Kathmandu Press

दुई वर्षमा फेरिएको ७५ वर्ष पुरानो वाल्मीकि क्याम्पस

वाल्मीकि नयाँ कलेवरमा चिटिक्क देखिएको मात्र छैन, नेतृत्वमा इच्छाशक्ति भए बदल्न बेर लाग्दैन भन्ने कथनको गतिलो उदाहरणसमेत बनेको छ। 
दुई वर्षमा फेरिएको ७५ वर्ष पुरानो वाल्मीकि क्याम्पस

काठमाडौं मंसिर २१ : पुरानो फलामको गेट। गेटैअगाडि दुर्गन्धित ढल। त्यहीँ नै फोहोरको थुप्रो पनि। जीर्ण भवनका छानामा पुराना झिँगटीकाे टायल। बर्खामा पानी चुहिने। रङ उडेर फिका बनेका काठे झ्यालहरू। झ्यालका सिसा सबै फुटेका।

दुई वर्षअघिको वाल्मीकि विद्यापीठ (संस्कृत क्याम्पस) चिनाउने शब्दचित्र हो यो। फिल्म सुटिङ सकिएपछि अलपत्र परेको सेटजस्तो हिजोको वाल्मीकि आज भव्य रूपमा फेरिएको छ। त्यसकारण वाल्मीकि नयाँ कलेवरमा चिटिक्क देखिएको मात्र छैन, नेतृत्वमा इच्छाशक्ति भए बदल्न बेर लाग्दैन भन्ने कथनको गतिलो उदाहरणसमेत बनेको छ। 

७५ वर्ष पुरानो भवन ७२ सालको भूकम्पले भत्काएपछि वाल्मीकिको बिजोग भएको थियो। तर अहिले बदलिएको वाल्मीकि सुन्दर देखिएको छ। दुई वर्षको अन्तरालमा वाल्मीकिले यस किसिमको नयाँ स्वरूप ग्रहण गर्नुको श्रेय कसैलाई दिइन्छ भने ती व्यक्तित्व हुन् सोही विद्यापीठमा हाल नेतृत्व सम्हालिरहेका प्राचार्य प्रा.डा. भागवत ढकाल।

320559933_1838691216480297_2975173489905431942_n1671358450.jpg

‘२३ वर्षअघि प्राध्यापकका रूपमा वाल्मीकि क्याम्पनसँग जोडिएको हुँ। २०७७ फागुन १३ गते प्राचार्य बन्ने अवसर पाएँ। त्यसपछि वाल्मीकिको मुहार फेर्न अभियान थालें,’ प्राचार्य ढकाल भन्छन्, ‘वाल्मीकि विद्यापीठ उपत्यकाकै पुरानो संस्कृत क्याम्पस हो। संरक्षण गर्नु अति जरुरी छ। त्यसकारण निर्माण तथा मर्मतको अभियान थालिएको थियो। केही हदसम्म सफलता मिलेको आभास भएको छ।’ प्रमुख पदमा बसेको दुई वर्ष बित्दानबित्दै विद्यापीठको मुहार फेर्न प्राचार्य ढकाल सफल भएका हुन्। 

वाल्मीकि विद्यापीठ अर्थात् संस्कृत क्याम्पस काठमाडौं महानगरपालिका–२८ प्रदर्शनीमार्गमा पर्छ। कुनै अव्यवस्थित कारखानाजस्तो देखिने भवनलाई मर्मतसम्भार, रङरोगनलगायत अन्य कार्य गरी व्यवस्थित बनाइएपछि सो विद्यापीठ अहिले सुन्दर बन्न पुगेको हो। 

यसरी जन्मिएको थियो संस्कृत विद्यापीठ (वाल्मीकि क्याम्पस)

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९३९ सालमा राजराजेश्वरी पाठशाला स्थापना गरे। सोही पाठशाला १९४२ मा रानीपोखरी पाठशालामा रूपान्तरित भयो। त्यहीबेला काठमाडौं उपत्यकामा संस्कृत भाषाको पठनपाठन आरम्भ भएको पाइन्छ। १९९० सालमा भारतको वाराणसीस्थित ‘गभर्नमेन्ट संस्कृत कलेज’बाट सम्बन्धन लिई यहाँ उच्च तहको अध्ययन हुन थालेको थियो।

