८ हजार वढी विद्यार्थीलाई निःशुल्क स्वास्थ्य परिक्षण गर्दै कागेश्वरी–मनोहरा नगरपालिका
नगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले नगरभित्रका १६ वटै सामूदायिक विद्यालयमा अध्ययनरत आठ हजार ५०० विद्यार्थीको स्वास्थ्यपरिक्षण गर्न लागेको जानकारी दिए ।
काठमाडौं, मंसिर २९ : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले आठ हजार ५०० विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ ।
नगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले नगरभित्रका १६ वटै सामूदायिक विद्यालयमा अध्ययनरत आठ हजार ५०० विद्यार्थीको स्वास्थ्यपरिक्षण गर्न लागेको जानकारी दिए ।
“नगरवासीलाई स्वस्थ राख्न मेयरसँग ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा, सरकारी स्कूलका बालबालिकालाई निःशुल्क स्वास्थ्यसेवा, नगरस्तरिय अस्पताल निर्माणलाई नगरपालिकाले प्राथमिकता दिएको छ,”– उनले भने ।
नगरप्रमुख कार्कीले कागेश्वरी मनोहराले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितामा राखेर नीति तथा कार्यक्रम बनाएर लागू गरेको बताए । संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न सो नगरपालिकाले आन्तरिक स्रोतबाट रु सात करोड वजेट विनियोजन गरेको छ भने शिक्षकलाई तालिम समेत प्रदान गर्दै आएको छ ।
सो नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु दुई अर्ब १५ करोडको बजेट विनियोजन गरेको छ । सबै नगरवासीलाई खानेपानी पु¥याउने लक्ष्य लिएको सो नगरपालिकाले तीनवटा खानेपानी आयोजनालाई अगाडि बढाएको छ ।
उज्यालो र सुरक्षित नगरपालिका बनाउनका लागि कागेश्वरी मनोहराले नगरभित्रका मुख्य सडक र भित्रि सडकमा सिसिटिभी जडान र सडकवत्ती जडानको कामलाई प्राथमिकता दिएको छ । नगरभित्र उत्पादन हुँदै आएको फोहोरलाई नगरभित्र नै व्यवस्थापन गर्ने नीति सो नगरपालिकाले लिएको छ ।
नगरप्रमुख कार्कीले कागेश्वरी मनोहरालाई खेलकुद नगरीको रुपमा अगाडि बढाउने बताउनुभयो । मनोहरा करिडोर निर्माण कार्यलाई समेत आफ्नो कार्यकालमा पुरा गर्ने उनको भनाई छ ।
नगरपालिकाकी उपप्रमुख शान्ता थापाले नगरपालिकाभित्रका मुख्य सडक सङ्घ र प्रदेश सरकारबाट ठेक्का लागेको बताउँदै सडक नबन्दा स्थानीय सरकारले जनताको गुनासो सुन्नुपरेको बताईन् ।
स्थानीय सरकारको कार्यअधिकारभित्र नपर्ने सडक स्थानीय सरकारले नबनाएको भन्दै केही राजनीतिक दलले नगरपालिकाको काममा अवरोध पुर्याएको उनले गुनासो गरे । कूल एक लाख १५ हजार जनसंख्या रहेको सो नगरपालिकामा ३५ हजार घरधुरी र नौ वडा रहेका छन् ।
सो नगरपाकिलामा चालू आवमा ५० वटा ठेक्का आयोजना भएपनि चार वटा आयोजनाको काम सम्पन्न भइसकेको, ४२ आयोजना निर्माणको क्रममा रहेको र चार आयोजनाको ठेकेदार नगरपालिकाको सम्पर्कमा नआएको सो नगरपालिकाले जनाएको छ ।












