मालिका केशरीलाई दिइयो आभाष उत्कृष्ट साहित्य पुरस्कार-२०७८
आभाष पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा केशरीको तिब्बती शरणार्थीको दर्दनाक अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’का लागि यो पुरस्कार दिइएको हो।
काठमाडौं, पुस १ : आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरिएको छ ।
आभाष पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा केशरीको तिब्बती शरणार्थीको दर्दनाक अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’का लागि यो पुरस्कार दिइएको हो।
रु. दुई लाख नगद र सम्मानपत्रसहितको यो पुरस्कार आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखेरलले केशरीका भाइ प्रवीणचन्द्र श्रेष्ठलाई दिएका हुन्। लेखक पारिवारिक भेटघाटका सिलसिलामा अमेरिका रहेकाले उनका भाइले पुरस्कार ग्रहण गरेका हुन्।
सो अवसरमा अध्यक्ष पोखरेलले उपन्यासमा उठान भएको विषय मार्मिक रहेको बताए। शरणार्थीलाई दमित गर्ने काम भइरहेको उल्लेख गर्दै उनले परिचयपत्र उपलब्ध गराउन पनि हिच्किचाउन नहुने बताए। घृणित अवस्थामा पनि प्रेम अङ्कुरण हुन्छ भन्ने देखाउन लेखक सफल भएको अध्यक्ष पोखरेलले सुनाए।
कोषका संयोजक उत्तम बस्नेतले भर्खर स्थापना भएको कोषले साहित्यकारलाई प्रोत्साहनस्वरूप पुरस्कार दिन थालेको बताए। कोषले पहिलो पुरस्कार नै ‘दुङाल’लाई दिएको उनले सुनाए। आगामी वर्षमा पनि साहित्यकारलाई छनोट गरी पुरस्कार अर्पण गरिने कोषले जनाएको छ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, समीक्षक राजकुमार बानियाँलगायतले प्रकृति, संस्कृति र प्रेमलाई उपन्यासकार केशरीले उपन्यासमा रोचक तरीकाले प्रस्तुत गरी पाठकको ध्यान तान्न सफल हुनुभएको बताएका थिए।
साहित्यकार केशरीका यसअघि कविता सङ्ग्रह ‘मिरमिरे’ २०५८, र उपन्यासहरू ‘पुरुत्थान’ २०७२ र ‘सुवर्णलता’, २०७४ प्रकाशन भइसकेको छ। उहाँको अर्को उपन्यास पनि प्रकाशनको तयारीमा रहेको जनाइएको छ।












