जहाँ ५२ वर्षको इतिहासमा महिला, दलित र जनजाति पढ्नै आएका छैनन्
स्थापना कालदेखि यहाँ पुरुषले मात्रै पढेका छन्, पुरुषमा पनि दलित र जनजातिले यहाँ पढेको इतिहास छैन । विद्यालय भन्छ– महिलालाई राख्ने छात्रावास छैन, दलित र जनजाति आएकै छैनन् ।
काठमाडौं, भदौ ३१ : पशुपति क्षेत्रमा रहेको छ, नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय । १५ भदौको बिहान त्यहाँ पुग्दा कर्मचारी तथा शिक्षक छलफलमा व्यस्त थिए । प्रवेश गर्नासाथ हामीलाई सोधियो, ‘भर्ना गर्न आउनुभएको हो ?’
‘होइन’ भन्ने उत्तर पाएपछि विद्यालयका प्रशासनिक सह–सहायक नारद भट्टले हँसिलो अनुहारमा भने, ‘अध्ययनका लागि आउनुभएको हो कि भन्ने लाग्योे ।’
तर, यस विद्यालय स्थापनाको ५२ वर्षको इतिहासमा यहाँ महिला भर्ना हुन आएको उनलाई थाहा छैन । कतै यसपालि महिला पो आए कि भन्ने उनलाई लागेछ । ‘महिलालाई पढाइन्छ कि पढाइँदैन भनेर सोधपुुछका लागि पनि निकै कम आउँछन्,’ उनले भने, ‘महिला छात्रावासको सुविधा नभएकाले होला, महिला पढ्न आएका छैनन् ।’
त्यत्तिकैमा दुई पुरुष प्रवेश गरे ।
ओखलढुंगाका मित्रराज सुवेदी उहीँको संस्कृत विद्यालयबाट एसइई सकेर थप अध्ययनका लागि यहाँ आएका रहेछन् । मित्रराज भन्छन्, ‘विद्यालय तहमा संस्कृत अध्ययन गरेकाले उच्च शिक्षाका लागि काठमाडौं आएको हुँ ।’
सह–सहायक भट्टले आवश्यक कागजात बुझेर उनको भर्ना गरिदिए ।
कक्षा ४ देखि कक्षा १२ सम्म अध्ययन हुने यस विद्यालयमा वेद, व्याकरण, ज्योतिष लगायत पूर्वीय वाङ्मय साथै नेपाली, अंग्रेजी, गणित, सामाजिक आदि आधुनिक विषय अध्ययन गराइन्छ । यस विद्यालयका विद्यार्थी २०४३ देखि प्रवेशिका परीक्षामा सहभागी हुँदै आएका छन् ।
छात्रावासको नियम
अनौठो त यहाँ, डेस्कबेन्चमा होइन, कार्पेट ओछ्याइएको भुइँमा चकटीमाथि बसाएर पढाइन्छ । गुरु केही माथिको आसनमा बस्ने र शिष्य केही तल भुइँमा बसेर पढ्ने गुरुकुलको संस्कार हो । विद्यार्थीहरु दौरा–सुरुवाल त्यसमाथि ढाकाटोपी लगाएर मन्दिरमा प्रवेश गरेझैँ जुत्ता–चप्पलबाहिर खोलेर कक्षाकोठामा प्रवेश गर्नुपर्छ ।
यहाँ दिवा पठनपाठन हुने एक, कार्यालय प्रयोजनका लागि एक, विद्यार्थीको आवासका लागि तीन, कर्मचारीको आवासका लागि एक भवन छन् । त्यस्तै, भोजनालय, यज्ञशाला र विद्याकी देवी सरस्वतीको मन्दिर पनि यहाँ रहेका छन् ।

