लमजुङबाट नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान
नेपाली कांग्रेस तथा नेविसंघ लमजुङ–काठमाडौँ सम्पर्क समितिले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।
काठमाडाैं, पुस २ : नेपाली कांग्रेसले लमजुङबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ।
नेपाली कांग्रेस तथा नेविसंघ लमजुङ–काठमाडौँ सम्पर्क समितिले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।
सम्पर्क समितिले लमजुङ प्रदेशसभा ‘१’ बाट निर्वाचित कांग्रेस लमजुङका जिल्ला सभापति डा टेकराज गुरुङ, लमजुङ प्रदेशसभा ‘२’ बाट निर्वाचित कांग्रेस लमजुङका पूर्वसभापति भेषबहादुर पौडेल तथा समानुपातिक सांसदद्वय पार्वती तामाङ र टीकाकुमारी बस्याललाई सम्मान गरेको हो।
कार्यक्रममा कांग्रेस नेता दिलबहादुर घर्तीले लमजुङको विकासका लागि काम गर्न नवनिर्वाचित सांसदलाई आग्रह गरे। उनले गठबन्धनका साथ कांग्रेस निर्वाचनमा गएको बताउँदै आगामी सरकार पनि कांग्रेसको नेतृत्वमा गठबन्धनकै हुने बताए।
कांग्रेस लमजुङका सभापति एवम् गण्डकी प्रदेशका नवनिर्वाचित सांसद गुरुङले लमजुङमा गठबन्धनले सोचेजस्तो परिणाम दिन नसकेको बताए। उनले आगामी दिनमा लमजुङको विकासमा आफूले कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
लमजुङ कांग्रेसका पूर्वसभापति एवम् लमजुङ प्रदेशसभा ‘२’बाट निर्वाचित सांसद पौडेलले निर्वाचनको दौरानमा आफूले गरेका प्रतिबद्धता पूरा गर्न आफू लाग्ने विश्वास व्यक्त गरे। समृद्ध लमजुङ आफ्नो चाहना भएको उनको भनाइ थियो।
कार्यक्रममा समानुपातिक सांसदद्वय तामाङ र बस्यालले लमजुङका जनताको इच्छा र चाहनाअनुसार आफूहरु लमजुङको विकासमा लागिपर्ने बताए। कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले अबका दिनमा कांग्रेसको जिल्ला सङ्गठन मजबुद हुने विश्वास व्यक्त गरे।












