Kathmandu Press

लमजुङको भुजुङमा ‘हनी हन्टिङ’  

लमजुङको भुजुङमा ‘हनी हन्टिङ’  

लमजुङ, मंसिर २३ : आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँ पुगेको एक समूहले हनी हन्टिङ गरेको छ । नेपाली ख्यातीप्राप्त कलाकार, पाइलट, डाक्टर, पत्रकार, लेखक, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, सुरक्षा अधिकारी, व्यापारीलगायत करिब २ सय जनाको टोली हनि हन्टिङका लागि लमजुङ पुगेका थिए ।

बिहीबार बिहान काठमाडौंबाट गएको टोलीले शुक्रबार भुजुङको घिम्चे भिरमा मह काढे । बिहीबार साँझ क्व्होलासोंथार गाउँपालिका ४, भुजुङ पुगेका उनीहरु आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हनि हन्टिङको आयोजना गरिएको आयोजक स्पार्क एड्भेन्चर प्रालिले जनाएको छ ।

मह काढ्ने भिरमा पुगेका क्याप्टेन विजय लामाले मह काढ्ने शिकारीहरु एड्भेन्चरको रियल हिरो भएको बताएका छन् । त्यस्तै कलाकार विपिन कार्कीले आफैंलाई गएर भिरमा मह काढौं, काढौं जस्तो लागेको बताएका छन् ।

‘स्पार्क एडभेन्चर २०२२’ मा कलाकार राजेश हमाल, गायक रामकृष्ण ढकाल, वरिष्ठ रंगकर्मी सुनिल पोख्रेल, विमानचालक क्याप्टेन विजय लामा, कलाकार वीपिन कार्की, वर्षा सिवाकोटी, मधुसुदन पाठक (सिते बा), तेक्वान्दो खेलाडी दीपक विष्ट, डा लोचन कार्कीसहितको टिम भुजुङ पुगेको स्पार्क समूहका अमरदीप भट्टराइले जानकारी दिए।

काठमाडौंबाट बेंसीसहर हुँदै भुजुङ गाउँ पुगेको टोलीले भुजुङमा स्थानीय संस्कृतिको अवलोकन गर्ने, भीर मह काढ्नेस्थलमा पुगेर अवलोकन गर्ने र  होमस्टेमा खाना खाएर घलेगाउँ अवलोकन गर्दै बेंसीसहर फर्किने कार्यक्रम रहेको छ । शुक्रबार साँझ बेंसीसहरमा गायक रामकृष्ण ढकालको एकल साँझ हुने र २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको भट्टराईले बताए ।

असाधारण यात्राको अनुभवसँगै नेपालमा साहसिक पर्यटनलाई प्रवद्र्धन गर्दै विभिन्न क्षेत्रका विज्ञबीच सम्बन्ध कायम गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको भट्टराईको भनाइ छ ।

लमजुङको भुजुङमा करीब ४ सय घर एकैठाउँमा छन् । पहिले एउटै गाउँ र एउटै गाविसले चिनिएको भुजुङ अहिले एउटै वडामा पर्छ । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइको यो गाउँ लमजुङ सदरमुकाम बेंसीसहरदेखि ३६ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा पर्छ।

प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, मंसिर २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्