Kathmandu Press

विपद् जोखिम न्यूनीकरणका सफल अभ्यासलाई सरकारले प्राथमिकता दिन्छ : गृहसचिव सिंह

विपद् जोखिम न्यूनीकरणका सफल अभ्यासलाई सरकारले प्राथमिकता दिन्छ : गृहसचिव सिंह


काठमाडाैं, मंसिर २७ : गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहमा भए गरेका सफल अभ्यासलाई सरकारले प्राथमिकता दिने बताएका छन।

गृह मन्त्रालयले आज विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएका स्थानीय तह र सङ्घसंस्थासँगको परामर्शका क्रममा गृहसचिव सिंहले भने, 'विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नेपालमा जनचेतना फैलाउने काम पर्याप्त भए पनि विपद्मैत्री विकास निर्माणसम्बन्धी नीति नियम बन्न सकेका छैन ।'

Hardik ivf

सचिव सिंहले सरोकारवाला निकाय गम्भीर बन्न नसकेका कारण विकास निर्माण सम्बन्धमा भएका नीति नियम तथा कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए। उनले पछिल्ला दिनमा विकास निर्माणका नाममा भइरहेको सडक विस्तारको दीर्घकालीन असरबारे पूर्वानुमान गरी आवश्यक नीतिगत व्यवस्था गर्न नसक्दा भविष्यमा पनि त्यसबाट पुग्नसक्ने ठूलो क्षति भोग्न बाध्य हुनुपर्ने उल्लेख गरे। उनले सडक विस्तार, ढुङ्गा, गिट्टी बालुवाको व्यवसायमा रहेको विद्यमान मापदण्ड कार्यान्वयनमा तीन वटै तहका सरकार असफल रहेको स्वीकार गरे।

कार्यक्रममा एशियाली प्रकोप पूर्वतयारी केन्द्र नेपालका प्रतिनिधि मानबहादुर थापाले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका लागि गरेका प्रयास अत्यन्तै प्रभावकारी भएको बताए। उनले नेपालका स्थानीय तहले विपद् जोखिम न्यूनीकरणका लागि गरेका प्रयास अन्य देशमा पनि अनुकरण गर्ने गरेको बताए। उनले विसं २०५३ देखि सुरु भएको समुदायमा आधारित विपद् व्यवस्थापन कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएपछि अहिले विश्वका अन्य देशले पनि सोही अवधारणाअनुसार विपद् जोखिम न्यूनीकरणमा लागेको बताए।

गृह मन्त्रालयका विपद् व्यवस्थापन प्रमुख एवं सहसचिव प्रदीप कोइरालाले विपद् व्यवस्थापनमा सरकार एक्लैले केही गर्न नसक्ने भएकाले सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए। उनले विपद् व्यवस्थापनमा स्थानीय तहमा भएका प्रयास प्रभावकारी देखिएको उल्लेख गरे।

गृह मन्त्रालयका उपसचिव तुलसीप्रसाद दाहालले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा गैरसरकारी क्षेत्रबाट भएका प्रयास र आविष्कारलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ मन्त्रालयले सरोकारवाला छलफल गरेको बताए। उनले विपद्बाट हुनसक्ने क्षतिको न्यूनीकरण, पूर्वतयारी, रोकथाम तथा नियन्त्रणका लागि सरकारले गर्ने क्रियाकलापमा गैरसरकारी संस्थाबाट भएका विपद् जोखिम न्यूनीकरणसम्बन्धी आविष्कारले ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। कार्यक्रममा विभिन्न गैरसरकारी संस्थाले विपद् जोखिम न्यूनीकरणका लागि गरेको असल अभ्यासबारे प्रस्तुतीकरण गरिएको थियो ।

प्रकाशित मिति: १८:१२ बजे, मंगलबार, मंसिर २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्