२००४ सालदेखि संस्कृतका अतिरिक्त आधुनिक विषयको पठनपाठन हुन थाल्यो। ‘राजकीय संस्कृत महाविद्यालय’, ‘वाल्मीकि संस्कृत महाविद्यालय’ हुँदै २०३० सालमा यस क्याम्पसको नाम ‘वाल्मीकि विद्यापीठ’ रहन गएको हो। २०४३ सालदेखि ‘नेपाल संस्कृत विश्वविद्यालय’को आंगिक विद्यापीठका रूपमा यो सञ्चालन हुँदै आएको छ। 

भौतिक संरचना र विषयगत विभागहरू

साढे १४ रोपनी क्षेत्रफलमा बनेको यो क्याम्पसमा तीनवटा भवन छन्। एउटा भवन २००४ सालमै बनेको हो भने बाँकी दुई भवन ३० वर्षअघि बनेका हुन्। एउटा भवनमा प्रशासनिक कामकारबाही हुन्छ भने अर्कोमा पुस्तकालय रहेको छ। प्रशासन सञ्चालन गरिएको भवनमा केही कक्षाकोठा पनि छन्। एउटा भवनमा कक्षाकोठा मात्र छन्। सबैतिर गरी ७५ वटा कक्षाकोठा त्यहाँ रहेका छन्। 

वाल्मीकिमा १७ वटा विषयमा स्नाकोत्तर (आचार्य) अध्ययन गराइन्छ। सोही हिसाबले १७ वटा विभाग रहेको प्राचार्य ढकाल बताउँछन्। ‘वेद, व्याकरण, न्याय, ज्योतिष, साहित्य, सिद्धान्त ज्योतिष, फलित ज्योतिष, इतिहास, पुराण, कर्मकाण्डलगायत विषयमा अध्ययन गराइन्छ,’ उनले भने, ‘यी सबै विषयका आ–आफ्नै विभाग छन्।’ 

320228956_718294039522814_4994290533501832560_n1671358451.jpg

विभागका प्रमुख बस्ने कोठामा सोफा, कम्युटर, टेबलसमेत गतिला थिएनन्। अहिले विभागीय प्रमुखको कक्षाकोठामा सामान्य भए पनि कम्युटर, टेबल, कुर्सी राखिएको प्राचार्य ढकाल बताउँछन्। ‘सबै परिवर्तन विद्यापीठको एक्लो प्रयासले भएको होइन, कतिपय सहयोग महानगरको छ,’ उनले भने, ‘अन्य संघसंस्थाको पनि सहयोग छ। सबैको सहयोगमा क्याम्पसको स्वरूप बदल्न सकेको हौं।’ 

प्राचार्य ढकालका अनुसार अहिले विद्यापीठमा १२ सयको हाराहारीमा विद्यार्थी अध्ययरत छन् भने शिक्षक, शिक्षिका, प्रसाशनिक कर्मचारी, कार्यालय सहयोगी गरी १६५ जनशक्ति छन्। छात्रावास पनि रहेको हुँदा शिक्षक–कर्मचारी संख्या धेरै भएको उनको भनाइ छ। 

प्राचार्य ढकाल हरेक दिन बिहान ८ बजे क्याम्पस आइपुग्छन्। उनी आएर नियमनुसार काम भएका छ कि छैनन् भनेर रेखदेख र निरीक्षण गर्छन्। आफूले लामो समय काम गरेको क्याम्पसको संरक्षण गरेर सुन्दर बनाइराख्नुपर्छ भन्ने उनको बुझाइ छ। 