छात्रावासमा १६ कोठा छन् भने, अध्यापनका लागि ११ कोठा प्रयोग हुन्छन् । यहाँको छात्रावासमा एक सय ८ विद्यार्र्थी मात्र राख्ने व्यवस्था छ । यस बाहेकका विद्यार्थी घर वा डेरादेखि आएर पढ्छन् ।
छात्रावासमा बसेर अध्ययन गरेपछि पनि वार्षिक परीक्षामा पहिलो श्रेणीमा पास हुनुपर्छ । त्यसो नभए आवासीय सेवा स्वतः खारेज हुने विद्यालयको नियम छ । भट्ट भन्छन्, ‘यो नियम पहिलेदेखिकै हो ।’
शुल्क
विद्यालयका अनुसार, अहिले ११ र १२ कक्षाको भर्नाका लागि तीन हजार रुपैयाँ शुल्क लाग्छ । कक्षा ४ देखि १० सम्म वार्षिक रूपमा दुई हजार रुपैयाँ शुल्क तिरे पुग्छ ।
यहाँ ११ र १२ कक्षा दुई वर्ष अगाडिदेखि मात्र सुरु भएको हो । पछिल्लो समय प्रत्येक जिल्लाबाट एक विद्यार्थी अनिवार्य गराउन पहल गरिएको विद्यालयको भनाइ छ । त्यसो त कुनै जिल्लाबाट दोहोरिएका पनि छन् । यस वर्ष दुई सय १० देखि दुई सय २५ सम्म विद्यार्थी हुने विद्यालयको अनुमान छ । ११ कक्षाको भर्ना समय चलिरहेका कारण यो संख्या अझ बढ्ने अनुमान गरिएको छ ।
यहाँको भौतिक संरचना पुरानै छ । केही भवन तथा कक्षाकोठा थप गर्न नसकिएको भट्ट बताउँछन् । यस विद्यालयमा १२ कर्मचारी र १३ शिक्षक छन् ।
महिला, दलित र जनजाति शून्य
पछिल्लो समय संस्कृत शिक्षामा चासो राख्ने र पढ्न चाहनेको संख्या बढेको छ । ‘संस्कृतसँगै आधुनिक विषय पनि समावेश भएकाले पछिल्लो चरणमा युवा पुस्ताको रुचि बढेको छ,’ विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पोखरेल भन्छन्, ‘सामान्यतः १० कक्षासम्म अध्ययन गरे पनि विवाह, व्रतबन्ध, पूजापाठ गर्न सक्ने हुन्छन् ।’

संस्कृत शिक्षा लिने बेरोजगार हुनुनपर्ने उनको भनाइ छ । पछिल्लो समय स्थानीय तहमै संस्कृत विद्यालय खुल्न थालेका छन्, त्यहाँ शिक्षक चाहिन्छ । पोखरेलका अुनसार, यहाँ पढेका २०÷२५ भन्दा बढी नेपाल संस्कृत विश्व विद्यालयमा प्राध्यापकका रूपमा गइसकेका छन् । त्यस्तै, यहाँ पढेर वाल्मीकि कलेजमा शिक्षक हुन जानेहरु पनि छन् । संस्कृत पढ्नेले नेपाली सेनामा पनि पुजारी समूहमा जागिर खान सक्छन् ।
पछिल्लो समय गाउँ समाजमा कर्मकाण्डी काममा पनि पढेका युवा पुस्तालाई विश्वास गरिन्छ ।
यहाँ अहिलेसम्म पुरुषले मात्रै पढेका छन्, पुरुषमा पनि दलित र जनजातिले यहाँ पढेको इतिहास छैन । वेद अध्ययनका लागि शुद्ध शाकाहारीसहित धेरै धार्मिक पाटोलाई पालना गर्नुपर्छ ।
आवासीय भवन नभएकाले महिलालाई नराखिएको विद्यालयको भनाइ छ । तर, दलित र जनजाति ? प्रधानाध्यापक पोखरेल भन्छन्, ‘दलित र जनजाति आएकै छैनन् । आगामी दिनमा आए भने पढाउँछौँ ।’
यस विद्यालयले ‘कर्म काण्ड प्रशिक्षण’ पनि दिने गरेको छ । दुई घन्टाको कक्षामा ३० जना उपस्थित हुन्छन् । ‘१५ वर्षदेखि ६० वर्षको उमेर समूहका व्यक्ति प्रशिक्षण लिन आउँछन्,’ उनले भने, ‘६ महिने कोर्स हुन्छ । मासिक एक हजार शुल्क लिइन्छ ।’
स्थापना
विद्यालयको स्थापना २०२६ सालमा भएको हो । वेदपाठ, रुद्रीपाठ, चण्डीपाठ तथा कर्मकाण्डीय आवश्यकता पूर्तिका साथै पूर्वीय वाङ्मयमा अन्तर्निहित ज्ञान र विज्ञानको विशाल भण्डारभित्र प्रवेशका लागि योग्य जनशक्ति उत्पादन गर्नु यस विद्यालयको स्थापनाकालीन उद्देश्य देखिन्छ ।
२०२६ मा तत्कालीन राजा महेन्द्रले गुरुकुलका रूपमा यसको सुरुवात गरेका थिए । स्थापनाको झन्डै ५ वर्षपछि तत्कालीन रानी ऐश्वर्याको जन्मोत्सवको दिन पारेर २२ कात्तिक २०३१ बाट यस विद्यालयले मान्यता प्राप्त गरेको हो । यस विद्यालयबाट प्रकाशित ‘ब्रह्मबिन्दु पुस्तकका अनुसार, विद्यालय स्थापनाकालमा यहाँ २७ विद्यार्थीलाई बस्ने व्यवस्था गरिएको थियो । ‘२०५८ मा उक्त संख्यालाई बढाएर ७५ हुँदै हाल एक सय आठ आवासीय सुविधा पु¥याइएको छ,’ प्रधानाध्यापक पोखरलले भने ।

