा घाम तापेर बस्ने विश्वासमा कैलाशमा दिनभर खिचडी बनाएर खाने परम्परा भने विगत १७ वर्षदेखि लोप भएको खोजकर्ता खतिवडा बताउछन। बेलुकी भने महादेव कैलाश, शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा नियमित आरती गरिन्छ । बुधबार बिहानदेखि भने नियमित पूजा आराधना गरी भक्तजनका लागि मन्दिर खुलाइने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, पुस ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्