Kathmandu Press

‘संस्कृत ब्राह्मण समुदायले मात्र पढ्नुपर्छ भन्ने भ्रम हटिसक्यो’

यहाँ शास्त्री र आचार्य तहमा अहिले एक हजार विद्यार्थी अध्ययनरत छन् । दलित, ब्राह्मण, जनजाति, महिला लगायतले संस्कृत अध्ययन गरिरहेका छन् ।

काठमाडाैं, असार ४ : बिहीबार (वैशाख ८) दिउँसो काठमाडौंको वागबजार प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ (क्याम्पस)को एक कक्षा कोठामा छात्रछात्रा संस्कृतका श्लोक भनिरहेका थिए । शास्त्री (स्नातक) पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीले सामूहिक रूपमा श्लोकको अभ्यास गरिरहेका रहेछन् ।

शास्त्री पहिलो वर्षमा अध्ययनरत २४ वर्षीय कल्याण खरेल श्लोक भन्दै थिए :

काक चेष्टा, बको ध्यानं, स्वान निद्रा तथैव च ।
अल्पहारी, गृहत्यागी विद्यार्थी पंच लक्षणं ।

Hardik ivf

अर्थात्, कागजस्तो चनाखो, बकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो निद्रा, थोरै खाने र गृहस्थी सुख त्याग, यी पाँच लक्षण विद्यार्थीमा हुनुपर्छ ।

गाउँमा गरिने धार्मिक अनुष्ठानमा पण्डितले संस्कृतका श्लोकलाई सरल किसिमले अथ्र्याएको देखेर कल्याण लोभिएका थिए । पछि आफूले पनि गाउँमा पण्डित्याइँ गर्ने सपना बुनी कक्षा ४ देखि ‘श्री नेपाल वेदविद्या आश्रम’बाट संस्कृत अध्ययन गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘कर्मकाण्ड गर्ने मात्र संस्कृत हो भन्ने बुझाइ छ । तर, संस्कृत त्यस्तो भाषा हो, जहाँबाट अन्य धेरै भाषा उत्पत्ति भएका छन् ।’  

केही विद्यार्थी क्याम्पस प्रांगणको चौरमा, कोही शीतल छहारीमा बसेर अध्ययन गरिरहेको देखिन्थ्यो । कक्षा कोठामा श्लोक अभ्यास गर्नेमा युवादेखि वृद्धवृद्धा समेत थिए । तीमध्ये कपीमा लेखिएको श्लोकलाई पटक–पटक वाचन गरिरहेकी थिइन्, ६४ वर्षीया शान्तादेवी मानन्धर श्रेष्ठले ।

६ महिना संस्कृत भाषा सिकेर शास्त्री पहिलो वर्षमा अध्ययन गर्न आएकी शान्तादेवी पूर्वकर्मचारी हुन् । एक वर्षअगाडि जागिरबाट अवकाश लिएकी शान्तादेवीलाई दिन बिताउन मुस्किल बन्दै गयो । समय बिताउन उनले नेपाली भाषामा उल्था गरिएको ‘भागवत गीता’ पढ्न थालिन् । ‘भागवत गीता पढ्दा मन शान्त हुन्थ्यो । त्यसैले संस्कृत भाषामा पढ्ने रहर बढ्यो,’ शान्तादेवी भन्छिन्, ‘भर्खर संस्कृत भाषा सिक्दै गरेकाले प्रस्ट आइसकेको छैन, प्रयास गरिरहेकी छु ।

यहाँ विभिन्न विद्यार्थीले विभिन्न उद्देश्यसहित संस्कृत पढिरहेका छन् । शास्त्री पहिलो वर्षमा अध्यनरत २४ वर्षीय सुरेन्द्र खरेल संस्कृत भाषा बुझ्नका लागि पढ्दै रहेछन् । ‘संस्कृत देव तथा मातृभाषा मात्रै होइन, भाषाको सागर नै हो,’ उनी भन्छन्, ‘संस्कृत जबसम्म जानिँदैन, तबसम्म कुनै पनि भाषाको अर्थ बुझिँदैन । संस्कृत सरल भाषा हो । संस्कृत भाषाबाटै मानिसले भगवानको नाम उच्चारण गर्छन् ।’

वाल्मिकी विद्यापीठका प्रमखु भागवत ढकाल।

सुरेन्द्रले बाल्यकालदेखि संस्कृत पढेका होइनन् । प्लस टुपछि शास्त्री पहिलो वर्षमा भर्ना भएको उनी बताउँछन् ।

