Kathmandu Press

किसानलाई गहुँ छर्न मल अभाव

किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बिउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइमा लागेका छन्।
किसानलाई गहुँ छर्न मल अभाव

वीरगन्ज, मंसिर २२ : धानबाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ। किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बिउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइमा लागेका छन्। 

गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी रासायनिक मलको अभाव कायमै छ। सरकारले हरेक जिल्लाका लागि कोटा निर्धारण गरी कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कम्पनीलाई मल वितरणको जिम्मा दिएको थियो।

Hardik ivf

कृषि सामग्री र साल्ट ट्रेडिङले कृषि सहकारी सङ्घमार्फत स्थानीय पालिकाको सिफारिसमा मल वितरण गर्दै आएको छ। मल अभावका कारण किसानलाई वितरण गर्न नसकिएको सहकारी संस्थाले जनाएको छ।

'हामीलाई उपलब्ध गराइएको परिमाणको मल किसानलाई बाँड्ने गरेका छौं', वीरगञ्ज महानगरपालिका–२८ स्थित यौङ्ग स्टार सहकारीका सञ्चालक हरिशङ्कर महतोले भने।

गहुँबालीका लागि तत्काल आवश्यक रासायनिक मल नपाएकाले गहुँबाली लगाउन समस्या भएको किसानले गुनासो गरेका छन्। यसअघि भारतीय बजारबाट जेनतेन गरी मल ल्याउने गरेकामा अहिले भारतीय प्रहरीले ल्याउन नदिएको वीरगञ्ज–१६ का रामबालक चौरसिया बताउँछन्। मल मात्र होइन् किसानलाई गहुँको बीउसमेत अभाव भएको छ। 

यसैबीच पर्सा क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगञ्जस्थित क्षेत्रीय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा पुगी सहज रुपमा किसानलाई मल उपलब्ध गराउनेबारे छलफल गरेका छन्। 

त्यसैगरी पर्सा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अजय चौरसियाले पनि पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, वीरगञ्जस्थित क्षेत्रीय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङका कर्मचारीहरुसित मलको अवस्थाबारे जानकारी लिएका छन्।

प्रकाशित मिति: १५:५५ बजे, बिहीबार, मंसिर २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्