महानगरकाे सहयाेगमा ढल र फोहोर व्यवस्थापन 

विद्यापीठ अगाडि अव्यवस्थित रूपमा ढल बग्थ्यो। बेलाबेलामा ढल जाम हुँदा क्याम्पसमा दुर्गन्ध फैलिन्थ्यो। उक्त समस्या समाधानका लागि महानगरसँग सहकार्य गरिएको उनी बताउँछन्। ‘महानगरमार्फत ढल खुलाउने काम भयो,’ उनले भने, ‘विद्यापीठको ढल खुलाउने क्रममा सिटी सेन्टर (राष्ट्रिय सभागृह) सम्मको ढल सफा भयो।’ 

वाल्मीकि विद्यापीठको गेटअगाडि सधैं फोहोरको डंगुर हुन्थ्यो। प्रदर्शनीमार्गको तरकारी पसलेदेखि होटल व्यवसायीसम्मले गेट अगाडि फोहोर थुपार्थे। विभिन्न सञ्चारमाध्यम र व्यक्तिको सहयोगमा काठमाडौं महानगरपालिसमक्ष फोहोरले निम्त्याएको समस्याबारे सुनाएपछि फोहोरको समस्या दूर गराउन सम्भव भएको उनी बताउँछन्। ‘महानगरबाट निर्णय नै गराएर फोहोर हटायौं,’ प्राचार्य ढकालले भने, ‘महानगरको सहयोगमा फोहोर फाल्न मनाही लेखिएको बोर्ड राख्यौं, अहिले बल्लबल्ल फोहोर फाल्न बन्द भएको छ।’ 

319575093_547217343670554_4129779148858480774_n1671358451.jpg

शैक्षिक स्थलको फुटपाथमा फोहोर फ्याँक्न नहुने भनेर महानगरले पनि सहजै सहकार्य गरेको उनी बताउँछन्। गेटबाहिरको फोहोर र ढल व्यवस्थापन गरेपछि मात्र भित्री संरचना निर्माणमा लागेको उनले बताए। ‘क्याम्पस प्रवेश गरिसकेपछि केही भागमा पानी पर्दा हिलाम्मे हुने सुक्खायाममा धुलाम्मे बन्ने गथ्र्याे। सो अवस्था न्यूनीकरण गर्न सर्वप्रथम ब्लक ओछ्यायौं,’ उनले भने, ‘क्याम्पसभित्र प्रवेश गर्नासाथ भत्किन लागेको भवन, सिसा फुटेको झ्याल र रङ उडेका ढोका देखिन्थे। अहिले सबै मर्मत गरेपछि राम्रो भएको छ।’ 

ब्लक ओछ्याउने कार्यदेखि पार्किङ र कोर्ट निर्माणसम्म

विद्यापीठ प्रवेश गर्ने ठाउँमा ब्लक ओछ्याउने, खानेपानीको प्लान्ट बनाउने, ५०/६० वटा दुईपांग्रे सवारी राख्ने पार्किङ र बास्केटबल कोर्टसम्म बनाइएको उनले बताए। त्यसका लागि वडा कार्यालयको सहयोग रहेको उनले जानकारी दिए।

‘हामीले वडालाई बजेट दिनुको सट्टा काम गरिदिन आग्रह गर्‍यौं। सोहीअनुसार वडा कार्यालयले सहयोग गरेको हो,’ प्राचार्य ढकालले भने।

320081965_1359369254814298_7216950692562360100_n1671358449.jpg

उनका अनुसार पहिले पानी पर्दा हिलो कुल्चिँदै कक्षाकोठामा प्रवेश गर्नुपर्ने बाध्यता थियो, अहिले ब्लक ओछ्याइएकाले सहज बनेको छ। सीमिति सवारीसाधन क्याम्पस परिसरमै पार्किङ गर्न मिल्ने व्यवस्थासमेत गरिएको उनी बताउँछन्। ‘बास्केटबलको कोर्ट बनाउने काम भर्खरै सकिएको छ,’ उनले भने, ‘यी सबै काम वडाले कति बजेटमा गर्‍यो भन्ने जानकारी त छैन, वडाले नै सबै खर्च बेहोरेर काम गरिदिएको हो।’ वडाले तीन चार स्थानमा रात्रिकालीन ‘सेन्सर लाइट’समेत जडान गरिदिएको उनले जानकारी दिए। 

