पहिलो महिला प्यारा-पाइलट तृषा, जसलाई आकाशमा उड्दा आनन्द लाग्छ
महिला पनि प्याराग्लाइडिङ उडाउन सक्छन् भन्ने आम धारणालाई गलत साबित गर्दै थुप्रै महिला यो क्षेत्रमा आएको देखदा तृषालाई खुसी लाग्छ।काठमाडौं, मंसिर २६ : तृषा श्रेष्ठले १३ वर्षअघि १९ वर्षको उमेरमा पहिलोपटक प्याराग्लाइडिङ गरिन्। उड्ने बेलामा डराएर आँखा चिम्म गरेको उनी अझै सम्झन्छिन्। तर आकाशमा उडिरहँदा डरसँगै अपार आनन्दको अनुभूति भएको उनी बताउँछिन्।
‘आकाशमा चराजस्तै उड्न पाउँदा कसलाई खुसी लाग्दैन र ?’ उनले भनिन्। उनले सन् २००८ मा पहिलोपल्ट पति राजेश बम्जनसँग प्याराग्लाइडिङ गरेकी थिइन्। राजेशसँग पत्नीका रूपमा सहयात्रा गर्न थालेको एक वर्षपछि आफूले प्यारा–पाइलट बन्ने प्रयास थालेको उनले बताइन्।
‘पहिलोपल्ट प्याराग्लाइडिङ गरिरहँदा अलिकति पनि कल्पना गरेको थिइनँ कि प्याराग्लाइडर बन्छु भनेर,’ उनले हाँस्दै भनिन्, ‘अहिले आफूसँग उड्ने यात्रु डराउँदा आफू सुरुमा डराएको झलझली याद आउँछ।’
सन् २००८ मा पहिलोपटक सनराइज प्याराग्लाइडिङ सञ्चालन गरेका उनका पति राजेश बम्जन तामाङसँग प्याराग्लाइडिङ गर्दा निकै डराएकी तृषा अहिले यात्रु बोकेर आकाशमा उड्छिन् चराजस्तै। ‘हिम्मत गरे सकिने रहेछ,’ उनले भनिन्, ‘डरलाई कायम राखेको भएँ कहाँ प्यारा–पाइलट हुन्थें त!’
यात्रु बोकेर कसरी आकाशमा उड्न सक्ने भइन् तृषा ?
सिन्धुपाल्चोकमा जन्मिएकी हुन् तृषा। विद्यालयीय शिक्षाका लागि उनी काठमाडौं बस्न थालिन्। एसएलसी (अहिले एसइई भनिने) सकेपछि ग्राफिक डिजाइन सिकिन्। डिजाइकै कामले पोखरा पुगिन्। उनी पोखरा बस्न थालेको १७ वर्ष भयो। ग्राफिक डिजाइन गर्ने क्रममा सनराइज पाराग्लाइडिङ कम्पनीको ब्रोसर डिजाइनको अवसर जुर्यो।
त्यहीबेला उनको भेट राजेशसँग भयो। कुराकानीका क्रममा राजेश ‘प्यारा–पाइलट’ भएको थाहा पाएको उनले बताइन्। ‘रमणीय ठाउँ भएकाले पोखरामा बस्ने अठोट गरें, सोही क्रममा राजेशसँग प्रेम झाँगिएको हो,’ उनले भनिन्, ‘सन् २००८ मा विवाह गरें। सुरुसुरुतिर म कार्यालय सम्हाल्थे, राजेश प्याराग्लाइडिङ गराउँथे। अहिले हामी दुवै कम्पनी पनि चलाउँछौं, मान्छे पनि उडाउँछौं।’
उनले प्याराग्लाइडिङ उडाउन सिक्ने रुचि व्यक्त गर्दा पति राजेशले नाइँनास्ती गरेनन्। त्यसपछि ‘ग्राउन्ड ह्यान्डलिङ’, ‘टेक अफ’ र ‘ल्यान्डिङ’ सिक्न थालिन्। सुरुमा ‘सोलो’ उडान गरिन्। गर्भवती भएपछि केही समयका लागि उनले सिकाइलाई थाती राखिन्। ‘छोरी एक वर्ष भएपछि परिवारको सहयोगले पुनः प्याराग्लाइडिङ उडाउन सिक्ने मौका मिल्यो,’ उनले भनिन्, ‘पाँच वर्ष सोलो सिकेपछि यात्रुलाई लिएर उडाउन सक्ने भएकी हुँ।’
तृषा नेपालको पहिलो महिला प्यारा–पाइलट हुन्। उनले उडान सुरु गरेको १३ वर्ष भइसक्यो। अहिले उनी व्यावसायिक प्याराग्लाइडिङ उडानमा रमाइरहेकी छन्। उनी सिजनमा दैनिकजसो यात्रु उडाइरहेकी हुन्छिन्।
एक घन्टासम्म उड्न साढे ११ हजारसम्म शुल्क
