दण्डहीनताको अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन
नेपाल मानव अधिकार संगठनको आयोजनामा न्यायापालिकालाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनु पर्ने माग राख्दै शुक्रबार प्रदर्शन गरिएको हो।
काठमाडाैं, मंसिर २२ : ७४औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पूर्वसन्ध्यामा दण्डहीनताको अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ।
नेपाल मानव अधिकार संगठनको आयोजनामा न्यायापालिकालाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनु पर्ने माग राख्दै शुक्रबार प्रदर्शन गरिएको हो।
सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय, संक्रमणकालीन न्यायको बाहानामा नियमित फौजदारी प्रणाली अवरुद्ध नपारियोस, दण्डहीनताको अन्त्य गरियोस् भन्ने लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ।
लम्बिदो संक्रमणकाल र राजनीतिक अस्थिरताको कारण नेपालमा मानव अधिकारको अवस्था कमजोर हुँदै गएको मानवअधिकारकर्मी चरण प्रसाईले बताए।
उनले विधिको शासनको अभावले लामो समयअघिका पीडितले समेत न्याय पाउन नसकेको भन्दै मंसिर ४ को निर्वाचनले राजनीतिमा वैकल्पिक शक्तिको उदय भएकाले परम्परागत दलहरुले पिडितलाई न्याय दिन नसके ती दलहरु विस्थापित हुने बताए।
विगत दशवर्षे सशस्त्र युद्धको समयमा भएका हत्या, हिंसा तथा अपहरणजस्ता मानव अधिकार हननका घटनाहरुको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोग गठन गरिएपनि पिडितले न्याय पाउन सकेका छैनन्।
मानवअधिकारको विश्वब्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ।