यस क्याम्पसमा शास्त्री र आचार्य (स्नातकोत्तर) मा गरी अहिले एक हजार विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख प्रा.डा. प्राचार्य भागवत ढकाल बताउँछन् । ‘यहाँ दलित, ब्राह्मण, जनजाति, महिला लगायतले संस्कृत अध्ययन गरिरहेका छन्,’ प्राचार्य ढकाल भन्छन्, ‘संस्कृत ब्राह्मण समुदायले मात्र पढ्नुपर्छ भन्ने भ्रम हटिसक्यो । अहिले यहाँ ३० प्रतिशत महिला, १० प्रतिशत दलित, १० प्रतिशत जनजाति अध्ययनरत छन् ।’


उपत्यकाकै पुरानो क्याम्पस

जंगबहादुर राणाले १९३९ सालमा राजराजेश्वरी पाठशाला स्थापना गरेका थिए, सोही पाठशाला १९४२ सालमा रानीपोखरी पाठशालामा रूपान्तरण भयो र काठमाडौं उपत्यकामा संस्कृत भाषाको पठनपाठन आरम्भ भयो ।

वाल्मिकी विद्यापीठकी विद्यार्थी शान्तिदेवी मानन्धर श्रेष्ठ।

१९९० सालमा भारतको वाराणसीस्थित ‘गभर्नमेन्ट संस्कृत कलेज’बाट सम्बन्धन लिई यहाँ उच्च तहको अध्ययन हुन थालेको थियो । २००४ सालदेखि संस्कृतका अतिरिक्त आधुनिक विषयको पनि पठनपाठन हुन थाल्यो । ‘राजकीय संस्कृत महाविद्यालय’, ‘वाल्मीकि संस्कृत महाविद्यालय’ नामकरण हुँदै २०३० सालपछि यसको नाम ‘वाल्मीकि विद्यापीठ’ रहन गएको हो । २०४३ सालदेखि ‘नेपाल संस्कृत विश्वविद्यालय’को आंगिक विद्यापीठका रूपमा यो सञ्चालित छ ।

‘अहिले नेपाल संस्कृत विश्वविद्यालय दाङमा छ । त्यहीअन्तर्गत यो विद्यापीठ सञ्चालित छ,’ प्रमुख ढकाल भन्छन्, ‘अहिले देशभरका २६ वटा क्याम्पसमा संस्कृतमा अध्ययन गराइन्छ । जसमध्ये सरकारको खर्चमा १४ वटा र सम्बन्धन प्राप्त निजी क्याम्पस १२ वटा छन् ।’

उनका अनुसार, वाल्मीकि क्याम्पस १४ रोपनी क्षेत्रफलमा फैलिएको छ । क्याम्पसमा ७० र ३० वर्ष पुराना दुई भवन छन् । दुई भवनमा ७५ वटा कक्षाकोठा छन् । तीमध्ये १७ वटा विभागीय शाखा छन् । ‘संस्कृतभित्रका १७ वटा विषय यहाँ अध्ययन गराइन्छ,’ ढकालले भने, ‘जसमा वेद, व्याकरण, न्याय, ज्योतिष, साहित्य, सिद्धान्त ज्योतिष, फलितज्योतिष, इतिहास, पुराण लगायत छन् ।’

अहिले ६ महिने कोर्सअन्तर्गत कर्मकाण्ड र योग तथा प्राकृतिक चिकित्साको पनि पढाइ तथा अभ्यास हुँदै आएको छ । यस्ता कोर्समा पूर्वराष्ट्रसेवक र समाजका विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता हुने गरेको क्याम्पस प्रमुख ढकाल बताउँछन् ।

ढकाल यहाँ ०७७ फागुन १३ देखि प्रमुखका रूपमा छन् । आफू प्रमुख भएपछि भौतिक संरचनामा सुधार आएको उनी दाबी गर्छन् । ‘कामनपा– २८ को सहयोगमा ढल व्यवस्थापन गरेका छौँ । परिसरमा ब्लक छापेका छौँ । हेल्पिङ हेन्डको १५ लाख रुपैयाँ सहयोगमा गुणस्तरीय खानेपानीको व्यवस्था गरेका छौँ,’ उनी भन्छन्, ‘पुराना भवनमा रङ लगाउने र फुटेका झ्यालका सिसा फेरिएका छन् । अनलाइन कक्षा सञ्चालन गर्न स्मार्ट कक्षा समेत निर्माण भएको छ ।’

