‘निर्वाचनमा राज्यका सबै संयन्त्रले सक्रियता एवं इमान्दारिता देखाए’

विराटनगर, पुस २ : निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनमा राज्यका सबै संयन्त्रले देखाएको सक्रियता एवं इमान्दारिताका कारण निर्वाचन सफल भएको भन्दै धन्यवाद दिएका छन।
कर्मचारी मिलन केन्द्र विराटनगरद्वारा आज सुनसरीको शान्तिवनमा आयोजित रमाइलो वनभोज तथा जिल्ला अधिवेशनमा बोल्दै उनले निर्वाचन आयोगको नेतृत्वदायी भूमिका र कर्मचारीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए।
आफू निजामती सेवामा प्रवेश गरेको ४० वर्ष भएको स्मरण गर्दै कर्मचारी मिलन केन्द्रले आफ्नो इतिहास र परम्परालाई कायम राख्नुपर्ने बताए।
मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले चुनौतीपूर्ण रहेको यो निर्वाचन स्वच्छ, भयरहित, शान्त वातावरणमा सम्पन्न भएकामा खुसी व्यक्त गरे।
मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन एकै चरणमा बिना कुनै विवाद, भयरहित, मितव्ययिता भएकामा खुसी व्यक्त गरे।
कर्मचारी मिलन केन्द्रका अध्यक्ष टङ्क गौतमले विभिन्न सामाजिक एवं रचनात्मक कार्य गर्ने केन्द्रले कोष बढाएर रु १० लाख बनाएकामा खुसी व्यक्त गरे। अधिवेशनमा सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन भएको छ।












