Kathmandu Press

दमकमा फोहरबाट उत्पादित ग्यास प्रयोग गरिँदै

दमक–२ मा सञ्चालित ग्यास प्लान्टबाट उत्पादन हुने ग्यासलाई ‘रिफिल’ गर्नका लागि दमक– ८ मा ‘रिफिल सेन्टर’ स्थापना हुने भएको हो।
दमकमा फोहरबाट उत्पादित ग्यास प्रयोग गरिँदै

काठमाडाैं, पुस १ : दमक नगरपालिकामा जैविक फोहरबाट उत्पादित ग्यास प्रयोग गरिने भएको छ। यसका लागि नगरपालिकाले जग्गा व्यवस्थापन समेत गरेको छ। 

दमक–२ मा सञ्चालित ग्यास प्लान्टबाट उत्पादन हुने ग्यासलाई ‘रिफिल’ गर्नका लागि दमक– ८ मा ‘रिफिल सेन्टर’ स्थापना हुने भएको हो।

Hardik ivf

नगरपालिकाको कार्यपालिका बैठकले दमक ८ स्थित सरस्वती माविको जग्गामा ‘रिफिल स्टेसन’ बनाउने निर्णय थियो। यसका लागि जग्गा उपलब्ध गराउने निर्णय पनि भएको छ।

नगरपालिकाले गत कात्तिक १९ गते रिफिलिङ सेन्टरका लागि जग्गा खोजी गर्न वडाध्यक्ष टेकबहादुर थापाको संयोजकत्वमा समिति बनाएको थियो।

सोही समितिको प्रतिवेदनअनुसार रिफिल सन्टर बनाउन जग्गा दिने निर्णय गरिएको हो। उत्पादित ग्यास खेर गइरहेको भनेर नेक्स्टइरा इनर्जी प्रालि र रोहन ट्रेडर्सले नगरपालिकासमक्ष जग्गा उपलब्ध गराइदिन माग गरेको थियो।

दमकमा नमूनाको रूपमा रहेको फोहरबाट ऊर्जा उत्पादनको परियोजनाबाट ग्यास उत्पादन भए पनि अहिले यसलाई त्यसै डढाएर फ्याँक्ने गरिएको छ। दमक तथा आसपासका क्षेत्रमा कुद्ने सिटी सफारीलगायतका हलुका सवारीसाधनलाई ग्यासबाट चल्ने बनाएर रिफिल गर्न सकिने छ।

नेक्स्टइरा इनर्जी प्रालिका प्रबन्ध सञ्चालक विमल खतिवडाले यस परियोजनाअन्तर्गत दैनिक एक हजार ८४ केजी ग्यास उत्पादन गर्न सकिने अवस्था रहेको बताए।

दमकमा उत्पादित फोेरबाट ऊर्जा अर्थात् ग्यास उत्पादन गरेर कम्तीमा १५ सय परिवारलाई पाइपलाइनमार्फत वितरण गर्ने उद्देश्य राखिएको छ। 

प्रकाशित मिति: १२:३१ बजे, शुक्रबार, पुस १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्