दलित र महिलालाई दुई हजार छात्रवृत्ति

यस विद्यापीठमा अहिले दुई सय ३५ (१६५ प्राध्यापक र ७० प्रशासनिक) कर्मचारी छन् । छात्रावास पनि सञ्चालित भएकाले कर्मचारी धेरै भएको क्याम्पस प्रमुख ढकाल बताउँछन् । ‘छात्रावासका लागि दरबारमार्गमा दुईवटा भवन छन् । ती भवनमा महिला र पुरुष दुवैलाई बस्ने सुविधा छ,’ उनी भन्छन्, ‘तर अहिले एक सय ११ पुरुष मात्र छन्, महिला छैनन् ।’

वाल्मिकी विद्यापीठका विद्यार्थीद्वय कल्याण पोखरेल र सुरेन्द्र खरेल।

उनका अनुसार, संस्कृत अध्ययन गर्ने विद्यार्थीका लागि पहिलेदेखि नै मासिक एक हजार रुपैयाँ छात्रवृत्ति दिने गरिन्थ्यो । अहिले गैरदलित पुरुषलाई मासिक एक हजार दिइन्छ । दलित र महिलालाई भने दुई हजार रुपैयाँ मासिक छात्रवृत्ति दिइन्छ । ‘महिला, दलित, जनजातिलाई प्रोत्साहन गर्नका लागि छात्रवृत्ति थप गरेका हौँ,’ प्रमुख ढकाल भन्छन्, ‘छात्रावासमा बस्ने सुविधा नपाएका विद्यार्थीलाई मात्र छात्रवृत्ति दिइन्छ ।’

छात्रावासमा बस्नका लागि लिखित तथा मौखिक परीक्षा उत्तीर्ण हुनुपर्ने मापदण्ड छ । दुवै परीक्षामा उत्तीर्ण भए छात्रावासमा निःशुल्क बस्न पाइने उनले बताए ।

यहाँ अहिले विद्यार्थी भर्ना शुल्कबापत एक हजार दुई सय रुपैयाँ लिइन्छ । ‘पहिले यहाँ उत्तरमध्यमादेखि अध्ययन हुन्थ्यो । अहिले शास्त्री र आचार्य अध्ययन हुन्छ,’ प्रमुख ढकाल भन्छन्, ‘चार वर्षे शास्त्रीमा दोस्रो–तेस्रो तहमा बढ्दै जाँदा शुल्क घट्दै जान्छ ।’

क्याम्पसमा नियमित अध्ययन गर्ने विद्यार्थीका लागि दिवा समय तोकिएको छ । संस्कृत सिक्न चाहनेलाई साँझ अध्ययन गराइन्छ ।


‘संस्कृत शिक्षाले मानिसलाई असल बनाउँछ’

मानिसलाई असल बन्न प्रेरित गर्नका लागि आज संस्कृत शिक्षाको आवश्यकता बढ्दै गएको राजनीतिशास्त्र विभागका प्रमुख डा. लालमणि पाण्डे बताउँछन् । ‘संस्कृत शिक्षा हिन्दू परम्परासँग जोडिएको छ । त्यसैले धर्मका नाममा हुने विभेद कम गर्न भए पनि संस्कृत शिक्षा आवश्यक छ,’ २७ वर्षदेखि यस विद्यापीठमा राजनीतिशास्त्र अध्यापन गर्ने पाण्डे भन्छन्, ‘पहिले संस्कृत सीमित समुदायको हो भन्ने गलत बुझाइ थियो । त्यसैले सबैले पढ्न पाएनन् । अब त्यो अवस्था छैन । संस्कृत हाम्रो समाजबाट अलग छैन । हरेक समुदायका विद्यार्थीले नियमित अध्ययन गर्न पाउनुपर्छ ।’

वाल्मिकी विद्यापिठका पूर्वप्रचार्य डा.लालमणि पाण्डे।

०५६ सालदेखि यस विद्यापीठमा व्याकरणका अध्यापक रहेका विनोद पौडेल संस्कृत भाषाको पूर्ण ज्ञान नभएसम्म नेपालीभाषा उच्चारण गर्न र लेख्न नसक्ने बताउँछन् । ‘संस्कृत शिक्षाले अनुशासित बनाउने, बाआमालाई देवीको रूपमा मान्ने, सत्य बोल्नुपर्ने भनेर सिकाउँछ,’ ०४८ सालमा भारतबाट संस्कृत भाषामा आचार्य गरेका पौडेल भन्छन्, ‘मानिसले शिक्षा अनुसारको व्यवहार गर्छ, त्यसैले संस्कृत अध्ययन आवश्यक छ ।’

प्रकाशित मिति: १६:२२ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्