Kathmandu Press

लिपि लोप हुँदा छन्त्याल भाषा संकटमा

छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसकेपछि लोप हुने अवस्थामा पुगेको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका ८३ वर्षीय युबहादुर छन्त्यालले बताए। उनका अनुसार बुढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेका छन्।
लिपि लोप हुँदा छन्त्याल भाषा संकटमा

म्याग्दी, मंसिर २४ : म्याग्दीमा बसोबास गर्दै आएको अल्पसङ्ख्यक छन्त्याल समुदायको लिपि लोप भएपछि भाषा सङ्कटमा परेको छ। छन्त्याल समुदायका युवा पुस्ताले आफ्नो मौलिक भाषा र लिपि सिक्न तथा संरक्षण गर्न नसक्दा लिपि लोप भएको हो। 

छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसकेपछि लोप हुने अवस्थामा पुगेको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका ८३ वर्षीय युबहादुर छन्त्यालले बताए। उनका अनुसार बुढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेका छन्।

लिपि र शब्दकोश प्राप्त गर्न नसक्नु, आधुनिकताको प्रभावका कारण नयाँ पुस्ताले आफ्नो मातृभाषा प्रयोग गर्न सङ्कोच मान्नु, बसाइँसराइलगायत कारणले भाषा लोप हुन थालेको उनको भनाइ छ। 'भाषा जानेका र बोल्न रुचि राख्ने बूढापाका मेटिँदै गए। युवापुस्ता आफ्नो पुख्र्यौली पेसा छोडेर विदेश वा सहरमा बसाइँ सरेको छ। उनीहरुले  आफ्नो भाषा बोल्न छाडे', छन्त्यालको बाहुल्यता रहेको गुर्जाका कमल छन्त्यालले भने, 'लिपि र शब्दकोशसमेत नभएकाले पुराना पुस्तासँगै छन्त्याल भाषा पनि नासिने खतरा छ।'

नेपाल छन्त्याल सङ्घ म्याग्दीका अनुसार २०६८ सालको जनगणनाअनुसार नेपालका १९ जिल्लामा ११ हजार आठ सय १० जना छन्त्याल समुदायको बसोबास छ। छन्त्याल समुदाय सबैभन्दा बढी म्याग्दी र बागलुङमा रहेका छन्। नेपाल छन्त्याल सङ्घ म्याग्दीका सचिव मन छन्त्यालका अनुसार विभिन्न जातजातिको मिश्रित बसोबास, सहर तथा विदेशप्रतिको मोह, विदेशी भाषा सिक्ने आकर्षण र विद्यालयमा अङ्ग्रेजी तथा नेपाली भाषामा मात्र पठनपाठन हुने जस्ता कारणले छन्त्याल भाषा लोप हुन लागेको हो।

घरपरिवारमा मातृभाषा बोल्ने चलन हराउँदै जानु, आफ्नै समुदायका साथीभाइसँग भेटघाट हुँदा पनि नेपाली भाषा प्रयोग गरिनु तथा आफ्नो पुख्र्यौली पेसा छोडेर सहर र विदेश जाने क्रम बढ्नुले पनि मातृभाषा लोप हुँदै गएको हो। म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, मल्कवाङ, मच्छिम, रघुगङ्गाको ठाडाखानी र कुइनेमङ्गलेमा छन्त्याल समुदायको बसोबास छ।

छन्त्याल समुदायको बसोबास भएको बस्तीका विद्यालयमा मातृभाषामा पठनपाठन गर्ने तयारी गरेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी बताउँछन्। म्याग्दीमा सबैभन्दा धेरै छन्त्याल समुदायको बसोबास रघुगङ्गा गाउँपालिकामा छ।

प्रकाशित मिति: १५:३२ बजे, शनिबार, मंसिर २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्