स्थापनाकालीन अवस्थामा विद्यालय सञ्चालनका लागि ४९ रोपनी जमिन छुट्ट्याइएको थियो । यसबाट विश्वविद्यालयसम्मको संस्कृत शिक्षा अध्ययनको केन्द्र बनाउने तत्कालीन उद्देश्य रहेको पनि स्पष्ट देखिन्छ, तर हाल आएर विद्यालयको जग्गा जम्मा २१ रोपनीमा सीमित भएको छ ।
२०५६ साउनदेखि विद्यालय संरक्षण एव सञ्चालनसम्बन्धी सम्पूर्ण जिम्मेवारी पशुपति विकास कोषले वहन गर्दै आइरहेको प्रधानाध्यापक पोखरेलको भनाइ छ ।
२०५२ सालअघिसम्म विद्यालय सञ्चालक समितिको व्यवस्था थिएन । स्थापनादेखि २०५० सम्म पण्डित श्यामलाल घिमिरे नेपाल वेदविद्याश्रमका प्रधानाध्यापक थिए । प्रधानाध्यापक पोखरेल भन्छन्, ‘अहिले पनि साउन २१ गतेदेखि विद्यालय अध्यक्षविहीन छ ।’
पाँच वर्षमा ९८० विद्यार्थी
०७२ सालअघि वार्षिक दुई सयदेखि दुई सय ५० को हाराहारीमा विद्यार्थी संख्या पुगेको सह–सहायक भट्ट बताउँछन् । विगत पाँच वर्षमा यहाँ नौ सय ८० विद्यार्थीले अध्ययन गरेका छन् ।
आर्थिक वर्ष ०७३ मा एक सय ९६, ०७४ मा एक सय ८७, ०७५ मा एक सय ७२, २०७६ मा दुई सय, ०७७ मा दुई सय १५ विद्यार्थीले अध्ययन गरेका थिए ।
पुनर्निर्माणमा ४ करोड
विद्यालयको भवन पुनर्निर्माणका लागि चार करोड बराबर रकम छुट्ट्याइएको पशुपति क्षेत्र विकास कोषको भनाइ छ । धार्मिक गुरुकुल भएका कारण पुरातत्त्व विभागले डिजाइन पारित गरिदिनुपर्छ । जसकारण लामो समय छलफलमै लागेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा बताउँछन् । ‘कोभिड प्रभाव लगायत अन्य कारणले ढिलाइ भएको हो । आगामी दिनमा भौतिक संरचना बढाउने योजना छ,’ उनले भने ।
आम्दानी र खर्च
पछिल्लो विद्यालयलाई दुई वर्षमा तीन करोड ८० लाख ७८ हजार दुई सय ७९ आम्दानी भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा एक करोड ६६ लाख १९ हजार दुई सय ६३ रुपैयाँ र ०७६÷७७ मा दुई करोड १४ लाख ५९ हजार १६ रुपैयाँ आम्दानी भएको थियो । पशुपति क्षेत्र विकास कोषबाट नियमित निकासा, कोषबाटै उपदान सुविधा र विद्यार्थीको भर्ना लगायत अन्य स्रोतबाट विद्यालयलाई आम्दानी हुन्छ।
आम्दानी सबै खर्च भएको विद्यालयको तथ्यांक छ ।


तस्बिरहरु : सुजल बज्राचार्य / काठमाडाैं प्रेस



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)