Kathmandu Press

युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ

युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ

राजविराज, मंसिर २७ : सप्तरीको राजविराज नगरपालिका–१० दिघवाबाट युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। स्थानीय चुल्हाइ दासका १९ वर्षीय छोरा राजकुमार दासलाई प्रहरीले ३५ बोरा मलसहित नियन्त्रणमा लिएको हो।

उनले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्यमा लुकाइछिपाइ भण्डारण गरी बिक्री वितरण गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा किराना पसलमा नेपाल सरकारबाट अनुदानित रासायनिक मल अङ्कित खेती शक्ति मल लेखिएको ५० किलो युरिया मल र ३५ बोरा मलसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

दासलाई पक्राउ गरी कालोबजारअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए। पहिलोपटक सात दिनको म्याद थपसमेतको अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए।

प्रकाशित मिति: २०:०९ बजे, मंगलबार, मंसिर २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्