बुटवलको विद्युत् हाइटेन्सन व्यवस्थापन गर्न आग्रह

बुटवल, पुस ३ : बुटवल बजारको विद्युत् हाइटेन्सन व्यवस्थापन गर्न उपमहानगरले विद्युत् प्राधिकरणसँग माग गरेको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाडौँस्थित प्राधिकरणको कार्यालयमा भेट गरी बस्तीमाथि रहेको हाइटेन्सन तारले बस्ती जोखिममा रहेको भन्दै बस्ती बाहिर सार्न आग्रह गरे।
नगरप्रमुख पाण्डेयले बुटवलमा सहरीकरण बढ्दै गएकाले खुला विद्युत् तारहरुका कारण जोखिम बढेको बताउँदै भूमिगत गर्नका लागि योजना अघि सार्न पनि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको ध्यानाकर्षण गराए। उनले जुनसुकै योजना ल्याउँदा बुटवललाई प्राथमिकतामा राख्नसमेत अनुरोध गरे।
नगरप्रमुख पाण्डेयले बुटवलमा उच्च क्षमताका सडक बत्ती राख्न बुटवल उपमहानगरपालिकाले तयारी गरेकाले सहयोग गर्नका लागि प्राधिरणका प्रबन्ध निर्देशक घिसिङलाई आग्रह गरे।
भेटका क्रममा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बस्ती माथिको हाइटेन्सन तार हटाउनका लागि प्राधिकरणले योजना अगाडि बढाउने प्रतिबद्धता जनाए। उनले पाल्पामा सबस्टेसन निर्माण भएपछि बुटवलमा तार व्यवस्थापन र भूमिगत तारका लागि काम अघि बढाउनका लागि योजना ल्याउने विश्वास दिलाएका थिए।
यसैगरी बुटवल उपमहानगरपालिकाका पाण्डेयले सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापासँग विभागको काठमाडौँस्थित कार्यालयमै भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराए।
पटकपटक सहजीकरण र समन्वय गर्दा पनि सडक निर्माणमा तीव्रता नदेखिएकाले बुटवलवासीका तर्फबाट सडक विभागसामु खेद व्यक्त गरेका थिए। भेटघाटका क्रममा महानिर्देशक थापाले सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न विभाग प्रतिबद्ध रहेको बताए। उनले निर्माण कम्पनीलाई छिटो काम सक्न ताकेता गरिरहेको बताउँदै छिट्टै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे।
प्रमुख पाण्डेयले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग भेट गरी विकास निर्माणका कामबारे जानकारीसमेत लिएका छन। उनले ललितपुरबाट सिकेर बुटवलले विकासमा फड्को मार्न सक्ने भन्दै ललितपुर महानगरप्रमुख महर्जनलाई बुटवल भ्रमणको निम्तो दिए।
भेटका क्रममा ललितपुर नगरप्रमुख महर्जनले आफू बुटवल आउन इच्छुक रहेको र बुटवलका राम्रा अभ्यासबाट ललितपुरले सिक्ने बताए। उनले ललितपुर र बुटवलका बीचमा सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताए।












