Kathmandu Press

मुलुकको आर्थिक अवस्थाका आधार सेवा सुविधा हुन्छ : अध्यक्ष तिमिल्सिना

मुलुकको आर्थिक अवस्थाका आधार सेवा सुविधा हुन्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, मंसिर २७ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको परिस्थिति र आर्थिक अवस्थाका आधारमा कर्मचारीका सेवा सुविधासम्बन्धी विषय सम्बोधन हुँदै जाने बताएका छन् । 

संसद् सेवा दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले देशको आर्थिक अवस्थामा सुधार आएसँगै कर्मचारीका माग पनि सम्बोधन हुँदै जाने विश्वास व्यक्त गरे। अध्यक्ष तिमिल्सिनाले भने, ‘देश विकास र समृद्धितर्फ उन्मुख भएसँगै हाम्रा सेवा सुविधा स्वतः वृद्धि हुँदै जानेछ । गाँठो अर्थमा आएर जोडिएको छ । सेवा गरेपछि सुविधा खोज्नु स्वाभाविक भए पनि जनताको अवस्था पनि हामीले बुझ्न जरुरी छ।’

आफू कार्यरत संस्थाले प्रदान गरेको कार्य जिम्मेवारको समीक्षा गर्दै व्यहोर्नुपरेको भोगाइ, कमीकमजोरी र आगामी रणनीति अपनाउन आवश्यक रहेको बताउँदै उनले विगतका  भोगाइ र आजको आवश्यकताबीचको अन्तर पहिल्याउन जरुरी रहेको उल्लेख गरे। 

पूर्वसभामुख तारानाथ रानाभाटले व्यवस्थापिका कमजोर भएमा लोकतन्त्र मात्र नभई समग्र मुलुक नै कमजोर हुने बताए । उनले भने, ‘लोकतन्त्र अझै परिपक्व हुन बाँकी नै छ, लोकतन्त्र र विकासलाई ठोसरूपमा अघि बढाउन सञ्चार क्षेत्रले पनि जिम्मेवार ढङ्गले भूमिका खेल्न पर्छ, संसद् सेवाका कर्मचारी सभ्य, सुसंस्कृत, परिष्कृत र परिपक्व भएमा सदनका काम कारबाही प्रभावकारी हुनेछ।’
 
राष्ट्रियसभा विधायन समितिका पूर्वसभापति परशुराम मेघी गुरुङले कानून निर्माण गर्ने निकायले नीति र विधिको पूर्णपालना गरी अरुलाई त्यसतर्फ प्रेरित गर्न आवश्यक रहेको बताए। उनले भने, ‘सरकारलाई विश्वासमा लिएर संसद्लाई प्रभावकारी तुल्याउने काममा सचिवालयले भूमिका खेल्नुपर्छ, संसद् सेवालाई स्वायत्त र स्वशासित विशिष्ट सेवाका रूपमा गरिएको परिकल्पनालाई व्यवहारमा स्थिपित गराउनेतर्फ सरकारले विशेष ध्यान पु¥याउन आवश्यक छ।’
 

प्रकाशित मिति: १७:५७ बजे, मंगलबार, मंसिर २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्