तृषा यात्रु लिएर आकाशमा उडिरहन मन पराउँछिन्। आकाशमा उड्ने रुचिसँगै व्यावसायिक रूपले पनि त्यसमा जोडिएपछि रमाइलो लाग्नु स्वाभाविक पनि हो। कोभिडले झन्डै दुई वर्ष व्यवसाय ठप्प भए पनि कहिलेकाहीँ सोलो उडान भने गरेको उनको भनाइ छ।
‘कोभिड न्यून हुँदै गएपछि बिस्तारै व्यवसाय पुरानो लयमा फर्किएको छ,’ उनले भनिन्, ‘अब सिजन सुरु हुन थालेको छ, अग्रिम बुकिङ भइरहेको छ।’
उनी सेटेम्बरदेखि तीन–चार महिना प्याराग्लाइडिङका लागि उपयुक्त मौसम मानिने बताउँछिन्। ‘बिहान १० देखि दिउँसो साढे २ बजेसम्मको समय उचित हुन्छ,’ उनले भनिन्, ‘बिहानको मौसम खुला हुँदा छिट्टै उडान गर्न मिल्छ, बिहानको समयमा हिमाली दृश्य पनि राम्रो देखिन्छ।’
उनका अनुसार प्याराग्लाइडिङ कम्पनी छुट्टै नियममा चलेका हुन्छन्। एउटा पाइलटले दैनिक दुईभन्दा बढी उडान गर्न नपाइने उनी बताउँछिन्। ‘नियममा चल्नुपरिहाल्यो,’ तृषाले हाँस्दै भनिन्, ‘नियम तोड्यो भने त आफैंलाई क्षति हुन्छ नि।’
प्याराग्लाइडिङ छोटो समयका लागि २० देखि ३० मिनेट र लामो समयका लागि ४५ देखि ६० मिनेटसम्मको हुने उनले जानकारी दिइन्। ३० मिनेटसम्मको ८ हजार र ६० मिनेटसम्मको ११ हजार ५०० रुपैयाँ शुल्क लिने गरेको तृषाले सुनाइन्। ‘कोभिड कालमा छोटो समयका लागि चार हजार रुपैयाँमा पनि यात्रु उडाइयो,’ उनले भनिन्।
‘यात्रु बोक्दा कसरी खुसी र सुरक्षित बनाउने भन्ने मात्र ध्यान हुन्छ’
पाँच वर्ष ‘सोलो’ उडान एक्लै गरियो। उनी ‘वाकीटकीको इन्स्ट्रक्टर’का आधारमा चार–पाँच घन्टासम्म सोलो उडान गर्थिन् साथीहरूसँग। सोलो गर्दा एक्लै भइन्थ्यो र आकाशमा उड्दा रमाइलो मान्दै मनोरञ्जनको बेग्लै अनुभव लिन पाइन्थ्यो। ‘एक्लै सोलो गर्दा र यात्रु राखेर उडान भर्दा अलि फरक अनुभव छ,’ उनले काठमाडौं प्रेससँग भनिन्, ‘एक्लै हुँदा स्वतन्त्र भएको महसुस हुन्छ। यात्रु लिएर उड्दा कसरी खुसी बनाउने, कसरी सुरक्षित यात्रा गराउने भन्ने मात्रै ध्याउन्न हुन्छ।’
उनी प्यारा–पाइलट हुँदा यात्रुको ज्यानको सुरक्षा आफ्नो हातमा हुने बताउँछिन्। ‘यात्रु आत्तिएर वाकवाकी गरे आफ्नो पहिलो अनुभव सुनाउँछु,’ उनले भनिन्, ‘उनीहरूलाई उडानको अनुभूति राम्रो होस् भनेर उत्साहीत बनाउने गफ गर्छु।उनले धेरै प्रतियोगितामा प्याराग्लाइडिङ गरेर जित हात पारेकी छन्। आफू प्यारा–पाइलट हुनुमा परिवारको ठुलो सहयोग रहेको उनको भनाइ छ।
तृषा प्यारा–पाइलटको पहिलो महिलाका रूपमा चिनिन्छिन्। ‘मैले प्याराग्लाइडिङ सुरु गर्दा कुनै पनि महिलाले उडान सुरु गरेका थिएनन्, मैले उडान सुरु गरेको दुई–तीन वर्षपछि बिस्तारै महिला आउन थालेका हुन्,’ उनले भनिन्, ‘त्यसैले म पहिलो महिला प्यारा–पाइलट हुँ।’
तृषा श्रेष्ठको पदचापलाई पछ्याउँदै अहिले धेरै महिला प्याराग्लाइडिङ क्षेत्रमा जोडिएका छन् । १३ वर्षअघि नै प्यारा–पाइलट भइसकेकी तृषाका अनुसार अहिले २५ जनाजति महिला प्याराग्लाइडिङ उडान सेवामा संलग्न छन् ।
महिला पनि प्याराग्लाइडिङ उडाउन सक्छन् भन्ने आम धारणालाई गलत साबित गर्दै थुप्रै महिला यो क्षेत्रमा आएको देखदा तृषालाई खुसी लाग्छ। ‘अहिले २०–२५ महिला प्यारा–पाइलट भइसके,’ उनले भनिन्, ‘यो खुसीको कुरा हो।’