छाना छाउन, ढलान गर्न र रङ लाउन ५० लाख रुपैयाँ बजेट 

विद्यापीठको छाना मर्मत गर्न, रङ लाउन, ढलान–प्लास्टर गराउन संस्कृत विश्वविद्यालयबाट ५० लाख रुपैयाँ बजेट प्राप्त भएको उनले बताए। ‘पुरानो भवन पानी पर्दा चुहिन्थ्यो। छानामा घाँस उम्रिएको थियो। त्यसका लागि ५० लाख खर्च लाग्ने अनुमान गरेका थियौं। सोहीअनुसार विश्वविद्यालयबाट ५० लाख रुपैयाँ बजेट प्राप्त भई टेन्डर गरेर काम पूरा गर्‍यौं,’ प्राचार्य ढकालले भने । टेन्डर गर्दा १५ लाख मात्र खर्च भएको उनले बताए।

आर्थिक वर्ष २०७७/७८ मा छानो छाउने, झ्यालढोकामा रङ लाउने, क्याम्पसका ३१ वटा सटरमा जस्ता हटाएर ढलान गर्ने काम भएको उनले बताए। छानामा झिँगटी टायल नपाएर ठुलो टायल हालेको उनी बताउँछन्। ‘पुराना टायल रंगाएर संरक्षणसमेत गर्‍यौं, कक्षाकोठामा फलामका डन्डी भाँचिएका थिए, मर्मत गर्‍यौं,’ उनले भने, ‘पहिलाको काम राम्रोसँग गरिएकाले प्रवेश गेटका लागि विश्वविद्यलयले पुनः रकम दियो। उक्त ५० लाखको बजेट पूर्ण खर्च नभएकाले अन्य काममा त्यसको सदुपयोग गर्दै आइरहेका छौं।’ सुविधायुक्त शौचालय निर्माणमा पनि विश्वविद्यालयकाे उल्लेखनीय सहयाेग रहेकाे छ।

प्रवेश गेट निर्माणका १३ लाख रुपैयाँ 

क्याम्पसको मुख्य प्रवेश गेट फलामको थियो। त्यसलाई परिवर्तन गर्न आर्थिक वर्ष २०७८÷७९ मा १३ लाख रुपैयाँ विश्वविद्यालयले बजेट दिएको थियो। लुक्ला निर्माण सेवाले ११ लाख रुपैयाँमा टेन्डर पारेर गेट बनाएको हो। अहिले इँटा, काठ र फलाम राखेर सवारीसाधन मिल्नेगरी एउटा ठुलो गेट र मानिस प्रवेशका लागि अर्को सानो गेट बनाइएको प्राचार्य ढकालले जानकारी दिए। पछाडिका भागमा पनि सोहीअनुसार गेट बनिरहेको उनले बताए। 

ट्रस निर्माणका लागि ५४ लाख रुपैयाँ 

प्रशासनिक भवनको माथिल्लो भागमा ट्रस निर्माण भइरहेको छ। उक्त ट्रस निर्माणमा विश्वविद्यालयले ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। वडा इन्जिनियर र अन्य विज्ञसँग सल्लाह गर्दा त्यति रकम लाग्ने अनुमान गरिएको थियो। सोहीअनुसार बजेट माग गरिएको प्राचार्य बताउँछन्।

‘टेन्टर प्रक्रियामा जाँदा ट्रस ३५ लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको छ,’ उनले भने, ‘ट्रस निर्माणपछि प्राचार्य कक्ष र सभाहल बनाउने र दर्ता चलानीको विभिन्न कोठालाई त्यहाँ केन्द्रित गरेर सेवा दिने योजना छ।’ 

