Kathmandu Press

चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुई गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुई गैँडा मृत फेला

चितवन, मंसिर २९ : चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन्। निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधबार र आज दुईवटा गैँडा मृतावस्थामा फेला परेका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ः५५ बजे राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्टअन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैँडा मृतावस्थामा फेला परेको छ। एकापसमा जुधेर १५ वर्षीय गैँडा मरेको अनुमान गरिएको उनले बताए। गैँडाको खाग, खुर सुरक्षित रहेको उनले जानकारी दिए।

यस्तै बुधबार सोही क्षेत्रको कुजौली रेञ्जरपोष्टअन्तर्गत नारायणी नदी किनामा छ महिनाको केटो (भाले गैँडा) मृतावस्थामा भेटिएको छ । बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले गैँडा मृतावस्थामा फेला पारेको उनले जानकारी दिए। बाघको आक्रमणमा परी मरेको अनुमान गरिएको छ। सो केटाको खाग नपलाएको र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ। योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आव २०७९÷८० मा पाँचवटा गैँडा मरेका छन्।

प्रकाशित मिति: १९:३६ बजे, बिहीबार, मंसिर २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्