फोहाेर छुट्याएर संकलन गर्दैै चन्द्रागिरि
नगरवासीलाई घरबाट निस्किने फोहाेरको अधिकांश भाग आफैं व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई ६ वटा अगलअलग झोला वितरण गरिनेछ।
काठमाडाैं, पुस ३ : फोहाेर कुहिने र नकुहिने गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहरलाई छ थरी झोलामा छुट्टाछुट्टै संकलन गर्ने तयारी सुरु गरेको छ।
नगरवासीलाई घरबाट निस्किने फोहाेरको अधिकांश भाग आफैं व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई ६ वटा अगलअलग झोला वितरण गरिनेछ। नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार यसले संकलन हुने फोहरको परिमाण उल्लेख्यरुपमा घटाउन र बाँकी फोहर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न यस्तो कार्यक्रम सुरु गरिएको हो।
यस अन्तर्गत नगरवासीलाई हरियो, रातो, कालो, सेतो, नीलो र पहेंलो गरी ६ प्रकारका झोला वितरण गरिनेछ। साथै उनीहरूलाई हरियो झोलामा तरकारीलगायतका खाद्यपदार्थबाट निस्किएका फोहर राख्न भनिनेछ। सम्भव भएसम्म हरियो झोलामा संकलन हुने फोहरबाट मल बनाउन उत्प्रेरित गर्ने नगरपालिकाको अवधारणा छ।
यसैगरी रातो रङको झोलामा सिसा र सिसाजन्य फोहर राख्न र त्यसलाई आफैंले कवाडीमा बेच्न प्रेरित गरिनेछ। कालो झोलामा प्लाष्टिक र प्लाष्टिकजन्य फोहर राख्ने र त्यसलाई पनि नगरवासी आफैंले बेच्न प्रेरित गरिनेछ।सेतो झोलामा कागज र कागजजन्य फोहर थुपार्ने र त्यसलाई समेत कागज पुनः प्रयोग गर्नेलाई बेच्न प्रेरित गरिनेछ।
फलाम र कवाडीजन्य अन्य सामान थुपार्न निलो रङको झोला उपलब्ध गराइनेछ। त्यसलाई पनि नगरवासी आफैंले बेच्न सक्नेछन्। यसैगरी व्यक्तिगत तवरमा व्यवस्थापन गर्न नसकिने स्यानिटरी प्याड, डाइपर आदि फोहाेरलाई पहेंलो झोलामा संकलन गर्न प्रेरित गरिनेछ।
'कुहिने फोहरमा माटो र धानका भुस र बिरुवाका पात राखेर नगनाउने गरी मल बनाउन सकिन्छ,' नगरपालिकाबाट तयार गरिएको सन्देशमा उल्लेख छ। यसका साथै फोहरलाई संकलक नआएको बेला घरभित्र राख्न र संकलक आएको बेलामा मात्र बाहिर निकाल्न पनि नगरपालिकाले आह्वान गरेको छ।
'कुहिने फोहर मलका रुपमा र नकुहिने फोहर पैसाका रुपमा नगरवासीलाई नै फिर्ता दिने उद्देश्यले यो कार्यक्रम गर्न लागेका हौं,' प्रमुख गिरीले भने।
फोहाेरको प्रकृतिअनुसार छुट्याउनका लागि झोला मात्र वितरण नगरी कुन दिन कुन टोलमा छ वटामध्ये कुन प्रकारको फोहर उठ्छ भन्नेसमेत तय गरिने छ र नगरवासीलाई यसैअनुसार सूचना दिइने नगरपालिकाकी विपद् व्यवस्थापन शाखाप्रमुख भद्रा अर्यालले जानकारी दिए।
उनका अनुसार नगरपालिकाभित्र कुल छ वटा संस्थाले फोहर संकलन गरिरहेका छन्। तिनलाई पनि निश्चित बार निश्चित प्रकारको फोहर मात्र उठाउने गरी प्रशिक्षित गरिनेछ।
घरको फोहर त्यसको प्रकृतिअनुसार अलगअलग भाँडामा संकलन गर्ने बानी लगाउन यसो गरिएको नगरप्रमुख गिरी बताउनुहुन्छ। अहिले प्लाष्टिकको झोलामा अलगअलग फोहर संकलन गर्न लगाउने र पछि विस्तारै बलियो भाडा दिने सोचाइ नगरपालिकाको छ।