‘मर्यादा’को पुनः प्रकाशन 

विद्यापीठमा लामो समयदेखि ‘मर्यादा’ शीर्षकको पुस्तक (जर्नल) निस्कँदै आए पनि २०६७ सालदेखि बन्द थियो। त्यसलाई पुनः प्रकाशनमा ल्याइएको प्राचार्य ढकालले बताए। वार्षिक रूपमा प्रकाशन हुने उक्त जर्नलमा विज्ञहरूका अनुसन्धानमूलक लेखरचना प्रकाशन गरिन्छ। उक्त पुस्तक संस्कृत विषयमा जान्न चाहनेहरूका लागि निकै प्रभावकारी हुने गरेको उनको भनाइ छ। 

320274706_515288740665521_7933515176671851647_n1671358449.jpg

बन्द भएको ११ वर्षपछि अर्थात् २०७८ असारबाट ‘मर्यादा’ पुनः प्रकाशन हुन थालेको हो। विज्ञहरूका अनुसन्धानमूलक सामग्रीलाई मात्र स्थान दिइने भएकाले त्यसलाई ‘विज्ञ समीक्षित अनुसन्धानात्मक जर्नल’ पनि भनिन्छ। अनुसन्धानमूलक हुने भएकाले जर्नल प्रकाशन आवश्यक भएकाले पुन प्रकाशन गरिएको हो।

उक्त जर्नलमा प्राध्यापकले लेखकहरु मात्र छन्। अनुसन्धान व्यवस्थापन परिसर समिति गठन गरिएको छ। समाजसँग जोडिएर अनुसन्धान गर्न तालिमलगायत विद्यार्थीलाई सिकाउन समिति गठन गरिएको छ। स्नाकोत्तरमा विद्यार्थीले अनुसन्धान गरेर अध्ययन गर्न सकून् भनेर जर्नल प्रकाशनमा जोड दिइएको प्राचार्य ढकालको भनाइ छ ।

छात्रावास भवन निर्माण

वाल्मीकि विद्यापीठमा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रावासको व्यवस्था छ। क्याम्पसको स्थापनाकालदेखिको छात्रावास भवन पुनर्निर्माण र रङरोगन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। दरबारमार्गस्थित छात्रावासमा १११ जनासम्म बस्न मिल्ने व्यवस्था छ। 

‘राम्रो अध्ययन गर्ने र लिखित तथा मौखिक परीक्षा पार गर्नेहरू छात्रावासमा निःशुल्क बस्न पाउँछन्,’ उनले भने, ‘छात्रावासमा अहिले पुरुष मात्र छन्। छात्रावासको कक्षाकोठामा रङ लगाउने काम भइरहेको छ।’ छात्रावासलाई पुनर्निर्माण गरिहाल्नुपर्ने अवस्थामा छ। त्यसलाई रंगाउने काम भइरहेको छ। छात्रावासलाई सुविधायुक्त बनाउने विषयमा छलफल भइरहेको उनले बताए। 

५० हजार पुस्तकको संरक्षण 

वाल्मीकिको तीनवटा भवनमध्ये पुस्तकालय २०७२ को भूकम्पले पूर्ण रूपले क्षति पुर्‍याएको छ। जहाँ ५० हजारभन्दा बढी पुस्तक छन्। वेददेखि लिएर अन्य महत्वपूर्ण पुस्तकहरु कपडामा पोको बनाएर राखिएका छन्। 

पुस्तकालय भवन निर्माणका लागि विश्वविद्यालय, शिक्षा मन्त्रालय, योजना आयोगमा समेत प्रतिवेदन बुझाइएको छ। त्यसैले बिस्तारै निर्माण हुने अपेक्षा गरिएको छ। ‘पुस्तक संरक्षणका लागि भवन निर्माण अत्यावश्यक छ,’ उनले भने, ‘छिट्टै निर्माण हुने अपेक्षा छ।’ ्

याे पनि

‘संस्कृत ब्राह्मण समुदायले मात्र पढ्नुपर्छ भन्ने भ्रम हटिसक्यो’

जहाँ ५२ वर्षको इतिहासमा महिला, दलित र जनजाति पढ्नै आएका छैनन्  

जहाँ ५० छात्राले संस्कृत पढ्छन् तर महिनावारी हुँदा पुस्तक छुँदैनन्

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, पुस ३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्